सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्यो गुडको गुलियोपन...(रिपोर्टर डायरी)

२०७७ माघ २८, १२:४८ नारायण अवस्थी

चालिसको फन्कोबाट तीस वर्ष पछाडि फर्केर जब गाउँ अनि त्यो बालापनको आफ्नै बिगतलाई सम्झन पुग्छु। म यो धनगढीमा समेत सर्लक्कै अतितको तिता मिठा भोगाइ र अनुभुति समेट्न तयार भइहाल्छु।

आमाले घरबाट पठाएको सक्खरले मलाई मेरो बालापनको भोगाइ तपाईहरु सामु साट्न हौस्याएको छ।

बैतडी गुड सक्खरका लागि प्रख्यात जिल्ला। हामी सानो हुँदा गाउँघरमा फागुन र चैतको दुई महीना उखु पेल्ने काम गरिन्थ्यो। एकै परिवारको तीस चालीस ताउला भन्दा बढी गुड हुन्थ्यो। अक्सर हाते कोल्हुमा उखु पेल्ने काम गरिन्थ्यो। गाउँ सबै जनाले एक अर्कालाई उखु पेल्न सक्दो सहयोग गर्ने चलन थियो।

फागुन र चैत यी दुई महिना हाम्रो गाउँमा जति खान सक्यो त्यति उखु, उखुको रस, खुदो, गुडेगाज र गुड(सक्खर) खान पाइन्थ्यो। हामी स्कुले यो दुई महिना निकै दिन स्कुलमा गयल हुन्थ्यौँ। सरहरुले किन आएन भने सोधे, लिख(उखु) पेलाइ छ या थियो भनेर सबैले सबैका लागि कुरा मिलाउने अघोषित नीति हुन्थ्यो हामी विद्यार्थीहरुको।

फागुन र चैत हाम्रा लागि हरेक वर्ष निकै उमंग लिएर आउने गर्दथे। दिनहुुँ गुलियो खान पाइने। आफ्नै सुरमा गाउँका सबै उखुबारीमा चहार्न पाइने। मन परेको उखु छानेर खान पाइने। स्कुल जाने गृहकार्य गर्नुपर्ने झन्झटबाट उन्मुक्ति। दिनभर भोक र प्यास नलाग्ने। घरायसी कामबाट समेत छुटकारा पाउने।

हामी घरमा सानोतिनो काम गर्नुपर्छ भनेर उखु पेल्न सघाउने भनेर उखु पेल्ने दायी(उखु पेल्ने ठाउँ) मा गएर सहयोग गरे जस्तो गथ्यौँ तर हाम्रो उदेश्य भने सहयोग भन्दा पनि बढी घरको काम छ्ल्नु र उखु धेरैभन्दा धेरै खानु नै हुने गर्दथ्यो।

गाउँमा पालैपालो उखु पेल्ने काम हुन्थ्यो। सबैले सबैलाई सहयोग गर्थे तर हामीबाट भने मन परेका या फकाउन सक्नेले मात्रै सहयोग पाउथे। उखु खाने कुरामा कडाइ गर्ने छिमेकीको हामी निकै रिस गर्ने गर्दथ्यौँ। उखु खान नदिनेको गुड उमाल्दा उमाल गयो भने हाम्रो मन निकै प्रसन्न हुन्थ्यो। मनमनै सोचिन्थ्यो उखु खान दिएको थिएन ठिक्क भयो।

सानोमा गाउँमा छिमेकीको उखु पेलेको दिन गुड खान पाउने आशाले काममा सहयोग गर्ने गरिन्थ्यो भने आफ्नो उखु पेलेको दिन भने साथीहरुको माझ फरक रबाफ हुन्थ्यो। साथीहरुले त्यो दिन भनेको खुरुखुरु गर्थे। अहिलेका नगरप्रमुख या अध्यक्षको जस्तो रवाफ उखुबालाको हुने गर्दथ्यो। साथीहरु निकै जतन र खातिरदारी गर्ने गर्दथे। यो सबैले सबैका लागि गर्ने गरिन्थ्यो। सबैका उखु हुन्थे नै।

फागुन र चैतमा त्यो बेला उखु र गुड खाँदा खादा खाना नै नरुच्ने स्थिति आउथ्यो। जिब्रोको स्वाद हराएर खाना खाने रुचि नै हुँदैनथ्यो। खुर्सानी अलिअलि भए पनि निकै पिरो हुन्थ्यो किनभने मुख पुरै उखु खादाखादा छाला नै निक्लिएको हुन्थ्यो। 

यति हुँदा समेत हामी आफ्नो उचाई भन्दा अग्लो उखु खान पाउनुपर्ने अघोषित मान्यतालाई आत्मसात गरेकै हुन्थ्यौँ। उखु खान कडाइ जसले गर्छ त्यो मान्छेको अनुपस्थितमा हाम्रो टोली बादर सेना झै उखु झम्टेर फरार हुने गर्दथ्यो। कोल्हुमा उपस्थित गाउँले हाम्रो हर्कत देखेर हास्थे कोही भने हकार्थे पनि।

हामी सानोमा हुँदा हरेक वर्षका फागुन र चैत उमंग लिएर आउथे भने जाँदा भने थोरै नैराश्यता थपेर जाने गर्दथे। उखु पेलाइ सकिएको केही दिन निकै न्यास्रो लाग्ने गर्दथ्यो।

वैशाखमा स्कुल बिहान लाथ्यो। हाम्रो टिफिन भने, त्यहीँ गुड या खुदोमा भुटेको मकै या गहुँको पिठो मुछेर बनाएको बाडी हुने गर्दथ्यो। गुड र बाडी लगेर स्कुल आउने साथीको सबैले जतन गर्थे किनभने उसले गुड र बाडी खुवाउला भन्ने आशा सबैले गरेका हुन्थे। मन मिल्ने साथीले झोलाबाट नसोधी खान समेत छुट हुन्थ्यो भने मन नमिल्नेलाई देखाउदै खानु सामान्य मानिन्थ्यो।

गुड र चोसो पानी, गुड र महि खानु बैशाख र जेठको गर्मीमा अहिले कोक र आइस्क्रीम खाए जस्तै सामान्य कुरा हुन्थ्यो। पाहुना घरमा आए आए गुड र चिसो न्वालाको पानी या छाइ(मोही) ले स्वागत गर्ने गरिन्थ्यो। 

त्यतिबेला गुड वर्षभरिका लागि पुग्नेगरि राख्ने गरिन्थ्यो। बर्खा लागे गुड पग्लिने भएकोले गहुँको भकारीभित्र राख्ने गरिन्थ्यो। हामी कुनै न कुनै तरिकाले गुड चोरेर खाने जुगाड लगाइ छाड्थ्यौँ। गाउँमा प्रचलित भनाइ थियो, गुड चोर ढोकाबाट सात चोटी फर्क। हुन पनि गुड खान थाल्यो भने घरीघरी आगनबाट फर्केर खान मन लाग्थ्यो। औषधिको रुपमा गुड प्रयोग हुने गरिन्थ्यो। कहिलेकाही गुड खाने मन लाग्दा पेट दुख्यो भनेर समेत बाआमासँग गुड मागेर खान पाउदाको खुशी विश्व बिजय गरे झै हुने गर्दथ्यो।

बैतडीका हरेकजसो गाउँ उखु खेती निकै धेरै गर्ने गरिन्थ्यो। गुड सबै धार्मिक सामाजिक कार्यमा प्रयोग गरिन्छ भनेर विवाह, ब्रतबन्ध, कथा पूजा र अन्य प्रयोजनका लागि सक्खरको जोहो सबैले गरेका हुन्थे। 

हरेक शुभ कार्यमा मुख मिठ्याउने मान्यता छ त्यो प्रयोजनका लागि पनि मिठाईको ठाउँमा गुड नै प्रयोग गरिन्थ्यो। हामी मुखबिटाल(शुभ कार्यमा बाँडिने गुड) खान पाउँदा झन पुलकित हुने गर्दथ्यौँ जुन अबको पिढिको लागि कथा झै लाग्ने विषय भइसकेको छ। 

असारमा रोपाइँ हुँदा समेत गुडको प्रयोग अपरिहार्य थियो। दिनभर खेतमा काम गर्ने रोपाहाहरुलाइ साझ भुटेको गहुँमा गुड मिसाएर खान दिइन्थ्यो। हामी हाम्रो बाआमाले खेतबाट गेडा (गुड मिसाएरको भुटेको गहुँ) ल्याउनुहुन्छ भनेर खुशी हुँदै पर्खेर बसेका हुन्थ्यौँ। गुड मिसाएको भुटेको गहुँको गेडा र महि निकै स्वादिष्ट हुने गर्दथ्यो।

गाउँ पकाइने गुलिया परिकारमा गुडकै प्रयोग गरिन्थ्यो भने बिहेमा स्याउली हाल्दा समेत अधिकतम जन्तीबालाले गुड नै दिने गर्दथे। हामी खुबै दंग परेर चक्लेट जस्तो सानो  सक्खर खान पाएकोमा भाग्यमानी ठान्ने गर्दथ्यौँ।

घरमा हिउँदमा अक्सर गुड खान दिइन्थ्यो। न्यानो हुन्छ। खाना पाचन सजिलै हुन्छ भनेर। आफ्नो घरमा गुड कतै सजिलो गरि निकाल्न सक्ने ठाउँमा छ भने गाउँका साथी समेत लिएर चोरेर खानुको मजा साझ गाली खानु पर्दा भने उत्रिन्थ्यो।

अचेल बैतडीमा उखु खेती खासै गरिन्न। हाम्रो गाउँमा धेरै हुनेका चार पाँच ताउला मात्रै गुड हुने गर्छ भनेर आमाले भन्नू हुन्छ। हाम्रो घरमा पनि एक दुई ताउला मात्रै गुड हुन्छ। त्यसमा पनि आमाले हामीलाई भनेर धनगढी पठाउनु गर्नु हुन्छ।धनगढी बसेर गुड खान लाग्दा आफ्नो बाल्यकालको त्यो अनुपम सम्झना पुरै जाता भएर आउने गर्छ। 

बैतडीको मट्याल माटोमा लगाएको उखुबाट चिनी जस्तै गजबको सेतो सख्खर बन्ने गर्छ। चिनी किनेर खान पल्केका बैतडाहरुले अचेल उखु खेती गर्न छोडी सकेका छन्। हामीले गाउँ छोडे जस्तै गाउँकाहरुले उखु लगाउन छोड्दै छन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस