सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुख कटान अनुमति नपाउँदा सहजपुर–घरखेडा–निगाली सडक स्तरोन्नति रोकियो

२०८३ साउन १८, ०५:३५ खबर संवाददाता

धनगढीः कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति कार्य वन क्षेत्रभित्रका रुख कटानको अनुमति नपाउँदा रोकिएको छ।

निर्माण कार्य रोकिएसँगै वर्षायाममा सडक हिलाम्मे बनेको छ भने स्थानीय बासिन्दाले दैनिक आवागमनमा सास्ती व्यहोर्न बाध्य भएका छन्।

पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं. १ स्थित गाउँपालिकाको केन्द्र घरखेडा हुँदै निगालीसम्म पुग्ने तथा धनगढी–दिपायल फास्ट ट्र्याकसँग जोडिने १४ दशमलव ८ किलोमिटर सडकको स्तरोन्नति विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको हो।

कार्यालयका इञ्जिनियर सूर्यप्रकाश जोशीका अनुसार उक्त सडक स्तरोन्नतिका लागि ३६ करोड ३० लाख ९९ हजार रुपैयाँमा ढुकेचु एएनके जोशी जेभी, महेन्द्रनगरसँग ठेक्का सम्झौता भएको छ।

गत वैशाख १ गते भएको सम्झौताअनुसार २०८४ जेठ ३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्झौताअनुसार सहजपुरदेखि गाउँपालिकाको केन्द्र घरखेडासम्म ६ किलोमिटर तथा घरखेडादेखि निगालीसम्म बाँकी ८ दशमलव ८ किलोमिटर सडक कालोपत्र गरिने योजना रहेको छ।

तर वन क्षेत्रका रुख कटानको अनुमति नआएका कारण निर्माण कार्यले गति लिन सकेको छैन।
निर्माण रोकिएपछि वर्षायाममा सडक हिलाम्मे बनेको छ।

सडकमा सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ भने विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणलाई दैनिक आवतजावतमा ठूलो समस्या भइरहेको स्थानीयले बताएका छन्।

सडकमा साना सवारीसाधन फस्ने, मोटरसाइकल चलाउन जोखिम हुने तथा आकस्मिक सेवा प्रभावित हुने अवस्था देखिएको छ।
स्थानीयवासीले सम्बन्धित निकायलाई वन क्षेत्रको आवश्यक प्रक्रिया शीघ्र पूरा गरी निर्माण कार्य पुनः सञ्चालन गर्न आग्रह गरेका छन्। समयमै अवरोध हटाउन नसके विकास आयोजनाको काम लम्बिने र स्थानीयले अझै लामो समयसम्म सास्ती भोग्नुपर्ने चिन्ता व्यक्त गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस