सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम नवउद्यमी सम्मेलन विवादमा, सहभागीले नै उठाए पारदर्शितामाथि प्रश्न

२०८३ कार्तिक १८, ०८:२५ अनुभव भट्ट

धनगढीः सुदूरपश्चिममा नयाँ उद्यम स्थापना र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ विवादमा परेको छ। तीनदिने सम्मेलनको अन्तिम दिन पूर्वनिर्धारित कार्यक्रमअनुसार ग्रान्ड फिनाले पिचिङ तथा विजेता घोषणा नभएको भन्दै सहभागी युवा उद्यमीहरूले आयोजकसँग जवाफ मागेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरले आयोजना गरेको सम्मेलनमा ‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने नारासहित युवालाई व्यवसाय सञ्चालन, लगानी व्यवस्थापन, बैंकबाट ऋण लिने प्रक्रिया र ब्याजसम्बन्धी विषयमा जानकारी दिइएको थियो। सम्मेलनमा सहभागी करिब १५० उद्यमीमध्ये ५१ जना छनोट गरी लगानीकर्ता, उद्योगी, प्रायोजक तथा अन्य सरोकारवालाको उपस्थितिमा ग्रान्ड फिनालेमा बिजनेस पिच गराउने जानकारी दिइएको सहभागीहरूको भनाइ छ।

तर, अन्तिम दिन छनोट भएका उद्यमीलाई पिच गर्ने अवसर नै नदिइएको र नतिजासमेत सार्वजनिक नगरिएको भन्दै सहभागीहरूले असन्तुष्टि जनाएका हुन्। उनीहरूले छनोटका आधार र मापदण्ड, कार्यक्रम व्यवस्थापन तथा सिड फन्ड वितरण प्रक्रियाबारे स्पष्ट जानकारी दिन माग गरेका छन्।

सम्मेलनमा सहभागी जान्वी जोशीले पूर्वनिर्धारित कार्यविधिअनुसार आफूहरूलाई बिजनेस पिच गर्ने अवसर नदिइएको भन्दै प्रश्न उठाएकी छन्। छनोट प्रक्रिया, ग्रान्ड फिनाले पिचिङ स्थगित हुनुको कारण र विजेता घोषणा तथा सिड फन्ड वितरणबारे आयोजकले स्पष्ट पार्नुपर्ने उनको माग छ। ‘हामीले तीन दिनसम्म कार्यक्रमलाई समय दियौँ तर अन्त्यमा कार्यविधिमा उल्लेख गरेअनुसार हामीलाई पिच गर्न दिइएन,’ उनले भनिन्।

त्यस्तै, पी एण्ड एन सप्लायर्सका सञ्चालक तथा सहभागी सुभाष बिष्टले आठ हप्ताको वास्तविक कारोबार, बिजनेस मोडल क्यानभास र ४० सेकेन्डको पिचसहित तयारी गरेर एलिभेटर राउन्डमा सहभागी भएको बताएका छन्। छनोटमा नपरेको नतिजालाई स्वीकार गरे पनि छनोट भएका सहभागीले समेत अन्तिम चरणमा पिच गर्ने अवसर नपाउनु र नतिजा सार्वजनिक नहुनुले अन्योल सिर्जना गरेको उनको भनाइ छ।

कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सन्तोष पन्तले पनि सम्मेलनको व्यवस्थापन र सञ्चालन प्रक्रियामाथि प्रश्न उठाएका छन्। पूर्वनिर्धारित कार्यक्रम तालिका कार्यान्वयन नभएको, विभिन्न जिल्लाबाट आएका नवउद्यमी अपेक्षित उपलब्धिबिना फर्किनुपरेको तथा जुरीबाट समीक्षा र प्रतिक्रिया नपाइएको उनले बताए। मेन्टर, संस्थापक र लगानीकर्तासँग अन्तरक्रिया गर्ने अवसरसमेत नपाइएको उनको गुनासो छ। ‘होहल्लामात्र बढी भयो तर हामीले सोचे जस्तो प्रतिफल पाएनौँ,’ पन्तले भने।

उनले छनोट भएका ५१ उद्यमको छनोट प्रक्रिया पारदर्शी बनाउनुपर्ने र उत्कृष्ट १० उद्यमलाई पाँच–पाँच लाख रुपैयाँ दिने भनिएको विषयमा समेत स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने बताएका छन्। 

यता, सम्मेलनका संयोजकसमेत रहेका कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक राजेन्द्रबीर चन्दले भने कार्यक्रमलाई प्रतिस्पर्धाका रूपमा बुझ्न नहुने बताएका छन्। युवालाई नवप्रवर्तन र उद्यमशीलतामा प्रोत्साहित गर्दै उनीहरूको व्यावसायिक अवधारणालाई परिष्कृत गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न सम्मेलन आयोजना गरिएको उनको भनाइ छ।

चन्दका अनुसार छनोट भएका ५१ जना सहभागीका लागि अब थप ९० दिनको कक्षा सञ्चालन गरिनेछ। उक्त अवधिमा उद्यम सञ्चालन, व्यवस्थापन र नवप्रवर्तनलगायत विषयमा थप ज्ञान तथा सीप प्रदान गरिनेछ। ९० दिने कार्यक्रम सम्पन्न भएपछि उत्कृष्ट तथा योग्य १० जना उद्यमी छनोट गरिने उनले बताए।

कार्यक्रम सञ्चालनका लागि सरकार वा अन्य कुनै निकायबाट अनुदान अथवा आर्थिक सहयोग प्राप्त नभएको उल्लेख गर्दै चन्दले युवालाई आफ्नो व्यावसायिक सोच र नवीन अवधारणा अघि बढाउन आवश्यक प्लेटफर्म उपलब्ध गराउनु नै सम्मेलनको मुख्य उद्देश्य रहेको स्पष्ट पारे। उनका अनुसार सहभागी युवालाई बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरूसँग समन्वय र सहकार्य गर्ने अवसरसमेत प्रदान गरिनेछ। ९० दिने क्याम्प सम्पन्न भएपछि सम्भावना बोकेका उद्यमीलाई लगानीकर्तासँग छलफल तथा अन्तरक्रिया गर्ने वातावरण तयार गरिने उनले बताए।

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस