सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामारी र राजनीतिक संकटका बीच थारु वस्तीमा माघको उल्लास, नयाँ अध्याय सुरु

२०७७ पुष २९, ०८:५५ लखन चौधरी

धनगढीः कोरोना महामारी र वर्तमान राजनीतिक संकटका बीच थारु वस्ती माघले उल्लासमय बनेको छ। पुस २९ गतेदेखि माघको रौनकमा पूरै थारु वस्ती झुमिरहेको छ। माघ सम्बन्धी गीतहरुले वस्ती चैनार (गुञ्जयमान) छन्। जेल जीवन भोगिरहेका सांसद रेशमलाल चौधरीले एकताका आफ्नो ‘कमैया’ फिल्मको लागि गाएको गीत कालजयी भई घन्किरहेको छ–
मााघ लहैली
सुरिक सिकार खैली रे हाँ
सखिय हो
माघक् पिली गुरीगुरी जाँर ।

यो सँगै माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीत संगै डफ र मादलको आवाजले गाउँघर गुन्जयमान बनेका छन्। पर्व मनाउन टाढा–टाढा बसेकाहरुको गाउँघरमा जमघट भएको छ। चेलीबेटीहरु माइती घर पुगेका छन्।

साँस्कृतिक रुपमा मात्रै होइन माघको धार्मिक र ऐतिहासिक महत्व उत्तिकै रहेको बताइन्छ। थारु संस्कृतिविद अशोक थारुले माघ पर्व भन्दा सबैभन्दा महत्वपूर्ण र आर्थिक वर्षको रुपमा रहेको बताउँछन्।

संस्कृतिविद थारु भन्छन्, ‘ब्रह्माण्डमा सूर्यको स्थिति तथा सुर्यको तापले सम्पूर्ण सृष्टीको अस्तित्व कायम रहने अवसरको रुपमा माघ पर्व मनाइन्छ’

माघको ३ दिन
कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय ७८ वर्षिय सत्यनारायण डंगौरा थारुका अनुसार पुसको अन्तिम दिन थारु समुदायमा जिटा अर्थात बंगुरको मासु खाने प्रचलन रहि आएको बताउँछन्। सामूहिक रुपमा बंगुर काटेर धुमधाम संग भोज भटेर गरिन्छ । मासुको परिकारको अलावा ढिकरी, खेरिया, सिद्रा, फुलौरी, आचार, सिन्की (गुन्दु्रक)लगायत विभिन्न परिकार बनाइन्छ। 

माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शिवाद लिने र सानालाई अर्शिवाद दिने प्रचलन रहिआएको छ । यो दिनपनि आफ्नो घरमा रहेका ढिकरी लगायतका पाकवान खाने र खुवाउने चलन रहेको पनि थारुको भनाइ छ। 

मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरी गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी बध हुदैंन। यो दिनलाई नै थारु समुदायले नयाँ वर्ष मान्ने गरेका छन्। 

माघीको तेस्रो दिन (माघ २ गते) लाई खिच्रहवा भन्ने गरिएको छ। यहि दिनदेखि माघी डेवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरु बताउँछन्। थारु नागरिक समाज कैलाली संयोजक चौधरीका अनुसार माघ पर्वको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एंव भल्मन्सा, बड्घर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी डेवानी’ भन्ने गरिएको छ। यस्तो प्रचलन दाङदेखि पश्चिममा रहेको छ। 

राजनीतिक संकटमा अनुकरणीय प्रथा ‘माघी डेवानी’

थारु संस्कृतिविद थारुले आफ्नो नेतृत्व आफै छान्ने माघी डेवानी प्रथा एकदमै लोकतान्त्रिक हुने बताउँछन्। वर्तमान राजीतिक संकटका बेला थारु प्रथाजन्य सो कानून निकै अनुकरणीय रहेको उनको भनाइ छ।

उनले भने,‘थारु समुदायमा माघी डेवानी कार्यक्रम सहअस्तित्व, सद्भाव र सवाल गरि ३ वटा सिद्धान्तलाई अवलम्बनमा आधारित सामाजिक व्यवस्था हो। सामाजिक व्यवस्था परिचालनको लागि यो प्रथा हो।’

यसैबीच थारु समुदायमा एउटा परिवारका सबै सदस्यहरु एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ। यसलाई ‘खोजनीबोजनी’ पनि भन्ने गरिएको छ।

‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल तथा समीक्षा हुने गर्दछ’, संयोजक चौधरीले भने–‘छलफलबाट आगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ।’

निकै रमझमका साथ यसरी माघ पर्वको विधिवत रुपमा अन्त्य भई थारुहरुमा भोज विवाहलगायतका अन्य कार्यक्रम सुरु हुने गरेको बताइएको छ।

त्यो कुप्रथा ‘कमैया’
माघ पर्व पश्चिम नेपालको थारु वस्तीमा एकताका जरा गाडेर बसेको कमैंया, कमलरी राख्ने कुप्रथा सँग पनि सम्बन्धित छ। हाल कमैंया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाएपनि उहिले माघ पर्वपछि नै प्रायः कमैंया, कमलरी बस्ने प्रचलन रहेको बताइन्छ। 

यद्यपि, जुनसुकै बेला कमैंया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरु माघ पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्व समेत भन्ने गरिएको छ।

माघ पर्व धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्वको रुपमा लिइन्छ। थारु समुदायले माघलाई महान पर्वको रुपमा मनाउनुको साथै यो पर्वले आपसी सम्बन्धमा सुधार ल्याउने गरेको जनविश्वास थारु समुदायमा रहेको छ ।

माघ १ गते नुहाईधुवाई गरेर आ–आफ्नो घरमा आई ‘निस्राउ’ निकाल्ने प्रचलन चन्दै आएको छ । निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे। जुन आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा दिने जाने चलन हो। निस्राउ आफ्नो औकात हेरेर केही थप गरेर पनि दिने गरिन्छ। जसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्दै आएको सहित्यकार कोपिला बताउँछन् । 

नयाँ अध्याय
माघीको आगमन संगै आदिवासी थारु समुदायमा नयाँ अध्याय पनि सुरु हुन्छ । माघ १ गतेबाट थारु सम्वत २६४४ को सुरुवात भएको छ । 

चालु ईश्वी सम्वतमा ६२३ जोड्दा भगवान बुद्धको जन्म मिति आउँछ । थारू समुदायको नयाँ वर्ष माघी पर्व भन्दा भगवान बुद्ध ३ महिना २७ दिनपछि जन्मिएकाले भगवान् बुद्धको जन्म मितिलाई थारू सम्वत भन्ने गरिएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् । जुन अनुसार थारु समुदायमा नयाँ अध्यायको सुरुवात भएको हो ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस