सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापति देउवाद्वारा क्याम्पस भवन उद्घाटन

२०८१ मंसिर २, ०८:३१ खबर संवाददाता

कैलालीः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गौरीगङ्गा नगरपालिका–१ स्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गरेका हुन्।

सभापति देउवाले क्याम्पसलाई अध्ययन अध्यापनमा नमुना बनाउनु पर्नेमा जोड दिए। उनले सो क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन आफूले पहल गर्ने बताए। विसं २०७० मा सामुदायिक क्याम्पसका रुपमा स्थापित उक्त क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन विषयमा स्नातक तहको पठनपाठन भइरहेको छ। 

समारोहमा सभापति देउवासमक्ष नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले नगरमा औद्योगिक क्षेत्र र बहुउपयोगी सभा भवन निर्माण, खेलकुदको विकास, पर्यटन प्रवद्र्धनलगायतका योजनासम्बन्धी माग समेटिएको मागपत्र पेश गरेका थिए। सो अवसरमा सांसद वीरबहादुर बलायरले पनि आफ्नो धारणा राखेका थिए। सभापति देउवाले आजै कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा मेडिकल कलेजको निरीक्षण गरे।

हाल मेडिकल कलेजका लागि निर्माण गरिएको भवनमा अस्पताल सञ्चालनमा छ। सरकारको झण्डै ६ अर्बभन्दा बढी लागतमा निर्मित उक्त भवनमा मेडिकल विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग स्थानीयवासीले उठाउँदै आएका छन्। उक्त कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरिए पनि हालसम्म विश्वविद्यालय सञ्चालन हुनसकेको छैन। यससम्बन्धी विधेयक हाल संसद्मा विचाराधीन छ।
 

कमेन्ट लोड गर्नुस