धनगढीमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै बर्दिया प्रशासनलाई ज्ञापन
धनगढीः धनगढीमा सञ्चार गृह भित्र प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै बर्दियामा पनि ज्ञापन पत्र बुझाईएको छ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाले आज आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै प्रशासन कार्यालय बर्दियामा ज्ञापनपत्र बुझाएको हो।
महासंघका अध्यक्ष राजेन्द्र धितालले धनगढीको दिनेश सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारलाई कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाईएको जानकारी दिए।
प्रजिअ धितालले समाचारको विषयलाई लिएर सञ्चार गृह र पत्रकारमाथि भौतिक आक्रमण गर्नु निन्दनीय भएको बताउँदै कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।
गत शुक्रबार मात्र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा थुनावामा रहेका धनगढीका १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको समाचार दिनेश खबरले प्रकाशन गरेको थियो।
बिकको आत्महत्या नभई हत्या भएको भनी समाचार हटाउन भन्दै सञ्चार गृहमा प्रवेश गरी सह–सम्पादक जनक विष्ट सहितका पत्रकार र व्यवस्थापक अमिता कुँवर तथा प्राविधिक कल्पना सिहमाथि हातपात र कुटपिट गरेको थियो।
सञ्चार गृहले आक्रमण र कुटपिटमा संलग्न पहिचान खुलेका पाँच सहित २० जना विरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले अहिले सम्म दुई जनालाई मात्र पक्राउ गरेको छ।
अन्य व्यक्तिहरु भने फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले बताउँदै आएको छ।