जिसस कैलालीमा सत्ता गठबन्धन र नाउपा आमनेसामने, पालिकामा २८ जना भिँड्दै
धनगढीः जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
नेपाली काँग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डगौरा थारुको उमेदवारी परेको हो। काँग्रेसबाट समन्वय समितिको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो। सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन्।
एमालेले काँग्रेसकी भुललाई मतदान गर्ने भएको छ। भुल कैलारी गाउपालिका–२ बाट दलित महिला सदस्यमा विजयी हुन। भुलको समर्थकमा कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका छन भने उनको समर्थकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रहेकी छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट पनि रुपमती डँगौरा थारुले मनोनयन दर्ता गराएकी छन्। उनको प्रस्तावकमा रेखादेबी कठरिया र समर्थकमा राजु तिरुवा रहेका छन्। कठरिया टीकापुर नगरपालिका–४ बाट महिला वडासदस्यमा विजयी हुन्। साथै पालिका तहमा पाँच पदका लागि थप २८ जनाको उम्मेदवारी परेको छ। १३ वटा स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा २६ मत भार छ।
अहिले एमाले र काँग्रेस गठबन्धनसँग १३ मतभार छ। नाउपासँग ७, माओवादी केन्द्रसँग ३ (टीकापुरको उपमेयर निलम्बित), समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ। नाउपालाई माओवादी र समाजवादीले मतदान गरेपनि उसको ११ मत मात्रै पुगिरहेको छ। काँग्रेस ८ र एमाले ५ मतभारका साथ १३ मतभार ल्याएर विजयी हुने देखिएको छ।
मंसिर १६ गते हुने उप–निर्वाचनका लागि रिक्त रहेका पालिका, वडा र जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरिएको छ। नागरिक उन्मुक्तिको समन्वय प्रमुखका लागि सात मत आफ्नै छन् भने माओवादी केन्द्र र समाजवादीले समेत समर्थन गरे ११ मत पुग्नेछ। धनगढीका स्वतन्त्र नगरप्रमुख गोपाल हमाललाई छोडेर सत्ता गठबन्धनको मतभार १३ देखिन्छ।
नागरिक उन्मुक्तिलाई माओवादी र समाजवादीले समर्थन गर्दा मतभार ११ मात्रै पुगेको छ। टीकाकुमारी वर्तमान सत्ता गठबन्धनबाट काँग्रेस र एमालेका साझा उम्मेदवार हुन्। एमालेबाट चुरे गाउँपालिकाका अध्यक्ष, गोदावरी नगरपालिकाका उपप्रमुख, वर्दगोरिया गाउँपालिकाका अध्यक्ष, लम्कीचुहाका उपप्रमुख र धनगढीका उपप्रमुखको मत छ।
यस्तै, काँग्रेसबाट मोहन्यालका उपाध्यक्ष, लम्कीचुहाका नगर प्रमुख, चुरेका उपाध्यक्ष, घोडाघोडीका उपप्रमुख, गौरीगङ्गाका उपप्रमुख, गोदावरीका प्रमुख तथा कैलारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मत छ। यस्तै, पालिकास्तरमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकको उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ भने डोटीको पूर्वीचौकी गाउँपालिका–४ को अध्यक्ष पदका लागि ४ जना, दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्ष पदका लागि ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जना तथा बझाङको सुर्मा गाउँपालिका–४ मा तीन जनाको उम्मेदवारी परेको छ।