कैलालीमा निषेधाज्ञा खुकुलो बनाउने तयारी
धनगढी– कैलालीमा भदौ ४ गते मध्यरातिदेखि जारी भएको निषेधाज्ञा खुकुलो पार्ने तयारी भएको छ। १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने स्थानीय प्रशासनले तयारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले १९ गतेपछि कसरी जाने भन्ने विषयमा सबै पक्षसंग छलफल भईरहेको बताउँदै केही सेवाबाहेक अन्य सेवा सुचारु गर्ने तयारी भएको जनाएको छ।
नयाँ मोडलिटीबारे उद्योग वाणिज्य संघ, स्थानीय तह लगायतसंग छलफल जारी रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।
तर निषेधाज्ञालाई यथावत राख्ने वा अन्य कुनै मोडालिटी अपनाउने भन्ने विषयमा अहिले नै कुनै निर्णय नभएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।
समाचार स्रातका अनुसार १९ गतेपछि जिल्लामा व्यापार व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको छ। भीडभाड हुने सरकारी कार्यालयमा सेवा प्रवाहलाई व्यवस्थीत कसरी बनाउने भन्ने विषयमा पनि छलफल भईरहेको छ।
जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि प्रमुख जिल्ला अधिकारीले भदौ ४ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका थिए। सुरुमा १० दिनका लागि निषेधाज्ञा जारी भएकोमा पछि पाँच दिन थपिएको थियो।