सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया

फोटो : गौमुलखबर
फोटो : गौमुलखबर
२०८१ माघ १४, ०७:०७ खबर संवाददाता

बाजुरा : जिल्ला अस्पताल, बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। आइतवार बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको शल्यक्रिया गरिएको हो।

पहिलो पटक बाजुरा अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. चन्द्र शेखर यादवले बताए। पेट दुख्ने समस्या लिएर आएका थापालाई एपेन्डिसाइटिस देखिएको हो। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको अनुगमनमा आएको बेला जिल्ला अस्पताल अछामका प्रमुख डा.कमलेश राय यादवको टिमले एपेन्डिसाइटिसको शल्यक्रिया गरेको छ।

एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवको नेतृत्वमा डा.पवन अर्याल, डा.राजेश शाक्य र स्टाफ नर्स सञ्जिता कुमारी खड्काको संलग्नतामा एपेन्डिइटिसको शल्यक्रिया भएको थियो।

एमडीजीपी विशेषज्ञ डा.दुर्गा महर्जन गएपछि यो पहिलो पटक जिल्ला अस्पताल बाजुरामा एमडीजीपी चिकित्सकले गर्नसक्ने मेजर शल्यक्रिया एपेन्डिसाइटिस गरिएको सूचना अधिकारी नृप गिरीले बताएका छन्। अस्पतालमा पेट दुख्ने समस्या लिएर आएका थापाको एपेन्डिसाइटिस भएर भित्र कुहिएको अवस्थामा रहेको एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवले बताएका छन्।

एमडीजीपी विशेषज्ञ डा.कमलेश राय यादवले बाजुरा, अछाम र डोटी गरेर तीन जिल्लामा रहेका जटिल प्रकृतिका बिरामीहरूको उपचारका लागि भगिनी सम्बन्ध बनाउन आवश्यक रहेको बताएका छन्।

दुर्गमका जिल्लामा यस्ता धेरै समस्या भएका बिरामीहरूले मृत्युवरण गर्नुपरेको स्मरण गर्दै आफू सेवाका लागि तल्लीन रहेको बताएका छन्।

जिल्लामा एमडीजीपी विशेषज्ञ डाक्टर आवश्यक परेको भएपनि यसबारे कसैले पनि वास्ता गरेको पाईदैन्। यसका लागि सम्बन्धित निकायले पहल गर्न जरुरी रहेको छ।

 

कमेन्ट लोड गर्नुस