कैलालीका बाढी पीडितलाई कतार प्रहरीमा कार्यरत नेपालीद्धारा ५० हजार सहयोग
धनगढीः कैलालीका बाढी पीडितलाई कतारबाट आर्थिक सहयोग गरिएको छ।
कतार प्रहरीमा कार्यरत नेपालीहरुले जिल्लाको जोशीपुर गाउँपालिकाका बाढी पीडितलाई आर्थिक सहयोग गरेका हुन्। बाढी पीडित जोशीपुर गाउँपालिका वडा नम्बर २ को बन्जरियाका काशिराम बम र शेर बाहादुर बमको परिवारलाई ५० हजार बराबरको आर्थिक सहयोग गरिएको हो।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी मार्फत उक्त रकम हस्तान्तरण गरिएको थियो। जोशीपुरकै स्थानीय खेमराज जोशी, बिराट बोहोरा, सुनिल भुल लगायतले गत भदौँमा सामाजिक सञ्जालमा उनीहरुको पीडा सहितको भिडियो सार्वजनिक गरेका थिए।
दुवै जनाको परिवारमा चुलो समेत बल्न नसकेको थाहा पाएपछि कतार प्रहरीमा कार्यरत नबिन बोहोरा लगायले रकम संकलन गरी सहयोग स्वरुप पठाएका थिए। अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिईएको छ।