धनगढीमा बिच सडका ८५ रुख काटिए, कार्यालय परिसरकासमेत हटाइदै
धनगढी : डिभिजन वन अधिकृत संयोजक, जिल्ला प्रशासन, मालपोत, नापी, प्रहरी कार्यालय र वडाध्यक्ष सदस्य रहेको समितिले धनगढीका सडकहरूमा जोखिमयुक्त रुखहरू कटान गर्दै आएको छ।
वन नियमावली, २०७९ को दफा ३६ मा भएको व्यवस्था अनुसार धनगढीका सडक तथा सरकारी कार्यालयहरूको रुख कटानी गरिएका हुन। धनगढी उपमहानगरपालिका–४, ५ र ७ को सडक क्षेत्रमा रहेका ८५ रुखहरू कटानी गरिएका छन्। सब डिभिजन वन कार्यालय, तारानगरका प्रमुख किशोर धामीले वन नियमावली, २०७९ अनुसार रुख कटानी थालिएको बताए। उनले भने, ‘बाटो, कार्यालय रुखहरू सिफारिसको आधारमा कटान गर्ने हो। जोखिमयुक्त, दुर्घटना हुने, घटना हुने भएका रुखहरू कटान गर्ने हो। वडा कार्यालय र वन कर्मचारीको रोहबरमा कटानी हुन्छ। र सुरक्षित स्थानमा घाटगदी गरिन्छ।’
धनगढी उपमहानगरपालिका–४ शिवपुरी वन क्षेत्रको सडकका ३६ वटा रुखहरू कटानी गरिएको छ। वडा नम्बर ५ को सडक क्षेत्रका ३५ वटा रुखहरू कटानी गरिएका छन्। वडा नम्बर ७ का सडकका १४ वटा जोखिमयुक्त रुखहरू कटानी गरिएका छन्। धनगढी–१३ का सडकमा रहेका रुख कटानीको प्रक्रिया थालिएको छ। हाल यातायात व्यवस्था कार्यालय, तुलसीराम माध्यमिक विद्यालय, पशु सेवा तालिम केन्द्र लगायतका सरकारी कार्यालय परिसरहरूमा रहेका जोखिमयुक्त रुख कटानीको काम हुँदैछ। वन रक्षक तेज प्रसाद शर्माले जोखिमयुक्त र जीर्ण रुखहरू काटिएको बताए।
सङ्घीय सहरी विकासले कालोपत्र गरेका धनगढीका सडकहरूमा २८४ रुखहरू थिए। रुख परेका क्षेत्रमा सडक कालोपत्रसमेत गरिएको छैन। वन नियमावली, २०७९ जारी भएसँगै सडक क्षेत्रका रुख कटानीको काम थालिएको हो। सडक क्षेत्रका रुख कटानीको काम गरेर सब डिभिजन वन कार्यालय वा सुरक्षित स्थानमा जम्मा गर्ने गरिएको छ। धनगढीका बिच सडकमा रहेका रुखहरू हटाउने काम हुँदै आएको हो। एकै पटक रुखहरू अटाउन सकिदैन। धामीले भने, ‘सिफारिसीको आधारमा हटाउने हो। १३ नम्बरको बाँकी छ। अब हुन्छ। हामीले लगत लिएका छौ। डिभिजन वन कार्यालयमा पठाएका छौ।’
सडक तथा सरकारी कार्यालय परिसरका जोखिमयुक्त रुख कटानी भएपछि दुर्घटना नहुने अपेक्षा गरिएको छ।