बालदिवसको अवसरमा आमाको माया छात्रवासलाई तरकारी सहयोग
धनगढी : ‘विपद्मा बालअधिकारको सुनिश्चिता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको बालदिवस मनाइदै छ। सोही अवसरमा नेपाल बाल संगठन कैलालीले धनगढीको तारानगमा रहेको आमाको माया छात्रावासमा तरकारी सहयोग गरेको छ।
बाल संगठनले छात्रावासमा ४५ किलो आलु, ३५ किलो प्याज र एक प्याकेट मास्क वितरण गरेकोे छ। विपन्न परिवार र बेसहारा २० बालबालिका अहिले आमाको माया छात्रावासमा अध्यनरत रहेका छन्। स्थानीय व्यक्तिहरुको सहयोगमा उक्त छात्रावास संचालनमा रहेको छ।
कोरोनाका कारण छात्रावासमा तरकारीको अभाव भएकाले बालदिवसको अवसरमा तरकारी वितरण गरेको नेपाल बाल संगठन कैलालीका अध्यक्ष भुवनेश्वर पन्तले बताए। बाल संगठन कैलाली हरेक वर्ष विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको छ।
बाल संगठनले भजनीमा बाढीले क्षति पुगाएको ठाउँका प्रभावितलाई खाद्यान्न र स्वास्थ्य सामग्री समेत वितरण गरेको सचिव नृपबहादुर सुनारले बताए। विपन्न वर्गमा रहेका बालबालिका र विपद्मा परेकालाई बाल संगठन कैलालीले सहयोग गर्दै आएको समेत सचिव सुनारले बताए।