सुदूर नेपाललाई विश्वसँग जोड्दै

जटिल भूगोल र अव्यवस्थित सडकले सवारी दुर्घटना बढायो: आइजीपी कार्की

२०८३ वैशाख २७, ०४:५६ खबर संवाददाता

काठमाडौँ: नेपाल प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल, अव्यवस्थित सडक संरचना र कमजोर इन्जिनियरिङका कारण सवारी दुर्घटना बढ्दै गएको बताउनुभएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै आइजीपी कार्कीले जथाभावी निर्माण गरिएका सडक, योजनाविहीन डोजर प्रयोग र प्राविधिक मापदण्ड नपुगेका संरचनाले दुर्घटनाको जोखिम उच्च बनाएको उल्लेख गरे।

उनका अनुसार नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति गम्भीर बन्दै गएको छ। हाल दैनिक औसतमा आठ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद र चिन्ताजनक रहेको उनले बताए। “दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन र आम नागरिक सबैका लागि साझा चिन्ताको विषय हो,” उनले भने, “यसको न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्छ।”

आइजीपी कार्कीले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढी, पहिरो र मनसुनजन्य विपद् बढ्दै गएको र यसले सवारी दुर्घटनाको जोखिम थप बढाएको बताए। विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी समेत बेहोर्नुपरेको उनकाे भनाइ छ।

दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गर्दै उनले गाउँ–गाउँमा योजनाविहीन रूपमा बनाइएका सडकको प्राविधिक गुणस्तर र वातावरणीय प्रभावको गम्भीर समीक्षा आवश्यक रहेको जोड दिए। 

जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानूनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउँदै आइजीपी कार्कीले सुरक्षित यातायात प्रणाली निर्माणका लागि राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याए। 

कमेन्ट लोड गर्नुस