किसान बहुउद्देश्यीय सहकारीद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
धनगढी: किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम धनगढीलाई खाद्यान्न तथा सरसफाइ सामग्री सहयोग गरेको छ।
सहकारी संस्थाको धनगढी शाखा र मोतीचोक शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित असहाय, बेसहारा तथा आवश्यकता भएका व्यक्तिहरूका लागि खाद्यान्न सहयोग गरेका हुन्।
संस्थाले चामल, दाल, नुन, तेल, तरकारीलगायत खाद्यान्नसँगै सरसफाइका सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ। उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा मानवसेवा आश्रम कैलालीका जिल्ला संयोजक लोकेन्द्र शाह, कर्मचारी स्पिकर शाही, सिता लामा तथा आश्रमका अन्य प्रतिनिधिको उपस्थिति थियो। आश्रममा हाल करिब ६४ जना बेसहारा तथा असहाय व्यक्तिहरू आश्रित रहेको जनाइएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाको चौमाला शाखाका प्रमुख बमबहादुर बडुवाल सिजापति, उत्तरबेहडी शाखाका शाखा प्रमुख चक्रप्रसाद भण्डारी, मोतीचोक शाखाका प्रमुख भरतबहादुर विष्ट तथा कर्मचारी भूपेन्द्र रावल र आशिष शाहीको सहभागिता रहेको थियो। सहकारी संस्थाले सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक उत्तरदायित्वलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।