सुरुङ मार्गको योजना प्रदेशवासीद्वारा अस्विकार (भिडियो सहित)
सुरुमा सडकको ट्रयाक खोल्न सुझाव
धनगढी–दिपायल द्रुत मार्गमा सरकारले ल्याएको सुरुङ मार्गको योजना प्रदेश नम्वर ७ का वासिन्दाले अस्विकार गरिदिएका छन्। वर्तमान संघिय सरकारले चालु आर्थिक बर्षको बजेटमा धनगढी –दिपायल द्रुत मार्गमा सुरुङ मार्ग बनाउने योजना ल्याएको थियो। तर प्रदेश नम्वर ७ का वासिन्दाले भने सुरुङ मार्गको सपना देखाउन पुर्व १० बर्ष सम्म सम्पन्न हुन नसकेको सडकको ट्रयाक खोल्ने कार्यलाई टुङगोमा पुगाउन सुझाव दिएका हुन्।
वर्तमान सरकारको प्रतिनिधित्व गर्ने दलका प्रदेश र प्रतिनिधि सभा सदस्यहरुले धनगढी दिपायल द्रुत मार्गमा सुरुङ मार्गको योजना आफ्नै पहलमा आएको डम्फु बजाईरहेका बेला प्रदेशवासिले भने सुरुङ मार्गको योजनालाई अस्विकार गरिदिएका हुन्। १० बर्ष सम्म ९६ किलोमिटर सडक मध्ये २० कलिोमिटर ट्रयाक समेत खोल्न नसकिएको अवस्थामा सुरुङ मार्गको योजना आउनु द्रुत मार्गलाई पनि ओझेलमा पार्ने चलखेल मात्रै भएको दावी उनीहरुको छ। मंगलवार दिनेश एफएमले रेकर्ड गरेको साझा मञ्च कार्यक्रममा बोल्दै तत्कालीन खुटीया–गड्सेरा–दिपायल सडक निर्माण समन्वय समितीका सदस्य दिर्घराज जोशीले द्रुत मार्गलाई ओझेलमा पार्न सुरुङ मार्गको योजना आएको बताए।
१० बर्ष सम्म ट्रयाक समेत खोल्न नसकिएका बेला संघिय र प्रदेश सरकारले सुरुङ मार्गको आश्वासन बाड्नु विश्वसनिय नभएको उनको बुझाई छ। द्रुत मार्गको केहि क्षेत्रमा सुरुङ मार्ग निर्माण गरे अहिलेको ९६ कलिोमिटर पनि घटेर ६० किलोमिटरमा पुग्ने दावी सरकारको छ। तर रुख कटानीको आदेश नपाउँदा र सडक निर्माणको स्वामित्वको विषयमा देखिएको विवाद समाधान नहुँदा झण्डै ७ महिनादेखि द्रुत मार्गकै काम ठप्प भएको विषयमा भने प्रदेश र संघिय सरकारले चाँसो दिएका छैनन्। प्रदेशवासीले भने तत्कालका लागि सुरुङ मार्ग भएर गुड्ने कुनै ईच्छा नभएको भन्दै द्रुत मार्गको काम सम्पन्न गर्न आग्रह गरेका हुन् । डोटी कपल्लेकी घर भई हाल धनगढी बस्दै आएका गगनसिह ऐरले सुरुङ मार्गको सपना देखाउन पहिले द्रुत मार्गको ट्रयाक खोल्नुपर्ने बताए।
धनगढी दिपायल द्रुत मार्ग १० बर्ष सम्म राजनीतिक खिचातानीको भुमरीमा फस्दा अहिले आएर अलपत्र पर्ने अवस्थामा पुगेको छ। सुरुङ मार्गको योजना अगाडी सारेपछि बजेट बढ्नुको सट्टा अघिल्ला बर्षहरुको भन्दा घटेर आएको छ। प्रदेश सरकार सुरुङ मार्ग बनाउन सक्ने क्षमता नभएको भन्दै संघिय सरकारले नै बनाउनपर्ने बताईरहेको छ भने संघिय सरकारले सडक निर्माणको निम्मा प्रदेश सरकारलाई दिईसकेको छ। द्रुत मार्ग अन्योलको भुमरिमा फसेपछि सुरुङ मार्गको योजना सर्वसाधारणले मात्रै होईन सासंदहरुले पनि स्वीकार्न सकेका छैनन् । प्रदेश सभा सदस्य डिल्लीराज पन्तले सुरुङ मार्गको योजनाले द्रुत मार्गलाई पनि संकटमा पारेको बताए।
१० बर्ष सम्म पनि ट्रयाक खोल्न नसकिएका बेला सुरुङ मार्गको योजना अगाडी सारिएपछि धनगढी दिपायल द्रुत मार्गको हविगत पश्चिम सेती जलविद्युत आयोजनाको जस्तै त हुने होईन भन्ने आसंका बढेको छ। धनगढी दिपायल द्रुत मार्गको काम सुरु भएको १० बर्षसम्म ट्रयाक समेत खोल्न बाँकी रहेकाले सुरुङ मार्गको योजना सत्तापक्षकै कतिपय सासंदहरुले पनि स्वीकार गर्न सकेका छैनन्। उनीहरुले सरकारले द्रुत मार्गकै कामलाई तिव्रताका साथ अगाडी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश सभा सदस्य पुर्णा जोशीले द्रुत मार्ग र सुरुङ मार्गलाई संगसंगै लैजानुपर्ने बताए।