कोरोना पोजेटिभहरुका समाचार पढ्दा र सुन्दासुन्दै आफूपनि संक्रमित हुन पुगेछु
-संजीता कुँवर
बैशाख १ गते रातभर टाउको दुख्यो। २ गते बिहान अब कार्यालय जानुपर्याे भनेर उठ्न कोसिस गरे।
तर उठ्न समस्या भयो, एकछिन भिक्स लगाएर पल्टिन्छु भनेर सोचे। तर भिक्स लगाउँदा कुनै बास्ना आएन। म अचम्ममा परेँ।
फेरि हातमा परफ्यूम लगाएर सुँघे, त्यसको पनि बास्ना आएन। अब भएन भनेर कार्यालयकी म्यानेजनरलाई फोन गरे। उहाँले त्यस्तो केही नहोला भन्नुभयो। तर डर न हो, सम्पूर्ण जगत कोरोनाले आक्रान्त भएको बेला डर लाग्नु स्वभाविक हो।
मैरै म्यानेजरलाई म कोरोना परीक्षण गराउँछु भनेर भने। फेरि घरमा बालबच्चा पनि भएकाले स्वाब परीक्षण गराउनु आवश्यक पनि थियो। उहाँले हुन्छ भन्नुभयो।
त्यसपछि मैले कार्यालयका एक सहकर्मी भाइलाई फोन गरेर ‘कोभिड परीक्षण गराउनु पर्याे कति बेला समय हुन्छ’ भनेर सेती अस्पतालमा सोध्न लगाएँ। उनले भनेजस्तै दिउँसो स्वाब दिन अस्पतालको ल्याबमा गएँ।
नभन्दै स्वाब दिएको साँझ मेरो पीसीआर रिपोर्ट पोजेटिभ आयो। त्यसपछि एक जना साथीले भने बमोजिम औषधि लिएर म घर पुगेँ।
२ दिनपछि स्वास्थ्य कार्यालयबाट फोन आयो। ‘कता र कसरी बस्नुभएको छ’ भन्दै सोधीखोजी भयो। त्यहाँबाट केही समस्या भए अस्पताल जानुहोला भन्दै सुझाव समेत आयो।
त्यतिकैमा फेरि जिल्ला प्रहरी कार्यालयबाट पनि फोन आयो। उहाँहरुले ट्राभल हिस्ट्री, अभिभावकको नाम, कार्यरत स्थानलगायतबारे सोधपुछ गर्नुभयो। सुरुमा त किन सोधेका होलान् भनेर डर लागेको थियो तर उहाँहरुले रेकर्ड राख्न ती सबैकुरा सोधेको भनेपछि म ढुक्क भएँ।
मेरो मनमा विभिन्न कुराहरु खेल्न थालिसकेका थिए। कति सजिलै कोरोना सरेको है, कहाँबाट सरेको होला जस्ता यावत कुरा मनमा खेल्न थालेका थिए। कोरोना पोजेटिभ भएकाहरुका समाचार पढ्दा पढ्दै र सुन्दासुन्दै म आफूपनि संक्रमित हुन पुगेछु भन्ने पनि लाग्यो।
लामो समयसम्म सतर्क हुँदाहुँदै र स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै म पनि कोरोना संक्रमित भएँ है भन्ने प्रश्नहरु मेरो दिमागमा आइरहेका थिए। मैले तत्कालै आफूलाई आइसोलेट गरेँ। बच्चाहरुलाई उनीहरूको ठुली आमाको घरमा पठाइदिएँ।
मसँग नजिक रहेका आफन्तजन, साथीभाइहरुलाई फोन गरेर जानकारी गराएँ। र, त्यस्तो कुनै लक्षणहरु देखिएमा तुरुन्तै पीसीआर गराउनु भनेर आग्रह समेत गरेँ। त्यो रात साथीले भने बमोजिमको औषधि खाएर म सुतेँ।
कोरोना हुँदा धेरै गाह्रो हुन्छ भन्ने सुनेको थिए तर मलाई त्यस्तो समस्या केही भएन। म औषधिहरु लिँदै घरमा एक्लै बसेँ।
जीन्दगीमा गरिएका अनेक अनुभवहरुमध्ये एक्लै आइसोलेसनमा बस्नु मेरा लागि बेग्लै तथा नयाँ अनुभव थियो। तनाव कत्ति पनि लिएन। बोल्न समस्या हुने, ज्वरो आउने, टाउको दुख्ने र जीउ दुख्ने जस्ता समस्या मलाई भएन।
म बढीजसो सामाजिक सञ्जाल चलाएर समए बिताउथेँ। मेरा प्रियजनहरुले फेसबुकमार्फत कोरोना सम्बन्धी त्यस्तो केही समाचारहरु न हेर्नु भन्नुहुन्थ्यो। तर म सधै आफ्नो मन परेको कुरा गर्ने मान्छे उहाँहरुले भनेजस्तो गर्न असमर्थ भएँ।
मुखमा स्वाद र नाकमा बास्ना नआएपनि खाना खान भने मैले छाडिँन। खाना खाँदा माटो खाए जस्तै हुन्थ्यो तर पनि म जर्बजस्ती खाइरहेँ।
बिहानै उठेर नित्य पूजा गरेपश्चात चिया, रोटी र लोकल अण्डा खान्थेँ। खानामा भातदाल तरकारी मज्जाले आफै पकाएर खाइन्थ्यो। दिउँसो फलफूल खाने, राति रोटी मासु तथा तरकारी धेरै खाने गर्थे। त्यस्तै राति मेरो नियमित तालिका अनुसार दुधमा हल्दी राखेर पिउने गर्थेँ।
पहिले तातोपानीले नुहाउने र तातोपानी पिउने भनेपछि ज्वरो आउने मान्छे मैलै यसपाली तातोपानी पिउनै पर्यो। सोही अनुसार तातोपानीमा कागती, मरिचको धुलो र विरेनुन राखेर म पिउने गर्थेँ।
बिहानको खाजापछि घर सफा गर्ने, हरेक दिन फरक–फरक कोठा सफा गर्ने, दिउँसो बारीमा गोडमेल गर्ने, लुगाधुने लगायतका काम मैलै गरिरहेँ। यस्तै बिहान उठेर गीत सुन्दै छतमा शारीरिक व्यायाम गर्ने मेरो दैनिकी बनेको थियो।
कहिलेकाहीँ बिहान ८ बजे उठिन्थ्यो भने कहिले त १० बजे उठ्थेँ। कार्यालय जान नपर्ने भएकाले मलाई जतिबेलासम्म पनि सुत्न सकिने छुट थियो। तर जेजस्तो भएपनि खाना खान छाडिएन। म आफूलाई व्यस्त र खुसी बनाउने प्रयास गर्थें।
म सामाजिक सञ्जालमा एक्टिभ रहन्थे। विभिन्न पोष्ट तथा टीकटक भिडियो बनाएर म फेसबुकमा अपलोड गर्थे। त्यस्तै आफन्त र साथीभाइहरुसँग च्याटमा पनि म एक्टिभ रहन्थेँ। ४/५ दिनपछि मेरो जिब्रोले स्वाद र नाकले गन्ध थाहा पाउन थालिसकेको थियो तर १० दिनपछि मात्रै अर्को पीसीआर परीक्षण गराउने भनीएकाले म त्यो समयको पर्खाइमा थिएँ।
१० दिनमा फेरि पीसीआर परीक्षण गराए र साँझ रिपोर्ट आयो नेगेटिभ। ११औं दिन बिहानै पुरै घर सेनिटाइज गरे। उक्त काम सकिएको मात्रै के थियो। एक जना अपरिचित व्यक्तिको फोन आयो।
उताबाट आवाज आयो “मिस तपाईको ब्लड ग्रुप ‘ए पोजेटिभ रहेछ, ३ वर्षको बच्चा पहाडबाट ल्याएर आइएको छ। तपाई ९० मिलिलिटर रगत दिन सक्नुहुन्छ।” म दोधारमा परेँ। रगत दिन मिल्छ कि मिल्दैन मलाई थाहा थिएन। तर बच्चा भन्ने बित्तिकै मेरो मन पग्लिसकेको थियो। मेलै उहाँलाई म कोरोना संक्रमण भएर भरखरै निको भएको बताए। र, त्यस्ता व्यक्तिले रगत दिनमिल्छ कि मिल्दैन भनेर चिकित्कलाई सोधर मलाई फोन गर्न आग्रह गरें।
उहाँले फेरि फोन गरेर रगत दिन मिल्छ भन्नुभयो। त्यसको १० मिनेटमै म रगत दिन गएँ। मनलाई थोरै भएपनि सान्तवना मिल्यो।
त्यसैले कतिबेला र कस्तो परिस्थितिमा को काम लाग्छ थाहा हुँदैन। सधैँ हाँसी खुसी रहनुस्। आफूले आफैलाई प्रोत्साहन गर्नुस्। आफ्नो मोनोबल बलियो बनाउनुहोस्।
तर अवस्था अझैँ सामान्य भइसकेको छैन। स्वास्थ्यको ख्याल राख्ने कुरामा फेरि पनि सतर्कता अपनाएकी छुँ। तपाईहरु पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुहोला र सुरक्षित रहनुहोला।
अन्त्यमा, मलाई जीवनको कठिन घडीमा फोन तथा सामाजिक सञ्जालमार्फत प्रोत्साहन, शुभेच्छा र माया प्रकट गर्नहुने सबैप्रति आभार प्रकट गर्न चाहान्छु।
(लेखक कुँवर दिनेश सञ्चार गृहको मार्केटिङ्ग हेड हुन्)