सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानी–कुइने सडक बर्सातसँगै जोखिमपूर्ण, यात्रु सास्तीमा

२०८३ साउन १८, ०५:२६ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने सबैभन्दा छोटो सडकका रूपमा परिचित चिसापानी–कुइने सडकखण्ड बर्सातसँगै जोखिमपूर्ण बनेको छ ।

हिलो, चिप्लो र कच्ची सडकका कारण दैनिक सयौँ यात्रु तथा सवारीचालक ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । सडक स्तरोन्नतिको गति सुस्त हुँदा स्थानीयवासी, बिरामी, कर्मचारी तथा यात्रु सबैभन्दा बढी प्रभावित भएका छन् ।

विगत सात वर्षदेखि चिसापानी–बाबियाचौर सडकखण्डमा यात्रुवाहक सवारीसाधन चलाउँदै आएका सुर्खेतका मोहन वर्षायाममा चिसापानीदेखि कुइनेसम्मको सडक अत्यन्तै जोखिमपूर्ण रहेको बताउँछन्। 
सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम पुग्ने सबैभन्दा छोटो मार्ग बड्डीचौर–बाबियाचौर–कुइने–चिसापानी सडक हो । अछाम, बाजुरा, दैलेख, कालीकोट, जुम्ला, हुम्लालगायत जिल्लाका नागरिक यही सडक प्रयोग गरी कैलाली र कञ्चनपुर आवतजावत गर्ने गरेका छन् तर सडकको दयनीय अवस्थाले सहज यात्राको अपेक्षा भने पूरा हुन सक्दैन । 

कैलालीको चिसापानीदेखि कुइनेसम्म करिब १२ किलोमिटर तथा चिसापानीदेखि सुर्खेतको बड्डीचौरसम्म ४८ किलोमिटर दुरी रहेको यो सडकमध्ये चिसापानी क्षेत्रमा करिब दुई किलोमिटर मात्र कालोपत्रे गरिएको छ । बाँकी सडक कालोपत्रे गर्ने ठेक्का लागे पनि निर्माण अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । 

नेपालगन्जबाट उपचार गराएर बाबियाचौर फर्किरहेका एक यात्रुले छोटो दुरीका कारण यही सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए। हाल चिसापानी–कुइने करिब १० किलोमिटर दुरी पार गर्न यात्रुले २५० रुपियाँसम्म भाडा तिर्नु पर्छ  । लम्कीका नेपाल प्रहरीका कर्मचारीले अछाम आउजाउ गर्दा यो सडक पार गर्न निकै कठिन हुने गरेको बताउँदै जङ्गलघाट सडकखण्ड अझ बढी जोखिमपूर्ण रहेको बताए।  

कुइनेस्थित कर्णाली नदी र जामुस्थित भेरी नदीमा पक्की पुल निर्माण भएसँगै यस सडकको रणनीतिक महत्व बढेको छ । सडक पूर्ण रूपमा निर्माण सम्पन्न भए कैलालीको अत्तरियाबाट सुर्खेत, दैलेख हुँदै अछामको मङ्गलसेन पुग्ने दुरी करिब तीन सय किलोमिटरसम्म छोटिने यातायात व्यवसायीको भनाइ छ । स्थानीयवासीले प्रदेश जोड्ने यो महत्वपूर्ण सडकको निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् ।  
 

कमेन्ट लोड गर्नुस