सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोना संक्रमितको सङख्या ७८ पुग्यो, आज थपिए ११ जना

२०७७ जेठ ३१, ०५:४६ खबर संवाददाता

धनगढी  ः कैलालीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ७८ पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्। कैलालीको चुरेका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना र टीकापुरका एक जनामा कोरोना पुष्टि भएको हो। 

कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै टीकापुर नगरपालिकामा १४ जना, धनगढी उप–महानगरपालिकामा १३ जना, जानकी गाउँपालिकामा ९ जना, चुरे गाउँपालिकामा ५ जना, लम्कीचुहा नगरपालिका ३ जना, गोदावरी नगरपालिकामा ३ जना, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका तथा मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एक/एक जना कोरोना संक्रमित भेटिएका छन्।

संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्।

प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र  बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।

जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ।

कैलालीपछि कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, अछामका १६, दार्चुलामा १२, डोटीका १३, बझाङमा १४, बैतडीमा ६ र बाजुराका २१ जनामा कोरोना पुष्टि भएको छ।
 

कमेन्ट लोड गर्नुस