सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथी भट्ट प्रकरणः अभियुक्तले 'हत्या नगरेको' भन्ने नयाँ दाबीपछि प्रहरीको प्रतिक्रिया यस्तो

२०७७ चैत्र ८, ०४:३० खबर संवाददाता

धनगढीः बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेकी बैतडीकी किशोरी भागरथी भट्ट प्रकरणलाई लिएर अभियुक्तका बुवाले नयाँ कुरा खोलेपछि तरंगहरू उत्पन्न भइरहेका छन्। 

भागरथी भट्ट हत्याको करिब दुई सातापछि प्रहरीले उनका भाइ नाता पर्ने १७ वर्षीय किशोर दिनेश भट्ट संलग्न देखिएको बताएको थियो। तर अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाएको एक महिना ४ दिनपछि दिनेशका बुवा दीपक भट्टले आफ्नो छोरा निर्दोष रहेको भन्ने नयाँ दलिल सार्वजनिक गरिदिएका छन्।  

अनुसन्धानपछि प्रहरीले दायर गरेको मुद्दामाथि प्रारम्भिक सुनवाइ गर्दै जिल्ला अदालतले समेत अभियुक्त दिनेश भट्टलाई पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएको १२ दिनपछि दिनेशका बुवाले घटनाक्रमको नयाँ सिलसिला सार्वजनिक गरेका हुन्।  

हाल पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएका दिनेश भट्टले आफ्ना परिवारका सदस्यलाई टेलिफोन सम्पर्क गरेर 'आफूले भागरथीको हत्या नगरेको तर उनको हत्यामा संलग्नले ज्यान मार्ने धम्की दिएपछि बाध्य भएर अपराध स्वीकारेको' भनेको विवरण सार्वजनिक भएका छन्।

‘बाल सुधार गृहबाट मलाई फोन गरेर आफूले भागरथीको हत्या नगरेको बताएको थियो,’ दिनेशका बुवा दिपकराज भट्टले दिनेशखबरसँग कुराकानी गर्दै भने, ‘शनिबार म आफै दिपायल गएर भेटेर आएको थिए। उसले भागरथीको हत्या गर्नेले मेरो घाँटीमा चक्कु राखेर अरुलाई भनेपछि तिमी, तिम्रो बुवा र भाइलाई मारिदिन्छौँ भनेका थिए। मर्नु भन्दा जेल जानु ठीक भनेर मैले अपराध स्वीकारेको हुँ भन्ने उसको भनाइ छ।’

‘यसअघि मसँगै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थियौँ नी भनेर सोध्दा उसले त्यतिबेला तपाईहरु गाउँमै बस्नुहुन्थ्यो भनेर मैले भनेन। अहिले त गाउँ छोडिसक्नुभयो त्यसैले सत्य कुरा बताएको हुँ,’ दिनेशका बुवाले भने। 

दिनेशको परिवार अहिले बैतडीबाट महेन्द्रनगर बसाइ सरेको छ। उनले दिनेशले आफूसँग भागरथीको बलात्कारपछि हत्या गर्ने एक जना वडा कार्यालयकै कर्मचारी भएको र अर्को व्यक्तिलाई नचिनेको समेत भनेको दाबी गरेका छन्। 

अब के हुन्छ ? 

नेपाल प्रहरीले भने बाहिर अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको कुनै अर्थ नरहेको जनाएको छ। परिवारको रोहबरमा बयान लिने क्रममा अभियुक्तले प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा समेत अपराध स्वीकार गरेको र प्रमाणले समेत उनको संलग्नता पुष्टि गरिसकेको बताउँदै यी कुराको अर्थ नहुने जनाएको हो। 

‘यो घटना दिनेशले घटाएको हो भन्ने कुराका प्रमाण र आधारहरु प्रशस्त छन् हामीसँग’, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘अब कसले के भन्यो भन्ने कुरा फेरी प्रमाणित गर्नुुपर्ने जरुरी नै छैन। सम्पूर्ण तथ्यले पनि उसैलाई इंगित गरेको छ। त्यो वातावरणलाई धमिल्याउनलाई कसैले प्रचारबाजी गर्छ भने त्यसलाई हामी प्रोत्साहन गर्दैनौँ।’

के थियो घटना ? 
गत माघ २१ विद्यालयबाट घर फर्किने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्ट बेपत्ता भएकी थिइन्। खोजी गर्ने क्रममा भोलीपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा स्थानीय खोचलेक सामुदायिक वनमा भेटिएकी थिइन्। 

अनुसन्धानका क्रममा भागरथीका भाई समेत पर्ने दिनेशलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेर ५ गते सार्वजनिक गरेको थियो। भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको बयान प्रहरीलाई दिएका थिए। 

प्रहरीले पनि भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा उनलाई अयिभुक्तका रुपमा सार्वजनिक गरेको बताएको थियो। 

सुरुमा भागरथीमाथि बलात्कार नगरेको दाबी अभियुक्त भट्टले पछि भने आफैले बलात्कार गरि हत्या गरेको स्वीकारेका थिए। 

प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय बैतडीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो। सोही मुद्दामा थुनछेक बहसपछि जिल्ला अदालतले दिनेशलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। 

तर उनी नाबालक भएका कारण बाल सुधार गृह दिपायलमा राख्न अदालतले भनेको थियो। अहिले भट्टलाई दिपायलमै राखिएको छ। आफन्तले अभियुक्त सार्वजनिक भएपछि घटनाको १७ दिनपछि मात्र भागरथीको शव बुझेका थिए। 

कमेन्ट लोड गर्नुस