सुनसान थारु गाउँ : बजेन मादल, नाचिएन सखिया !
संस्कृतिमाथि कोरोना प्रभाव
धनगढी : दशैं र तिहारको अवधीमा निकै चैनार (रौनक) रहने थारु गाउँ सुनसान छन् ।
कोरोनाका कारण जमघट हुन नपाउने र मनोरन्जनमा सरकारी रोकले गर्दा सखिया, झुम्रालगायत नाचगानले चैनार रहने पश्चिम नेपालका थारु बस्तु सुनसान भएका हुन् ।
हरेक वर्ष दशैंदेखि तिहारसम्मको एक महिना आफूहरू गाउँमा मन्द्रौहा नाचसँगै सखिया नाचेर रमाइलो गर्ने गरेको बताउँदै गौरीगंगा–७, मट्कौनाका दानबहादुर जोगी थारूले भने, ‘यसपालि भने दशैं–तिहारमा न मादल बजाइयो, न त मन्द्रौहा र सखिया नै नाचियो ।’
कोरोनाका कारण खेतीपाती स्याहारेर फुर्सदिलोमै बसेर दशैं–तिहारको एक महिना कटाइएको उनले बताए । थारू समुदायमा वर्षभरी खेतीपातीमा व्यस्त हुने र दशैंदेखि तिहारसम्मको एक महिनाको रातभर गाउँघरमा रमाइलो गर्दै नाच नाचिने चलन रहेको उनले बताए ।
‘हाम्रो समुदायमा वर्षभरी खेतीपातीमा जोतिने र धान काटिसकेपछि दशैंदेखि तिहारसम्मको फूर्सदिलो समयमा रातभर मन्द्रौहा र सखिया नाचेर रमाइलो गरिन्थ्यो,’ उनले भने,‘कोरोनाका कारण संस्कृतिमा यसपालि धक्का लाग्यो ।’
कोरोनाका कारण यसपालि थारू गाउँमा मादलसमेत नबजेको बताउँदै कैलाशपुरका भलमन्सा (थारू गाउँका मुखिया) तुलराम जोगी थारूले भने, ‘मन्द्रौहा र सखिया नाच्दा जमघट तथा भेला गर्नुपर्ने भएकाले यस्तोमा कोरोना संक्रमण सर्ने डरले मादलै बजाउने निषेध गरियो ।’
बाँचेमा अर्को साल रमाइलो गरी मन्द्रौहा र सखिया नाचिने बताउँदै उनले भने,‘मेरो मातहतका गाउँलेहरुलाई यसपालि नाच ननाचिने उर्दी गरेको हुँ ।’ दशैंदेखि तिहारसम्मको एक महिनामा मन्द्रौहा र सखिया नाचसम्म नाचिने थारू गाउँ यसपालि भने कोरोनाकै कारण ननाचिएको उनले बताए ।
थारु वस्ती
गवान् राम लक्ष्मणको जीवनीमा आधारित पौराणिक कथा कहानीलाई मिलाएर नाटकीय रुपमा नाचिने थारू समुदायको मन्द्रौहा नाच असोज महिनादेखि तिहारसम्म नाचिने गरिन्छ । असोजदेखि धान भित्र्याउँदै दिनभरको थकान मेट्न मन्द्रौहा नाच नाच्ने गर्दछन् । मनोरञ्जनका साथै संस्कृति संरक्षण गर्न मन्द्रौहा नाच नाच्ने गरिए पनि यसपालि भने कोरोनाकै कारण ननाचिएको अर्का थारू अगुवा गंगाराम चौधरी बताउँछन् ।
विशेष गरी विजया दशमीमा (ढिकरहुवा) अष्टमीको राति ढिक्री (थारु जातिको एक प्रकारको परिकार) लाई पूजा गरेर रातभरी भलमन्सा (गाउँको थारू मुखिया) को घरमा जाग्राम बस्नका लागि मन्द्रौहा नाच नाच्ने गरिन्छ । तर, यसपालि ढिकरहुवामा पनि भलमन्साको घरमा नाच ननाचिएको उनले बताए । मन्द्रौहा नाचमा पुरुषलाई महिलाको नृत्य पोशाक (लेहंगा, चोली तथा गरगहना) लगाएर मादल बजाउने मान्छेसँगै नाच्ने गरिन्छ । जसलाई थारू भाषामा नचुनिया भनिन्छ । नचुनियाले नाचिसकेपछि मात्र मन्द्रौहा नाचको नाटकीय पात्रको आगमन हुने गर्दछ । रातभर मन्द्रौहा नाच नाचेपछि बिहानी पख कुखुराको डाँकोसँगै झुम्रा नाच देखाएर मन्द्रौहा नाच सकिन्छ ।
भगवान् राम लक्ष्मणको जीवनीलाई आधार बनाएर दुःखीहरूको कथा कहानी मिसाउँदै मादल बजाएर देखाउने मन्द्रौहा नाच भइको पूर्व भलमन्सा वीरबहादुर जोगी थारू बताउँछन् ।
‘पुरानो संस्कृतिमा मादलद्वारा नाच देखाउने गरिन्थ्यो,’ उनले भने,‘यसपालि भने हामीले गाउँमा कुनै पनि नाच देखाउन सकेनौं ।’