कञ्चनपुरको कृष्णपुरले एक वर्षमा ४५ किलोमिटर सडक पानी पिच गर्दै

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक पानी पिच गर्ने अभियानलाई निरन्तरता दिने भएको छ। गत वर्ष झै यो वर्ष पनि नगरपालिकाले आन्तरिक आम्दानीबाट सडक पानी पिच गर्ने भएको हो।
नगरपालिकाले गत आर्थिक वर्ष ४५ किलोमिटर सडक पानी पिच गरेकोमा यो वर्ष पनि त्यति नै पानी पिच गर्ने लक्ष्य लिएको छ। हरेक नागरिकलाई विकासको अनुभूति गराउन सडक पानी पिच अभियान चलाइएको नगरप्रमुख हेमराज ओझाले बताए। उनले भने, ‘कृष्णपुरले हरेक वडामा कम्तीमा ५ किलोमिटरका दरले पानी पिच गर्ने अभियान गत वर्षदेखि नै थालेको हो। सडक पानी पिच गर्ने कार्यक्रम हाम्रो सफल कार्यक्रम हो। त्यसैले हामीले यो वर्ष पनि पानी पिचलाई निरन्तरता दिएका हौँ।’
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक पानी पिच अभियानलाई निरन्तरता दिएको हो। गत वर्ष ४५ किलोमिटर पानी पिच गरेको नगरपालिकाले यो वर्ष पनि कम्तीमा ४५ किलोमिटर ग्रामीण सडक पानी पिच गर्ने भएको हो। बालुवा, गिट्टी बाहेक राजस्व उठाउने अन्य श्रोत नभएको कृष्णपुर नगरपालिकामा सङ्घीय र प्रदेश सरकारबाट आउने अनुदान पनि न्यून छ। न्यून बजेटका कारण जनअपेक्षा पूरा गर्न नसकिरहेका बेला नगरपालिकाले थोरै लगानीमा नागरिकसँग प्रत्यक्ष जोडिने विकास निर्माणका काम थालेको छ। कृष्णपुर नगरपालिकाले यस वर्ष पनि पानी पिच अभियान थालेको नगरप्रमुख हेमराज ओझाले बताए।
चुरे पहाडसम्म फैलिएको कृष्णपुर नगरपालिका– ४ बाट यस वर्षको पानी पिच अभियान सुरु गरिएको छ। कृष्णपुर–४ मा २५ प्रतिशतभन्दा कम सडक कालोपत्र छ। स्थानीय तहको बजेटले कालोपत्र गर्न नसकिने हुँदा पानी पिच गरेर सडकको स्तरीकरण गर्न खिजिएको वडा अध्यक्ष धर्मबहादुर सिंहले बताए। उनले नगरको सीमित बजेटबाट वडावासीलाई सडक प्रयोग गर्न सहज अवस्था निर्माण गर्न सडक पानी पिच गर्न थालेको बताए। ‘हाम्रो वडा सबैभन्दा ठुलो वडा हो। यो वडामा जम्मा २५ प्रतिशत सडक मात्रै कालोपत्र भएको छ,’ उनले भने, ‘सीमित बजेटबाट सडकको स्तरोन्नति गरेर वडावासीका लागि सडक प्रयोगमा सहजता दिन पानी पिचको गर्न थालिएको हो। पक्कै यो पानी पिचले यहाँका नागरिकको दैनिकी परिवर्तन हुने छ।’
कृष्णपुर नगरपालिकाले आफ्नै व्याकहोउलोडर, ग्रेडर र टिप्पार खरिद गरी हरेक वडामा पानी पिच र ग्राभेल अभियानलाई तिब्रता दिएको छ। आफ्नै श्रोत साधन भएपछि थोरै लगानीमा विकासका काम गर्न सहज भएको नगरपालिकाको तर्क छ। कृष्णपुर–४ बाट सुरु भएको पानी पिच अभियान ९ वटै वडामा पुग्ने छ। हरेक वडामा प्रत्येक वर्ष कम्तीमा पाँच किलोमिटर पानी पिच गर्ने अभियानलाई इमानदारी पूर्वक कार्यान्वयन गरिरहेको नगरप्रमुख ओझाले बताए। उनले भने, ‘उपभोक्ता समितिलाई दिँदा या निर्माण कम्पनीलाई दिँदा खर्च बढी आउने र काम कमसल बन्ने गुनासो आउन थालेपछि नगरपालिकाले आफैँ सडक पानी पिच गर्न थालेको हो। ’नगरपालिकाको यो कार्यक्रम निकै सफल भएको कार्यक्रम हो। यसलाई हरेक आर्थिक वर्षमा निरन्तरता दिने लक्ष्य राखेका छौँ।’
उपभोक्ता समितिबाट सडक पानी पिच गराउँदा नागरिकहरूको गुनासो आउन थालेपछि नगरपालिकाले उपकरण खरिद गरेर आफैँ सडक पानी पिच गर्न थालेको हो। पालिकाले उपकरण उपलब्ध गराउने र वडाको बजेटबाट मापदण्ड अनुसार पानी पिच गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।
