सर्टिफिकेट
बा ! वर्षौं भइसकेछ
हजुरको दौराको छेउ समातेर
सानो काठको पाटी बोकेर
भविष्य खोज्नको लागि
रुँदैरुँदै पाठशाला धाएर
पढाईको जग बसालेको ।
बा ! सधैं भनिरहनुहुन्थ्यो कखरा पढाउँदा
ए छोरा राम्रोसँग पढ, त्यो मास्टरलाई हेर त,
त पनि त्यस्तै ठूलो मान्छे बन्नुपर्छ
तै होस् हाम्रो जिन्दगी र भबिष्य
तैंले हाम्रो पसिनाको मूल्य बुझ्नुपर्छ
सपना साकार पार्नुपर्छ छोरो ।
बा ! म त ठूलो भइसकेछु
हजुरले सोचेको भन्दा धेरै ठूलो
जुँगाका रेखीले झ्याङ हालिसके
तोते बोली भागेको पनि वर्षौं भइसक्यो
मन बरालिन थालिसक्यो
मत जिन्दगीको मध्यान्तरतिर पो पुगिसकेछु
बा ! म त्यही भिडभाडको सहरभित्र
एक्लै हजार सपना बोकेर हजुरको आडमा,
रित्ता गोजी लिएर हिँडिरहेको
दशक बितिसकेछ
तर मसँग सम्पति अरु केही छैन
छन् त्यही वर्षौंदेखि पाठशाला धाएर
कमाएका एक दर्शन सर्टिफिकेटहरु ।
बा ! ती एक दर्जन बाकसका सर्टिफिकेटहरुले
केही पुराएन, नत केही दियो हामीलाई
म मध्यान्तरबाट उतरार्धतिरतिर जादैछु
फेरि केही सर्टिफिकेट कमाउन
म अझै सयौदिन भोकै बस्न तयार छु
म अझै सयौं रात अनिदो हुन तयार छु
तपाईं त्यो पाखो बारी र गैरीखेत
बन्दकी राख्ने सुरसार जुटाउनुहोस्
के बल त्यसैका लागि ।
यहाँ प्रश्न कसलाई गर्नु ?
र आफ्नै जिन्दगीलाई प्रश्न गर्छु
अनि सोध्छु,
हाम्रो दरिद्र कहिले जान्छ ?
कहिले पाउँछौं सुकिलो लाउन ?
कहिले पाउँछौं मसिनो खान ?
कहिले पाउँछौं हात पाखुरा नजोडी
दुई पैसा नखुवाई जागिर खान ?
अनि आनन्दले दुई पैसा कमाउन ?
कहिले पाउँछौं आनन्दको श्वास फेर्न ?
यतिका धनपैसा समय खर्च गरी
नखाई नलाई कमाएका यी सर्टिफिकेटले
गरेको लगानी उठाउन सक्ला ?
बा ! छोराले नयाँ कमाउँदै छ भन्ने आशमा
पुराना नबिर्सनु,
न बिर्सनु बारम्बार त्यो बाकस खोल्न
नत्र, धमिराले वाल्मीकी सम्झेर के के गतिदेलान
तपाईं बचाउँदै जानुस्
म थप्दै जाउँला म थप्दै जाउँला ।
-क्षितिज बासी
(घोडाघोडी नगरपालिका–१, कैलाली। हाल कीर्तिपुर काठमाडौं)