पत्रकार महासंघको केन्द्रीय सदस्यका लागि अछामबाट खत्रीको उम्मेदवारी
अछाम: आसन्न नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका लागि पत्रकार शिवराज खत्रीले उम्मेद्वारी दर्ता गराएका छन्। अछाम शाखाबाट प्रतिनिधित्व गर्दै खत्रीले महासंघको खुल्ला केन्द्रीय सदस्य पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।
उनले शनिबार साँझ ५ बजे नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, प्रेस युनियनका नेता विपुल पोखरेल, खिला कार्की लगायत यूनियनका सुदूरपश्चिमका नेताहरुको उपस्थितीमा आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्।
खत्रीको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान र सुशासन, विकास निर्माण, पारदर्शिता र देश विकासका पक्षमा चलाएको कलमले उनलाई युनियन अछामले अघि सारेको युनियन अछामका नेता बेदप्रकाश तिमिल्सैनाले बताए।
खत्रीलाई प्रेस युनियनको नेतृत्वको गठबन्धनले खुल्ला केन्द्रीय सदस्यको उम्मेदवारी बनाएको हो। खत्रीले आफ्नो उम्मेदवारी श्रमजिवी पत्रकारको हक अधिकार स्थापनाका लागि भएको बताएका छन्।
खत्रीको पत्रकारिता यात्रा
पत्रकार शिवराज खत्री २ दशकदेखि पत्रकारीता पेशामा क्रियाशिल छन्। उनीसँग अछाम, कैलाली र काठमाडौंमा पत्रकारिता गरेको अनुभव छ। राष्ट्रिय मिडिया अन्नपूर्णदेखि अन्य पत्रिका, टेलिभिजन, अनर्लान पत्रिकामा समेत काम गरेको अनुभव छ।
उनी नेपाल समय डटकम र हाल थाहाखबर अनलाइनमा आवद्व छन्। खत्रीले यसअघि क्षेत्रीय शिक्षा पत्रकारिता २०६६, राष्ट्रिय सरसफाइ पत्रकारिता पुरस्कार २०६६, मानव अधिकारको क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको उत्कृष्ट जिल्ला प्रतिनिधि सम्मान २०६९ लगायत थुप्रै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन्।
खत्रीले अछाममा खप्तड दैनिकको स्थापना गरी जिल्लाका विभिन्न सवालमा सक्रिय भुमिका निर्वाह गरेका छन्। यस्तै अछाममा रेडियो अछामको स्थापना गरेर रेडियोको नेतृत्व तहमा समेत काम गरेका छन्।
खत्रीले अछामबाट ७ वर्षसम्म दिनेश एफएममा समेत काम गरेका थिए।