सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १ बाट अन्तरजिल्ला यातायात र हवाई उडान नखुल्ने

फाइल फोटो
फाइल फोटो
२०७७ साउन २६, ०५:५१ रासस

अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ।  कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको छ।

५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो।

तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको हो।

भदौ १ बाट लामो दूरीको यातायात सेवा, हवाई सेवा र विद्यालय भर्ना खोल्नेलगायतका निर्णय सरकारले गरेको थियो तर संक्रमणका कारण जोखिम झन् बढेकाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा मन्त्रीहरूबीच तत्कालका लागि सरकारले यसअघि सञ्चालन गर्ने भनिएका कुनै पनि सेवालाई अघि नबढाउने निष्कर्षमा पुगेको एक मन्त्रीले जानकारी दिए। यसबारे निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्छ।

साउन ६ गतेबाट लकडाउन पूर्ण रुपमा हटेपछि सरकारले भदौ १ बाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक र अन्य उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल र विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्ने तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। तर लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले सुचारु गर्ने भनेर निर्णय गरेका सेवा तत्कालका लागि नखोल्ने निष्कर्षमा सीसीएमसी पुगेको हो। भदौ १ बाट खोल्ने भनिएका सेवाहरू कति दिन पछि खोल्ने भन्ने सम्बन्धमा भने सीसीएमसीमा सहमति भएको छैन। 

कमेन्ट लोड गर्नुस