यातायात व्यवस्था कार्यालय धनगढीमा पुग्नै मुस्किल
धनगढी : दैनिक सयौँ सेवाग्राहीको भीड हुने यातायात व्यवस्था कार्यालय धनगढीमा पुग्नै मुस्किल हुन थालेको छ। असारे विकासले सडक हिलाम्य भएपछि सेवाग्राहीलाई कार्यालयसम्म पुग्नै मुस्किल हुन थालेको हो।
कार्यालयमा पुग्ने मुख्य सडक हिलाम्य भएर आवतजावत गर्नै मुस्किल भएपछि अधिकासं सेवाग्राही बाटोबाटै फर्किन थालेका छन्। आर्थिक वर्षको अन्तिममा आएर सडकको नाली निर्माणका लागि पुरानो सडक खनिएपछि यात्रुहरुलाई सास्ती भएको स्थानीय शेरबहादुर चौधरीले बताए। ‘यो सडकमा दैनिक सयौको संख्यामा सवारी साधन आवत जावत गर्दै आएका छन्,’ उनले भने, ‘धेरै चल्ने सडक हो। अहिले नाली निर्माणका लागि पिच सडक खनिएको छ। धेरै त यातायात कार्यालय पुग्न नसकेर फर्किने गरेका छन्।’ उनका अनुसार एक वर्षदेखि नाली निर्माणको काम जारी रहेकोमा वर्षातको समयमा सडक खनिएको हो।
सडकमा ठुला खाल्डा र हिलो भएपछि दैनिक दुर्घटना समेत हुँदै आएका छन्। तर सडक ग्रावेलका लागि समेत निर्माण कम्पनीले बास्ता गरेको स्थानीय यशोदा देवी रोस्याराले बताइन्। उनले भनिन्, ‘धनगढीको मुख्य सडक बाहेक यो सडकमा पनि बढि आवतजावत हुन्छ। एक वर्ष भन्दा धेरै भयो, सडक निर्माण हुँदैछ। अहिले वर्षातको समयमा पनि सडकको नाली निर्माण हुँदैछ।’
धनगढीको तारानगरको पश्चिम हुँदै दुई दशमलव एक किलोमिटरको सडक तीन करोड ६० लाखमा लामा खड्का जेभीले निर्माण जिम्मा पाएको छ। तीन वर्ष भित्र निर्माण कम्पनीले सडक निर्माण गर्नुपर्ने छ। सडकमा पानीका पाइप परेका कारण हिलाम्य भएको दावी शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईको छ।
ईकाइका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले खानेपानीको पाइपका कारण सडकमा हिलो भएको बताए। ‘खानेपानीका पाईप सार्ने योजना पहिले थिएन्। तर पछि पानीका पाइप सानृका लागि माथिबाट स्वीकृती प्राप्त भयो। अहिले पानीका पाइप सार्नका लागि सडक खनिएको हो।’ उनले भने।