सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवाहरूबीच भएको झडपको भिडियो हालेको भन्दै विनोद ओझाले दिनेशखबरमै आएर दिए धम्की

२०८३ जेठ २२, ०५:४८ खबर संवाददाता


धनगढी: भाटभटेनी अगाडिको भिडियो हालेको भन्दै दिनेश सञ्चार गृहमै आएर एक जनाले धम्की दिएर फर्किएका छन्।
धनगढी -३ स्थित भाटभटेनी अगाडि खुकुरी हानाहान गरेको भिडियो दिनेशखबरमा किन अपलोड गरेको भन्दै धनगढीकै विनोद ओझाले दिनेश सञ्चार गृहकी कार्यकारी निर्देशक आर्जु हमाललाई धम्की दिएका हुन्।

शुक्रवार ४ बजे मादक पदार्थ सेवन गरेर दिनेश सञ्चार गृहमा पुगेका ओझाले  "कसलाई सोधेर भिडियो हालेको" भन्दै अपशब्द बोल्दै धम्की दिएर फर्किएका हुन्।

भाटभटेनी अगाडि क्यामेरा चलाउने दुई समूहबीच केही दिन अगाडि देखि विवाद र कुटपिट हुने गरेको थियो।  भाटभटेनी अगाडि फोटो खिच्न एकाधिकार जमाउन दुई समूहबीच लफडा हुँदै आएको थियो।

जेठ १७ गते आइतबार भाटभटेनी अगाडि दुई समूहबीच खुकुरी, हतौडा र हेल्मेट हानाहान भएको थियो। उक्त घटनाको सिसिटिभी फुटेज दिनेशखबरले शुक्रबार दिउँसो प्रसारण गरेको थियो।

दुई पक्षबीच भएको झडपमा आफ्नो समूह पीडित भएको र खुकुरी खाएको दाबी गर्दै ओझाले भिडियो सामग्री प्रसारण गर्नुपूर्व आफूहरूलाई नसोधेको भन्दै आक्रोशित हुँदै अपशब्द र व्यक्तिगत लाञ्छना लगाएका हुन्। उनले फोन गरेर समेत अश्लील गाली गरेका थिए। भिडियो कसले दियो भन्दै आक्रोशित हुँदै दिनेशखबरमा पुगेका उनले आफूले रक्सी सेवन गरेको आएको बताएका हुन्।

उनले आफूहरूसँग सल्लाह नगरी आइन्दा रिपोर्टिङ नगर्न र जथाभावी समाचार लेखेमा ठिक नहुने भन्दै धम्की दिएर फर्किएका हुन्। स्कुटरमा आएर गाली गर्दै धम्की दिएर फर्किएका ओझाले  दिनेशखबरको फेसबुक पेजमासमेत अभद्र टिप्पणी गरेका छन्। दिनेश खबरले सामाजिक सञ्जालमा अपलाेड गरेकाे भिडियाेमा समेत उनले अश्लील शब्द प्रयाेग गर्दै धम्की दिएका थिए। 

कमेन्ट लोड गर्नुस