महिला भलिबल लिग असोजमा
महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् । लिगको विजेताले ६ लाख, उपविजेताले ३ लाख तथा तेस्रो हुनेले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यो भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर सहित ५० हजार पुरस्कार दिइनेछ ।