सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी हत्या प्रकरणः अभियुक्तको दाबीले ‘कानुनी मान्यता पाउदैन्,’अदालतले यस्तो आदेश गर्नसक्छ

२०७७ चैत्र १०, ०६:१३ जनक विष्ट

धनगढीः बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी बैतडीकी किशोरी भागरथी भट्ट प्रकरणमा पुर्पक्षमा रहेका अभियुक्तले गरेको दाबीले कानुनी मान्यता नपाउने कानुनका अधिकारीहरुले प्रतिक्रिया दिएका छन्।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिल हुँदै अदालतमा समेत बलात्कारपछि आफूले नै भागरथीको हत्या गरेको स्वीकार गरेको, तथ्य र प्रमाणले समेत उनकै संलग्नता पुष्टि गरेको दाबीकाबीच पुर्पक्षमा रहेका अभियुक्तले आफूले अपराध नगरेको भन्ने कुराले अहिले सर्वत्र चर्चा पाइरहेको छ।

अभियुक्त दिनेश भट्टका बुवाले पत्रकार सम्मेलन गरेरै उनले भागरथीको हत्या नगरेको आफूसँग बताएको कुरा सर्वत्र चासोको विषय बनेका बेला अधिकारीहरुले भने पुर्पक्षमा रहेका अभियुक्तले बोलेका कुराको परीक्षण अदालतले गर्न सक्ने बाहेकका विकल्प नभएको जनाएका हुन्।

अभियुक्तको उक्त दाबीपछि भागरथी प्रकरणमा कतिपयले प्रहरीको भूमिकामाथि समेत आशंका गर्दै प्रश्न उठाउन थालेको देखिन्छ। तर कुनै पनि अभियुक्तले अनुसन्धान अधिकृत, सरकारी वकिल र अदालतमा न्यायाधिश साम दिएको बयान मात्रै आधिकारीक हुने भएकाले पुर्पक्षमा रहेका बेला उनले गरेको दाबीले कानुनी मान्यता नपाउने सरकारी वकिलले बताएका छन्।

महान्याधिवक्ताको कार्यालयका प्रवक्ता समेत रहेका सह–न्यायाधिवक्ता सञ्जिवराज रेग्मीले अदालतले पुर्पक्षका लागि पठाइसकेका अभियुक्तले अहिले के भन्यो भन्ने कुराको खासै अर्थ नहुने बताए।

“अभियुक्तले सुरुमा अनुसन्धानकर्ता, अभियोग पत्र गएपछि अदालतले उसलाई सोध्छ, आफ्नो कुरा भन्न पाउछ। बिना डर धाक अदालतमा भन्छ,” रेग्मीले दिनेशखबरसँग भने, “एक पटक अदालतमा बयान दिइसकेपछि पटक–पटक अभियुक्तले भन्दै हिँडेका कुराको पछि लागेर साध्य हुँदैन्। त्यस्ता कुरा विश्वसनीय हुदैनन्।”

उनी विरुद्धको मुद्दा विचाराधिन भएकाले थप परीक्षण अब अदालतले नै गर्ने सह–न्यायधिवक्ता रेग्मी बताउँछन्। “अभियुक्तले गरेको बयानको बैधता, प्रमाणिकता, साक्षीहरुको बयान, प्रहरीले पेश गरेका प्रमाणका आधारमा उनी माथि लागेको अभियोग परीक्षण हुन्छ,” उनले भने, “त्यसैका आधारमा अदालतले अभियोग गरे नगरेको फैसला गर्छ।”

थप अभियुक्तमाथि प्रहरीले मुद्दा चलाउने बाटो बन्द

प्रहरीले गरेको अनुसन्धान, पेश गरेका सबुत प्रमाण, अभियुक्तको साबिती बयान लगायतका आधारमा चलाएको मुद्दामा जिल्ला अदालतले प्रारम्भिक सुनवाइ गर्दै पुर्पक्षमा पठाइसकेको अवस्थामा प्रहरीको भूमिका समेत नहुने अधिकारीहरु बताउँछन्।

यो मुद्दामा प्रहरीले थप अभियुक्तहरुमाथि अनुसन्धान गर्न सक्ने विकल्प नरहेको सह–न्यायधिवक्ता रेग्मीले नै जनाए। तर प्रतिवादीको तर्फबाट वकालत गर्ने वकिलहरुले अभियुक्तले आरोप लगाएका व्यक्तिको संलग्नता देखिने महत्वपूर्ण प्रमाण अदालतमा पेश गर्न सकेमा तिनको परीक्षणका लागि अदालतले नै आवश्यक प्रक्रिया थाल्न सक्छ।

यसको अर्थ, आरोपीमाथि अनुसन्धान गर्न सम्बद्ध निकायलाई पुनः अदालतले आदेश दिन सक्ने भएको बताइएको छ। अहिलेको अवस्थामा अभियुक्त दिनेशले बोलेका कुरा कानूनले नचिन्ने तर अब घटनामा उनको संलग्नता भए÷नभएको परीक्षण अदालतमा पेश गरिएका सबुत प्रमाण लगायतका तथ्यबाटै हुनेछ।

दिनेशसँग बाँकी रहेका कानुनी विकल्प

अदालतको अन्तिम फैसलामा चित्त नबुझेको खण्डमा पुनरावेदन गर्न सक्ने कानुनी अधिकारी वादी र प्रतिवादी दुवै हुन्छ। तर भागरथी हत्या प्रकरणमा पुर्पक्षका रहेका दिनेश अहिले अभियुक्त मात्र हुन्। उनीमाथि लागेको अभियोग प्रमाणित भइसकेको छैन। उनी भए÷नभएको कुरा अदालतको फैसलापछि मात्र थाहा हुनेछ।

अहिले दिनेशका परिवारले गरिरहेको दाबीअनुसार उनी यो घटनामा निर्दोष भएपनि त्यसको छिनोफानो अब अदालतबाटै हुनेछ। यदी अदालतले अन्तिम फैसलाबाट दिनेशलाई सफाइ दिएमा उनले कानुनी सजाय पाउने छैनन। तर यदी अदालतले उनी दोषी रहेको ठहर गरेमा उनीसँग पुनरावेदनमा जान सक्ने विकल्प हुनेछन्।

जिल्ला अदालतको फैसला चित्त नबुझेमा उच्च अदालत र त्यहाँको पनि चित्त नबुझे सर्वोच्च अदालत जान सक्ने विकल्प उनीसँग रहेका छन्।

डीआईजी सुवेदी भन्छन्, बाहिर गरिने कुराको कानुनी मान्यता हुँदैन्

नेपाल प्रहरीले समेत सबै कानूनी प्रक्रिया पुगाएर मुद्दा अदालतमा पुगिसकेकाले बाहिर गरिने कुरा कानुनसम्मत नहुने जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)उत्तमराज सुवेदीले मुद्दा अदालतमा विचाराधिन रहेकाले धेरै कुरा बोल्न नमिल्ने प्रतिक्रिया दिए।

तर उनले अनुसन्धान सकेर मुद्दा अदालतमा गइसकेको अवस्थामा अभियुक्तले बोल्ने कुराको कानुनी मान्यता नभएकाले त्यस्ता कुराले कुनै अर्थ नराख्ने बताए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी दोगडाकेदार ७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले उनका भाई नाता पर्ने दिनेश भट्टलाई पक्राउ गरि अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा आरोप स्वीकार गरेको र तथ्य र प्रमाणले पनि उनकै संलग्नता देखिएको प्रहरीले बताएको थियो। जिल्ला अदालत बैतडीले पनि उनलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राख्न आदेश दिएको थियो।

तर पुर्पक्षमा रहेका बेला अभियुक्तले घटनामा आफ्नो संलग्नता नभएको बताएकाले दिनेश निदोर्ष रहेको दाबी उनका परिवारको छ।

सम्बन्धित समाचार 

भागरथी भट्ट प्रकरणः अभियुक्तले 'हत्या नगरेको' भन्ने नयाँ दाबीपछि प्रहरीको प्रतिक्रिया यस्तो

भागरथी हत्या प्रकरणः अभियुक्तले आरोप लगाएका कर्मचारी किन हिरासतबाट छुटे?

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस