सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन सहकारीको सञ्चालक समिति चयनका लागि मतदान हुँदै

२०८३ जेठ ९, ०१:१९ नारायण अवस्थी

धनगढीः नवजीवन सहकारी संस्था लिमिटेडको सञ्चालक समिति चयनका लागि आज मतदान भइरहेको छ। बिहानदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ।

निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष, सात जना सदस्य तथा लेखा सुपरिवेक्षण समितिका तीन जना पदाधिकारी चयन गरिनेछ। सहकारीको नेतृत्वका लागि तीन वटा प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन्।

निर्वाचन समितिका संयोजक राजेन्द्रवीर चन्दका अनुसार वर्तमान समितिका सदस्यसमेत रहेका केशवराज मिश्र, घनबहादुर शाह र गोपाल पाठक आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा छन्। एक उपाध्यक्ष पदका लागि तीन जना तथा सात सदस्यका लागि २८ जनाको उम्मेदवारी परेको छ।

यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजक पदका लागि दुई जना र दुई सदस्यका लागि चार जनाको उम्मेदवारी रहेको छ।

यसअघि मंसिर २ गते चुनावी साधारणसभा बोलाइए पनि ५१ प्रतिशत सेयर सदस्य उपस्थित नभएपछि निर्वाचन प्रक्रिया आजका लागि सारिएको हो। मतदानका लागि कम्तीमा ३० प्रतिशत सेयर सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।

२०५० साल मंसिर ३० गते स्थापना भएको नवजीवन सहकारी संस्था लिमिटेड १४ जनाले सामुदायिक बचत कोषबाट सुरु गरेका थिए। नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ इजाजतपत्र पाउने नेपालको पहिलो सहकारी संस्था मानिने यसले हाल कैलाली, कञ्चनपुर र बर्दियामा कार्यालयमार्फत सेवा दिइरहेको छ।

सहकारीसँग हाल करिब सात अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको र ४० हजार ५९३ सेयर सदस्य रहेका छन्। देशका विभिन्न सहकारीमा समस्या देखिँदै जाँदा नवजीवन सहकारी भने तुलनात्मक रूपमा स्थिर र सफल सहकारीका रूपमा परिचित छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस