सुदूर नेपाललाई विश्वसँग जोड्दै

बत्ती बल्यो, बाटो बनेन: बजेट सकिँदा पनि जानकीका ग्रामीण सडककाे उस्तै बेहाल

२०८३ साउन १८, ०६:१३ खबर संवाददाता

दुर्गाैली:विकासका नाममा सडकबत्ती जडान, सामाजिक सञ्जालमा प्रचारप्रसार र आकर्षक नाराले स्थानीय तहहरू चर्चामा छन्। तर कैलालीको जानकी गाउँपालिकाका ग्रामीण बस्तीमा भने विकासको वास्तविक अवस्था फरक देखिन्छ।

बजार क्षेत्र र पालिका कार्यालय आसपास उज्यालो बने पनि दूरदराजका सडक, नाला र आधारभूत पूर्वाधारको समस्या भने वर्षौंदेखि उस्तै रहेको स्थानीयवासीको गुनासो छ।

कैलालीका विभिन्न स्थानीय तहले ‘उज्यालो पालिका’ अभियानअन्तर्गत सडक किनारमा बत्ती जडान गरी विकासको सन्देश दिन खोजिरहेका छन्। तर ग्रामीण क्षेत्रका नागरिकहरू भने विकासको मापन सडकबत्तीले होइन, सहज आवतजावत, सुरक्षित सडक र आधारभूत सेवाले हुनुपर्ने बताउँछन्।

जानकी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र दुर्गौली बजारलाई व्यवस्थित र आकर्षक बनाउने प्रयास भइरहँदा गाउँका भित्री सडकहरू भने अझै स्तरोन्नतिको पर्खाइमा छन्। कतिपय सडकमा सामान्य ग्राभेलसमेत पुग्न नसकेको अवस्था छ। खाल्डाखुल्डी, अव्यवस्थित नाला र वर्षायाममा जम्ने हिलोले स्थानीयको दैनिकी कष्टकर बनेको छ।

जानकी गाउँपालिका–७ अन्तर्गत लट्कनिया भुल टोल हुँदै विलासपुर जाने सडक यसको प्रतिनिधि उदाहरण बनेको छ। वर्षा सुरु भएसँगै सडक हिलाम्मे हुने, सवारी साधन सञ्चालनमा कठिनाइ हुने र विद्यार्थीदेखि सर्वसाधारणसम्मले दैनिक जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।

स्थानीयवासीका अनुसार पालिकाले विकासका प्राथमिकता तय गर्दा जनताको आधारभूत आवश्यकताभन्दा प्रचारमुखी योजनालाई बढी प्राथमिकता दिएको देखिन्छ। सडक सुधार, नाला व्यवस्थापन र ग्रामीण पूर्वाधार निर्माणमा अपेक्षित ध्यान नपुग्दा ‘बत्तीमुनिको अँध्यारो’ जस्तै अवस्था सिर्जना भएको उनीहरूको आरोप छ।

जानकी गाउँपालिका–७ का स्थानीय चक्र भुल भन्छन्, “चुनाव आउँदा सबै पार्टीका नेता गाउँमा आएर सडक बनाउने, विकास गर्ने र समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँछन्। तर जितेपछि यही बाटो भएर फर्केर हिँड्न पनि आउँदैनन्।”

उनले पालिकासँग ठूलो अपेक्षा नरहेको बताउँदै कम्तीमा सडकमा ग्राभेल हालेर आवतजावत सहज बनाइदिन आग्रह गरे।

स्थानीयको गुनासो केवल एउटा सडकमा सीमित छैन। जानकी गाउँपालिकाका विभिन्न वडाका ग्रामीण सडकहरू अझै स्तरोन्नतिको प्रतीक्षामा छन्। विकास बजेट खर्च भएको दाबी गरिए पनि त्यसको प्रत्यक्ष अनुभूति सर्वसाधारणले गर्न नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

यता जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सडक समस्याबारे आफूहरू जानकार रहेको बताउँदै चालु आर्थिक वर्षमै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

तर स्थानीयवासीको प्रश्न अझै उस्तै छ—बजेट सकिएको दाबी गर्ने विकास योजनाले गाउँका सडक किन सुधार्न सकेन? उनीहरूका अनुसार विकासको वास्तविक मापन प्रचारका उज्याला तस्वीरले होइन, जनताको दैनिकी सहज बनाउने कामले हुनुपर्छ। जबसम्म ग्रामीण सडक, नाला र आधारभूत पूर्वाधारको समस्या समाधान हुँदैन, तबसम्म विकासका दाबीले गाउँलेको विश्वास जित्न सक्ने छैन।

कमेन्ट लोड गर्नुस