पत्रकारलाई धम्की आएपछि दिनेशखबरमा पुग्यो प्रहरी टोली
धनगढीः युवाहरूबीच भाटभटेनी अगाडि खुकुरी हानाहान भएको भिडियो प्रसारण गरेको भन्दै धनगढीका विनोद ओझाले धम्की दिएपछि घटना बुझ्न प्रहरी टोली दिनेशखबरमा पुगेको छ। जेठ १७ गते भएको झडपको भिडियो शुक्रवार दिनेशखबरमा प्रसारण भएको हो।
उक्त भिडियो किन अपलोड गरेको भन्दै सुरूमा फोन गरेर अश्लील गाली गरेका ओझा केही समयपछि दिनेशखबरको कार्यालयमै पुगेका थिए। उनले भिडियोको स्रोत के हो? कसले दिएको हो? कसलाई सोधेर भिडियो हालेको हो? भन्दै आपत्ति जनाउँदै धम्क्याउने काम गरेका थिए।
ओझाले दिनेश सञ्चार गृहकी कार्यकारी निर्देशक र सहायक सम्पादक नारायण अवस्थीलाई धम्की दिएका हुन्।
ओझाले अफिसमै पुगेर धम्की दिएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको थियो। प्रहरीलाई खबर गर्नासाथ ओझा भने गाली गर्दै आफ्नो बाटो लागेका थिए।
त्यसपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली दिनेशखबरमा पुगेर घटनाबारे बुझेर फर्किएको छ। प्रहरी अधिकारीले कुनै किसिमको असुरक्षाको अनुभूति हुनासाथ खबर गर्न र घटनाको अनुसन्धान गर्ने बताएको छ।
यस्तै, नेपाल पत्रकार महासंघ कैलाली र सुदूरपश्चिम प्रदेश समितिलाई समेत घटनाको जानकारी गराइएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह र कैलाली शाखाका अध्यक्ष श्रवण देउवालाई घटनाको जानकारी गराइएको छ।
नेपाल पत्रकार महासंघ कैलाली शाखा र सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरेर पत्रकारलाई धम्की दिने घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।