दिनेश सञ्चार गृहका अतिथि सम्पादक फुयाललाई स्वागत
धनगढीः दिनेश सञ्चार गृहका अतिथि सम्पादक पत्रकार सुरेन्द्र फुयाललाई स्वागत गरिएको छ ।
दिनेश सञ्चार गृहका प्रबन्ध निर्देशक गोपाल हमालले अतिथि सम्पादक फुयाललाई बुधबार स्वागत गरेका हुन् । विगत २२ वर्षदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सक्रिय पत्रकार फुयाल दिनेश सञ्चार गृहको अतिथि सम्पादकको रूपमा काम गरी सुदूरपश्चिमलाई कर्मथलो बनाउन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए ।
उनले सुदूरपश्चिम बसाइका क्रममा छाँयामा परेका उज्याला पाटालाई बाहिर ल्याउन र आफूले सिकेका अनुभवहरु बाड्ने बताए । दिनेश सञ्चार गृह व्यवस्थापनका अनुसार फुयालले बुधबारदेखि दिनेश एफएम र दिनेश खबरको अथिति सम्पादकका रुपमा काम सुरु गरेका छन् ।
आफ्नो दुई दशकभन्दा लामो पत्रकारिता यात्रामा सुरेन्द्र फुयालले बीबीसी, द काठमान्डू पोस्ट, पिट्सबर्ग पोस्ट-गजेट (अमेरिका) र आईपीएस समाचार एजेन्सीमा सक्रिय पत्रकारिताको अनुभव बटुलिसकेका छन्।
उनी २०६३ सालदेखि २०७६ चैत मसान्तसम्म झन्डै १४ वर्ष बीबीसी नेपाली सेवाको रेडियो, अनलाइन तथा डिजिटल प्लाटफर्ममा मल्टिमिडिया पत्रकार तथा प्रस्तोताको रूपमा सक्रिय थिए। अङ्ग्रेजी तथा हिन्दी भाषामा समेत राम्रो दक्खल राख्ने फुयाल बीबीसी वर्ल्ड टीभी तथा रेडियोका साथै बीबीसी हिन्दी रेडियो, अनलाइन तथा टीभीमा पनि सक्रिय थिए।
गत वैशाखयता उनी बीबीसी हिन्दी, नेपाली टाइम्स् तथा सेतोपाटी डट कममा स्वतन्त्र पत्रकारका रूपमा सक्रिय छन्।
२०६१ सालमा फुयालले भारतको राजधानी दिल्लीमा कान्तिपुर मिडिया ग्रुपको पहिलो विदेशी ब्यूरो स्थापनाको अगुवाइ गरेका थिए, जुन विदेशमा निरन्तर सञ्चालनमा रहेको नेपालकै पहिलो त्यस्तो समाचार ब्यूरो हो।
प्रकृति, वातावरण, कला, साहित्य तथा विविध संस्कृतिको अध्ययनमा रमाउने फुयाल नेपाल तथा एशियाको भूराजनीतिमा पनि गहिरो चासो राख्छन् र उनले ती विषयमा पनि कलम चलाउँदै आएका छन्।
सुदूरपश्चिममा उनले युवा पुस्तालाई रेडियो, टीभी, डिजिटल, सोसल र अनलाइन मिडियामा भइरहेका नयाँ प्रयोगबारे आफ्नो अनुभव साट्ने योजना बनाएका छन्।