नेपाली समाजमा बलात्कार घटनाका अवयवहरु र असर
घनश्याम भण्डारी
बिहानै झिसमिसोमा कलेज पढ्न जाने र साँझ ट्युसनबाट घर फर्किदा अल्लि अबेर भयो भने दिदीबहिनी, छोरी किन घर पुगिनन् ? कहीँ कतै केही त भएन भन्ने डर मनमा हरेक दिन लाग्ने अवस्था सिर्जना हुँदै गहिरहेको छ अचेल।
एउटा पुरुषलाई पुरुष हुँ भन्नै लाज लाग्ने गरि महिला र नाबालिका विरूद्ध जघन्य प्रकृतिका घटना भइरहेका छन्। बलात्कार गरि हत्या गर्ने प्रवृत्ति दिनप्रतिदिन बढिरहेको छ। बलात्कार जन्य हिंसा विरूद्ध कडा कानुन र मृत्युदण्ड समेत माग हुन थालेको छ। तर केवल बलात्कारीलाई मृत्युदण्ड दिएर वा कारवाही गरेर मात्र समाजमा बलात्कारका घटनामा कमी आउने अनुमान तर्क संगत छैन।
बलात्कारको रोकथाम र नियन्त्रणका लागि जति अनुसन्धानमूलक खोजी र यथार्थपरक छलफल हुनु पथ्र्यो, त्यो हुन सकेको छैन।
मुलुकी ऐन २०२० को महल १४ मा बलात्कार (जबरजस्तीकरणी) सम्बन्धी परिभाषा अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेको ठहर्छ। यस्तो कार्य गर्दा डर त्रास, धाक देखाइ वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरि वा अपहरण गरि वा शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन। साथै होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन। मुलुकी ऐनमा बलात्कार सम्बन्धी गरिएको यो परिभाषालाई २०७२ असोजमा पास भएको लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले केही फराकिलो पारेको छ। यस अनुसार गुद्द्वार वा मुखमा लिङ्ग बाहेक अन्य कुनै वस्तु प्रवेश गराएमा पनि जबरजस्ती करणी मानिने छ भनिएको छ।
किन नेपाली समाजमा बलात्कारी बढिरहेका छन् ? एउटा पुरुषले किन बलात्कार गर्छ ? एउटा पुरुषलाई कुन तत्वले जबरजस्ती गर्न प्रेरित गर्छ ?
जोन गल्तुङले सन् १९६९ मा हिंसा, शान्ति र शान्ति अध्ययन क्रममा व्याख्या गरेका थिए, ‘एउटा लोग्नेले स्वास्नीलाई पिट्नु व्यक्तिगत हिंसा हो। लाखौँले श्रीमती पिट्नुचाहीँ आधारभूत हिंसा।’ निर्मला पन्त प्रकरणयता उजागर भएका दर्जनौँ शृंखलाबद्ध यौनहिंसाले गल्तुङको भनाइ सान्दर्भिक देखाउँछन्। आज हाम्रो समाजमा बलात्कार र महिला हिंसा एउटा आधारभूत प्रवृत्तिजस्तो देखिन पुगेको छ यो दुःखद हो।
२०७५ सालमा कैलालीकी माया विक बलात्कारपछि हत्या, कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या, २०७७ सालमा बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या भएका घटनाहरु सेलाएका छैनन्।
यिनी घटनाहरु मध्ये १३ वर्षीया निर्मला पन्तलाई कञ्चनपुरमा बलात्कार गरेर हत्या गरिएपछि नागरिक समाजमा तरंग उत्पन्न भएको थियो। तीव्र निराशा भरिएका प्रतिक्रियासहित सडकमा जनता उत्रिए। बलात्कार र हिंसाको विरोध गरे। राजनीतिज्ञलगायत माथिल्लो तहका प्रहरी अधिकृत, कर्मचारी तत्काल कञ्चनपुर पुगे। बलात्कारपछि हत्या गरिएकी निर्मलाका घरमा पुगेर समवेदना प्रकट गरेर हत्यारा अविलम्ब पत्ता लगाइ कारवाही गर्ने वाचा गर्दै उनीहरू क्यामरा अगाडि देखा परे। उनीहरूले भने, ‘यो दुर्घटनाप्रति हामी दुःखी छौँ र भविष्यमा यस्ता घटना दोहोरिन नदिने वाचा गर्छौं भने।’ तर, त्यस घटनापछि पनि शृंखलाबद्ध दर्जनौँ बलात्कारका घटना भइरहेका छन्। आश्वासन कुरैमा मात्र सीमित रहे बलत्कारी टोल टोलमा खुलेआम डुलिरहे।
बलात्कारका घटनामा राज्य संवेदनशिल नभएको गतिलो उदाहरण निर्मला पन्तको हत्यारालाई आजका दिनसम्म पनि पत्ता लगाउन नसक्नु हो।
यी घटना सेलाउन नपाउँदै बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको स्पष्ट भएको छ घट्ना सामूहिक हो कि हैन? अनुसन्धान गरिदै छ तर हालसम्म पनि दोषी पत्ता लागेको छैन। यस्ता घटनाले आम छोरीहरुमा र उनीहरुका अभिभावकमा त्रास पैदा गरेको छ। घरमा छोरी हुने आमा बाबु डराउने स्थिति सिर्जना भएको छ।
पछिल्लो एक हप्तामा भएको यो जघन्य अपराध हो। त्यस्तै माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने चार वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन् । बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन् ।
सौतेनी बाबुबाट बलात्कृत काठमाडौँको जोरपाटी बस्ने एक युवती अस्पतालमा जीवन मरणको सङ्घर्षमा छिन्। गत १४ माघमा भएको बलात्कारका क्रममा प्रतिकार गर्दा २३ वर्षीय युवतीको हत्या प्रयास भएको थियो ।
युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ। दाँतहरूसमेत फुटेका छन् । त्यस्तै यही माघ २८गते मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् दुई जना युवकले मोटरसाइकलमा लगेर बलात्कार गरेको खुलेको छ करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् भने माघ २८ गते नै मोरङको कानेपोखरीमा पनि एक किशोरी बलात्कृत भएको खुलेको छ। १७ वर्षकी किशोरी बेहोस अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले उपचारका लागि अस्पताल लगेपछि किशोरीमाथिको बलात्कारको घटना सार्वजनिक भएको छ। गत बिहीबार किशोरीलाई घरमा बोलाएर एक युवकले बलात्कार गरेको प्रहरी रिपोर्टले देखाएको छ। त्यसै गरि यही माघ २९ गते विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परे। घर जग्गा किनबेचको कारोबार गर्दै आएका उनी बुधबार दिउँसो घर किन्ने ग्राहकलाई घर देखाउन एउटा घरमा पुगे। घरमा दुई दिदीबहिनी मात्र रहेको थाहा पाएपछि उनी पुनः साँझ पनि त्यस घरमा पुगे। र बेलुका घरमा रहेका दुई दिदीबहिनीलाई जबर्जस्ती गर्न खोजे र टोलबासीले थाहा पाएपछि समातेर प्रहरी लाई बुझाए। यी त प्रकाशमा आएका केही प्रतिनिधि घटना हुन्। यहाँ दैनिक कैयौँ चेलीको अस्मिता लुटिन्छ। कतिको ज्यान लिइन्छ। तर, गाउँ, समाज र इज्जत जाने डरले पनि धेरै घटनाहरु अझ पनि बाहिर नै आउँदैनन्।
सम्पन्न बलात्कारीले सबै प्रक्रियालाई प्रभावित गरि सक्छ। कमजोर तथा गरिब बलात्कारी रहेछ भने मात्रै सजायको भागी हुने अवस्था विद्यमान छ। यो प्रवृत्तिको अन्त्य कहिले हुने ?
कोरोना महामारीमा अबोध बालिकाहरू, महिला बृद्धाहरु बलात्कृत भएका समाचार आइरहे। बलात्कारी पत्ता लागे आजीवन काराबासको सजाय पाए भन्ने समाचार चाहिँ त्यति पढ्न पाइएको छैन मैले।
बलात्कारको घटनामा बुबा, दाजुभाइ, बाजेदेखि छोरासम्मको संलग्नता हुने गरेको देखिएको छ।
नेपाल प्रहरीको समग्र तथ्यांक हेर्दा बलात्कारको सिकार हुनेमध्ये सबैभन्दा धेरै पीडित कम उमेरका छन्।
कोभिडको लकडाउनको समयमा ८३ दिनमा नेपालमा ३७३ वटा बलात्कारका घटना भए र निर्मलादेखि भागिरथीसम्म ३३४७ बालिका बलात्कृत भएकी छन्। भने अपराध लुकाउन १७ जनाको हत्या गरिएको तथ्यांकले देखाएको छ। बालिका, अशक्त तथा वृद्धाहरू शारीरिक रूपमा प्रतिकार गर्न नसक्ने भएकाले अभियुक्तहरूको नजर बालबालिका तथा बृद्धमा पर्ने गरेको छ।
के हामी सधैँ एक चेली बलात्कृत भएको घटना सुन्दै अनि पीडितले न्याय नपाएको हेर्दै बस्नुपर्ने हो ? आखिर कहिलेसम्म ?
नेपालमा बलात्कार एक आफैमा सबैभन्दा कम उजुरी पर्ने अपराधमा पर्छ। बलात्कारको घटनामा अधिकांश किशोरीहरू पीडित छन्। किशोरीहरू उजुरी दिन आफैलाई सुरक्षित ठान्दैनन्। आफ्नो परिवार, नातागोता र समाजको डरले उजुरी दिन हिच्किचाउँछन्। उनीहरू घटनालाई बाहिर ल्याउँदा दोहोरो पीडामा पर्छन्, एक बलात्कारको अर्को सामाजिक लाञ्छनाको। नेपाली समाजमा महिलालाई घर तथा समाजको इज्जतको रूपमा हेरिन्छ। अझ भनौँ महिलाको यौनिकतालाई इज्जतसँग तुलना गरिन्छ। जब एक महिला बलात्कृत हुन्छे, उसले न आफ्नो परिवारलाई भन्न सक्छे न त अरू कसैलाई। जब उसले म बलात्कृत भए भन्छे, उसले आफ्नो परिवारको इज्जत फाल्छे। समाजको आँखो बन्छे। यसकारण बलात्कृत महिलाहरू आफू बलात्कृत भएको विषय जिन्दगीभर आफूसँग राख्न विवश हुन्छन्।
२०७४ र ०७५ देखि २०७७ र ०७८ पुससम्म कुन प्रदेशमा तथा स्थानमा कति बलात्कार ?
प्रदेश १ः १७५२
प्रदेश २ः ९४७
बागमतिः ८१८
उपत्यकाः ८६४
कर्णालीः ४११
गण्डकीः ५५८
लुम्बिनीः १०९२
सुदुरपश्चिमः ५८८
प्रदेश तहमा हेर्दा सुदूरपश्चिम प्रदेशमै बलात्कारका घटना बढेको देखिन्छ। संख्यात्मक रुपमा प्रदेश एकमा धेरै देखिए पनि बढोत्तरी सुदूरमा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार २०७४ र ०७५ मा सुदुरपश्चिम प्रदेशमा ९३ वटा बलात्कारका घटना भएका थिए। २०७५ र ०७६ मा आईपुग्दा एक सय ७१, २०७६ र ०७७ मा दुई सय एक र २०७७ र ०७८ को पुससम्ममा एक सय २३ वटा बलात्कारका घटना भएको देखिन्छ।
प्रहरी तथ्यांकअनुसार आफन्त, बिरामी, अपांगता भएका, दुधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको सिकार हुने गरेका छन्।
जुनसुकै उमेर, पद र व्यक्तित्वका पुरुष बलात्कारी रूपमा प्रकट भएको छ। विगत एक वर्षका घटना केलाउने हो भने १५ वर्षको किशोरले सत्तरी वर्षकी महिलालाई बलात्कार गरेको छ। सत्तरी कटेको पुरुषले सात वर्षकी बालिकाको बलात्कार गरेको छ। उमेर मिल्दो समूहमा भएका बलात्कारको हिसाब नै छैन।
कानुनकै ठेली पल्टाउँदा पनि १० वर्षभन्दा कम उमेर र ७० वर्षभन्दा बढी उमेरका ब्याक्तिलाई बलात्कार गरेमा जन्म कैदको व्यवस्था, यस्तै ‘१० देखि १४ वर्षमुनिका ‘व्यक्तिमाथि बलात्कार भएमा’१८ देखि २० वर्षसम्म कैद। १४ देखि १६ वर्षसम्मका व्यक्तिमाथि बलात्कार भए १२ देखि १६ वर्ष कैद भन्ने व्यवस्था गरिएको छ। १६ देखि १८ र १८ वर्षभन्दा माथि उमेरका व्यक्तिमाथि बलात्कार भए क्रमशः १० देखि १२ वर्ष र ७ देखि १० वर्ष कैद कैदको व्यवस्था कानुनमा छ। तर कानूनमा जे–जस्तो लखिए पनि यसको कार्यान्वयनको पक्ष भने निरीह छ।
किन नेपाली समाजमा बलात्कारी बढिरहेका छन् ?
एउटा पुरुषले किन बलात्कार गर्छ ?
एउटा पुरुषलाई कुन तत्वले जबरजस्ती गर्न प्रेरित गर्छ ?
किन कमजोर पुरुष पनि बलियो सुगठित महिलालाई सहजै जबर्जस्ती गर्न तम्सिन्छ ?
कतै प्रेमको नाममा त, कतै जागिरको प्रलोभनमा त कतै ललिपप र चिची पापाको नाममा दिनानुदिन बढिरहेका छन्, बलात्कारका घटना।
महिला राष्ट्रपति भएको नेपालमा बलात्कार जस्तो जघन्य अपराध हुँदा समेत दुख व्यक्त मात्र हुन्छ। विज्ञप्ति निकालेर दुख व्यक्त गरिन्छ अनि सकिन्छ। आफू देशको लिडर हुँ भन्दै हिड्ने राजनीतिज्ञ पनि बलात्कारीलाई छुटाउन प्रशासनसँग लिबिङ गर्छन्।
बलात्कारका घटनाहरु निरन्तर बढ्नुलाई दुई किसिमले हेर्ने गरिन्छ। पहिलो, समाजमा आपराधिक मानसिकता बढ्दै गएको छ। बलात्कारी पुरुषलाई परिवार र समाजले बहिष्कार गर्नुको सट्टा संरक्षित गर्ने गरेको छ कानूनी रुपमा पनि उनीहरुले उन्मुक्ति पाउने गरेका छन् जसका कारण बलात्कारका घटनाहरु बढिरहेका छन्।
सामाजिक संरचना र पितृसत्तात्मक मूल्य, शक्ति प्रदर्शनको पुरुषजन्य प्रकृति, गरिबी, आपराधिक मानसिकता र मदिरा सेवनजस्ता कुप्रचलन, कमजोर कानूनी वातावरण, शिक्षा चेतनाको कमी, दण्डहीनतालगायतका कारणहरुले पनि बलात्कार मौलाइरहेको छ। विकट र दूरदराजका नारीहरु अशिक्षा र जनचेतनाका कमी कै कारण आज हिंसाका शिकार बन्न बाध्य छन्। अन्याय सहेर बसेका छन्। आफ्नो पीडा व्यक्त गर्नै सकेका छैनन् । पीडा व्यक्त गर्दा झनै पीडामा परिन्छ कि भनेर भित्र भित्रै दबाएर बस्न बाध्य छन्।
दोश्रो, घटनाहरु पहिले पनि हुन्थे तर अहिले पीडितहरुले उजुरी दिने क्रम बढेको छ। पीडितको लागि सहयोगी संयन्त्रहरु बढेका छन्। जनचेतना बढेको छ। बलात्कारलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनहरुले अक्षम्य र दण्डनीय बनाएका छन्। यस्तो अपराध आपसी समझदारीमा मिलाउन पाईंदैन भन्ने कानूनी मान्यता छ। विभिन्न अध्ययनहरुले देखाएको तथ्य विश्लेषण गर्दा बलात्कारका घटना निरन्तर बढ्नुमा यी दुवै कारण महत्वपूर्ण छन्।
महिला र पुरुषको यौन अंगमा शारीरिक रूपले केही विशिष्ट भिन्नता छ। महिलाको यौनअंग स्वंय महिलाको इच्छाविरुद्ध पनि अरुले प्रयोग गर्न सक्छ तर पुरुषको यौन अंगको प्रयोग त्यतिबेला मात्र हुनसक्छ जति बेला स्वंय पुरुषले चाहन्छ। पुरुष मानसिक रुपले तयार नभएसम्म पुरुषको यौन अंग परिचालित हुन सक्दैन। त्यसैले बलात्कारको प्राथमिक कारण शारीरिक संरचना होइन, बरु पुरुष मानसिकता र मनोविज्ञान हो। पुरुषको यो बलात्कारी मानसिकता कडा अथवा मृत्युदण्डको कारबाही ल्याए मात्र पनि सम्भव छैन। बलियो र सुगठित शरीर भएका महिला पनि शारीरिक रूपले कमजोर पुरुषसँग भयभित किन हुन्छन् र प्रतिकार गर्न सक्दैनन् ? किन कमजोर पुरुष पनि बलियो सुगठित महिलालाई सहजै जबर्जस्ती गर्न तम्सिन्छ? पक्कै पनि यो हाम्रा बालबालिकाको सामाजिकीकरण प्रकृयाको खोट हो। यो सामाजिकीकरण प्रक्रिया नफेरेसम्म प्रभावकारी रूपले बलात्कारका घटना न्यूनीकरण गर्न सकिने छैन।
पछिल्ला दिनहरूमा युट्युबको माध्यमबाट नेपालमा भित्रिएको प्रोनोग्राफीले हाम्रो संस्कारमा धावा बोलिदियो। त्यसमा मोबाइल इन्टरनेटको बढ्दो प्रयोगले युवायुवतीले सिधै घरमा बसेर अश्लिल फिल्म् हेर्न थाले। यसमा भर्खर किशोरावस्थामा प्रवेश गरेकाहरू अझ डरलाग्दो रूपमा फसे। र, भिडियोमा हेरेको सेक्सलाई एक्पसेरिमेण्ट गर्ने अथवा विपरित लिङ्गीसँग यौन सम्बन्ध राख्ने चाहनामा उनीहरू बलात्कार र यौनहिंसा गर्न प्रेरित भए। जबसम्म पुरूषहरूमा यस्ता किसिमका अहंकार हुन्छन्, तबसम्म महिलाहरू बलात्कार तथा यौन हिंसाका शिकार हुन बाध्य हुन्छन् । एक अनुसन्धानमा एउटा व्यक्तिलाई किन बलात्कार गरेको भनेर सोधियो, जवाफमा पीडकले त्यो समयमा आफू बसमा नहुने र पछि होसमा आउँदा बलात्कार गरिसकेको हुने भनेका छन्। होसमा आएपछि आफूलाई केही समयसम्म आत्मग्लानी भएता पनि केही समयपछि फेरि त्यस्तै हुने र बलात्कारको योजना बनाउने गरेको बताएका थिए।’
कोभिडको लकडाउनको समयमा ८३ दिनमा नेपालमा ३७३ वटा बलात्कारका घटना भए र निर्मलादेखि भागिरथीसम्म ३३४७ बालिका बलात्कृत भएकी छन्। भने अपराध लुकाउन १७ जनाको हत्या गरिएको तथ्यांकले देखाएको छ।
जबसम्म पुरूषहरूमा यस्ता किसिमका अहंकार हुन्छन्, तबसम्म महिलाहरू बलात्कार तथा यौन हिंसाका शिकार हुन बाध्य हुन्छन्।
प्रायः जसो बालिका बलात्कारमा उमेर नपुगेका बालक र किशोरहरूको संलग्नता पाइनुले गम्भीर चिन्ता उत्पन्न गराएको छ। केले प्रेरित गरिरहेछ उनीहरूलाई ? कस्तो संस्कार र वातावरणमा हुर्किरहेछन् आजका बालक र युवाहरू? यो विषयमा राज्य र समाजका हरेक जिम्मेवार निकाय, व्यक्ति अनि परिवारबाटै गम्भीर अनुसन्धान हुनु जरुरी देखिन्छ।
किन हाम्रा बाबुआमाहरु छोराकै चाहना गर्छन् र प्रतीक्षामा आधा दर्जन छोरीको भ्रुण हत्या गर्छन्। छोरीको भ्रुण हत्या गर्ने शहरका अस्पताल, मेडिकल र गाउँका स्वास्थ्य चौकीमा पढे लेखेका र सम्पन्न आमा होलान् कि अनपढ र गरिब आमा होलान् ? एउटा महिलाको भ्रुणमै हत्या गर्नमा हामी कति संलग्न छौं? छोराको प्रतीक्षामा छोरीको भ्रुणमै हत्या गर्न तम्सिने र यस्तो प्रवृतिलाई जघन्य अपराध नमानी सहज रूपमा लिने परिपाटीले जन्मेपछि हुने छोरीको हत्यालाई प्रोत्साहित गरेको छ। यही पितृसत्तात्मक प्रणाली नै बलात्कारको संरचनागत एक रक्षक हो। त्यसैले बलात्कार रोकथामका लागि पितृसत्तात्मक प्रणाली, पितृसत्तात्मक सामाजिकीरण प्रक्रिया अझ भनौं– झ्याङ्गिदै गएको बलात्कारी संस्कृतिको चिरफार गरि नामेट पार्न ढिला भइसकेको छ।
घर परिवार, छरछिमेक, विद्यालय, समुदाय, समाज, सोसल मिडिया, आमसञ्चार आदि एउटा बालकलाई बलात्कारी पुरुषको रूपमा रुपान्तरण गर्ने सामाजिकीकरण प्रकृयाका एजेन्सीहरू हुन्।
सोसल मिडिया र आमसञ्चार माध्यममा बलात्कारबाट नारी अस्मिता लुटिएको तथा नारीको सर्वश्व गुमेकोजस्ता शब्दावली किन प्रयोग भइरहेका छन ? घर परिवार, समाज, सोसल मिडिया र आमसञ्चार माध्यममा भाषा, कला, विज्ञापन, साहित्य र अनेक प्रसंगमा हामीले महिलालाई चेतनाहीन उपभोग्य वस्तुको रूपमा चित्रण गर्ने गरेका छौं। यसले नेपाली समाजमा एउटा सानो बालक हुर्कँदै गर्दा महिलाप्रति उसको मानसिकता कस्तो निर्माण हुन जाला सोच्ने बेला भएन र? यिनै असन्तुलित लैंगिक सम्बन्धले सधैँ महिलाविरुद्ध हिंसा र जबर्जस्तीलाई प्रेरित गर्ने गरेको छ।
एक अनुसन्धानबाट के देखिन आएको छ भने बलात्कारजन्य अपराधमा दोषी प्रमाणित नब्बे प्रतिशत अभियुक्त गरिब र निम्न वर्गका छन्। के गरिब पुरुष मात्रै बलात्कारी हुने हुन् र? यसले अर्को डरलाग्दो तथ्य उजागर गर्छ कि बलात्कारजन्य अपराधमा यदि सम्पन्न र धनी बलात्कारी रहेछ भने अधिकांश घटना पीडितलाई ललाइफकाइ लोभ देखाइ घर व्यवहारमै सामसुम पारेर लुकाउने गरिएको छ। कदाचित पीडितले अडान लिई उजुरी गरेमा अनुसन्धान गर्ने प्रहरी, अभियोग लगाउने सरकारी वकिल अनि लम्बेतान अदालती प्रकृया पार गरेर दोषी प्रमाणित हुने चरणसम्म धनी र सम्पन्न बलात्कारीले सबै प्रक्रियालाई प्रभावित गरि सक्छ। कमजोर तथा गरिब बलात्कारी रहेछ भने मात्रै सजायको भागी हुने अवस्था विद्यमान छ। यो प्रवृत्तिको अन्त्य कहिले हुने ?
बलात्कारजन्य अपराधमा हुने अनुसन्धान प्रकृया, अभियोजन प्रकृया र न्यायीक निर्णय प्रक्रियाको निर्ममतापूर्वक समीक्षा गर्नु पर्ने बेला भएन र ?
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका महिलाहरू आफ्नै घरपरिवारबाट असुरक्षित हुनुको कारण के हो खोजी गर्ने बेला भएन र ?
अब यस्ता अपराध हुन नदिनका लागि तपाई हामी र अभिवाबकहरु पनि लाग्नु पर्ने देखिन्छ ।
गाउँ समाजको भूमिका बलियो हुनुपर्यो । ‘परिवारले पनि बालबालिकालाई बढि हेरचाह दिनुपर्छ । राति ८÷९ बजेसम्म पनि केही बच्चाहरू घर फर्किरहेका हुँदैनन्, बाबुआमाहरू भने ढुक्क भएर बस्नुभएको हुन्छ, त्यस्तो हुनु भएन। बच्चाहरू कहाँ जान्छन् के गर्छन् ख्याल राख्नुपर्यो’ किशोर उमेरमा विपरित लिङ्गीप्रति आकर्षण बढ्नु नौलो कुरा हैन । तर, हामीले किशोर किशोरीका मनमा विपरित लिङ्गीप्रति उब्जिएका जिज्ञासा र यौनका कुरा बुझाउन भन्दा पनि लुकाउन उनीहरूलाई प्रेरित गर्यौँ अब यसो गर्नु भएन। उनीहरुको मनोभाब बुझ्नु पर्यो। सरकारले गाउँ, जिल्ला तथा शहरहरूमा व्यापक रूपमा जनचेतना अभियान फैलाउने, यौन शिक्षाका विषयमा खुलेर बहस गर्ने, बालबालिका तथा महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी तालिमहरू गराउनु पर्यो । सामाजिक सेवाका लागि सञ्चालनमा ल्याइएका एनजीओ आइएनजिओहरू,महिला अधिकार कर्मिहरु पनि पीडितलाई सहानुभूति दिनतिर लाग्नु भन्दा पनि न्याय दिलाउनतिर लाग्नुपर्योध डलर कमाउन भन्दा पनि नियन्त्रणमा लाग्नु पर्यो।
कडा दण्डको व्यवस्था र सदाचारका लागि सार्थक अभियान शुरु नगरेसम्म आज उसको, भोलि तपाईंको र पर्सि मेरो छोरीचेली बलात्कारको सिकार हुने अवस्था नआउला भन्न सकिन्न। त्यसैले सबै सतर्क बनौं, सबै जिम्मेबार बनौं । तपाईं हामी मुकदर्शक नबनौँ । बलात्कारविरुद्धको अभियानमा साथ दिऔँ।
लेखक हेल्प फर हेपीनेस सुदूरपश्चिम प्रदेशका संयोजक हुन्।