‘ भागरथीको भजाइनल स्वाब अभियुक्त दिनेशको डीएनएसँग मेल खायो’
भागरथी हत्या प्रकरण
धनगढीः बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए मेल खाएको छ।
केन्द्रीय प्रहरी प्रयोगशालामा गरिएको परीक्षणमा पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएका अभियुक्त दिनेश भट्टको डीएनए र भागरथीको भजाइनल स्वाब मिलेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले अभियुक्तको डीएनए र भागरथीको भजाइनल स्वाबको रिर्पोट प्राप्त भएको पुष्टि गर्दै दुबैको रिर्पोट मिलेको जानकारी दिए।
प्रहरीले बलात्कारपछि हत्या गरिएकी भागरथीको गुप्ताङ्गबाट संकलन गरेको भजाइनल स्वाब र अभियुक्त भट्टको डीएनए परीक्षणका लागि पठाएको एक महिनापछि रिर्पोट आएको हो। यो भागरथी हत्या प्रकरणमा सबैभन्दा बलियो प्रमाण भएको प्रहरी अधिकारीले बताएका छन्।
गत माघ २१ गते विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी थिईन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा फागुन पहिलो साता उनका भाई नाता पर्ने दिनेशलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा दिनेशले बलात्कारपछि हत्या गरेको तथ्य र प्रमाणबाट पुष्टि भएको प्रहरीले बताएको थियो भने स्वयंम उनले पनि अभियोग स्वीकारेका थिए।
उक्त मुद्दामा प्रारम्भिक सुनवाइ गर्दै जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राख्न आदेश दिएको थियो।
अहिले अभियुक्त भट्ट डोटीमै छन्। बाल सुधार गृहबाट आफ्ना काका र बुवालाई फोन गरेर दिनेशले आफूले भागरथीको हत्या नगरेको बताएपछि उनी निर्दोष रहेको भन्दै रिहा गर्नुपर्ने माग परिवारले गर्दैै आएका थिए।
दिनेशले गाउँपालिकाकै एकजना कर्मचारी र अर्का अपरिचित व्यक्तिले भागरथीको हत्या गर्न आफूले देखेको बताउँदै घटनाबारे अरुलाई भनेमा बुवा र भाईसहित आफ्नो समेत हत्या गर्ने धम्की दिएपछि बाध्य भएर अपराध स्वीकारेको दाबी गरेको उनका बुवाले बताउँदै आएका थिए।
सम्बन्धित समाचार
भागरथी हत्या प्रकरणः अभियुक्तको दाबीले ‘कानुनी मान्यता पाउदैन्,’अदालतले यस्तो आदेश गर्नसक्छ
भागरथी भट्ट प्रकरणः अभियुक्तले 'हत्या नगरेको' भन्ने नयाँ दाबीपछि प्रहरीको प्रतिक्रिया यस्तो
भागरथी हत्या प्रकरणः अभियुक्तले आरोप लगाएका कर्मचारी किन हिरासतबाट छुटे?