सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्लाज्माथेरापीका लागि रक्त सङ्कलन शुरू

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ २६, ०६:१२ रासस

नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस  सङ्क्रमितको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरेको छ। बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि पहिलो रक्तदान गरेका थिए। रानाभाट कोरोना सङ्क्रमणबाट निको भएका हुन्।  आफूले पहिले कहिल्यै रक्तदान नगरेको तर निको भएपछि आफ्नो रगतले अरु सङ्क्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गर्न आएको बताएका थिए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा रेडक्रसले यो सेवा थालेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताए। रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसन बीच रगत सङ्कलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता बुधबार भएको छ।

रेडक्रसका अध्यक्ष डा नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम सङ्कलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए। सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ।

त्यसमा चिकित्सक संघले प्लाज्मा सङ्कलनका लागि कोभिड–१९ सङक्रमित भई निको भएका नागरिक, चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दातासँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ। रेडक्रसको समन्वयनमा प्लाज्मा दान  गर्ने दाताको सम्मानका लागि आवश्यक तयारी गरिएको छ। 

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष निलकाजी शाक्यले सङ्क्रमण निको भएकाको खोजी गरी रक्तदानमा उत्प्रेरीत गर्ने बताए। स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरु गरिसकेकोछ। धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै थालिने बताइएको छ। 

प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन्।  प्लाज्मा दान गर्दा दातालाई कुनै शारीरिक तथा मानसिक असर नपर्ने चिकित्सक संघले जनाएको छ। संघका अध्यक्ष डा. कार्कीले नागरिकको जीवन रक्षामा संलग्न हुन सरोकारवालालाई आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस