सुदूर नेपाललाई विश्वसँग जोड्दै

असारमा सुदूरपश्चिममा ४ हजार ९१ सवारीलाई कारबाही, ३४ लाखभन्दा बढी राजस्व संकलन

२०८३ असार ३०, ०२:०१ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले असार महिनाभर सञ्चालन गरेका ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियानका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ९१ वटा सवारी साधनलाई कारबाही गर्दै ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले मङ्गलवार सार्वजनिक गरेको प्रगति विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ४७३ चालकलाई कारबाही गरी २ लाख ५५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै, तीन पटक गरिएको लापसे (लागुऔषध परीक्षण) जाँचका क्रममा ८ जना चालकमा लागुऔषध सेवन पुष्टि भएपछि थप कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

उनका अनुसार असार महिनाभर ५ सय ८७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ लाख २६ हजार ६ सय ६६ जनालाई ट्राफिक नियमबारे जानकारी दिइएको छ।

ओभरलोड नियन्त्रण अभियानअन्तर्गत क्षमताभन्दा बढी भार बोकेका ११ वटा मालवाहक सवारी साधनलाई कारबाही गरी ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ।

सार्वजनिक यातायातलाई सुरक्षित र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत हालसम्म प्रदेशभर २ सय सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीटीभी जडान गरिएको छ। यसले दुर्घटनाको कारण पहिचान, यात्रुको सुरक्षामा सुधार तथा चोरी, दुर्व्यवहारजस्ता घटनामा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सवारी परीक्षण कार्यालय अत्तरियासँगको संयुक्त अभियानमा १५१ सवारी साधनको यान्त्रिक परीक्षण गरिएको छ। त्यस्तै, चोरी नियन्त्रण अभियानअन्तर्गत २८ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

ट्राफिक प्रहरीले नम्बर प्लेट नभएका ४२० सवारी साधनमा पुनः नम्बर प्लेट जडान गराएको, नियमविपरीत जडान गरिएका २६ वटा ठूला हर्न हटाएको तथा २८२ सवारी साधनबाट कालो सिसा हटाएको ट्राफिक प्रहरी प्रमुख कार्कीले बताए।

'सडक सुरक्षालाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीले प्रविधिको प्रयोगलाई पनि विस्तार गरेको छ। प्रदेशभरका ट्राफिक युनिटमा सीयूजी मोबाइल सिम वितरण, अत्तरियास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुरामा सीसीटीभी जडान, राजमार्गका विभिन्न स्थानमा सञ्चार हेडसेट वितरण, दुर्घटना न्यूनीकरणका लागि सडकमा कन्भेक्स मिरर जडान तथा चिसापानी क्षेत्रमा एएनपीआर क्यामेरा परीक्षणको काम समेत गरिएको छ,' ट्राफिक प्रहरी प्रमुख कार्कीले भने।

यसैगरी, सार्वजनिक सवारी चालकको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण, सुरक्षित चालक–सुरक्षित यात्रा अभियान, ई–स्कुटर अभिलेखीकरण, पहाडी जिल्लामा दुर्घटना न्यूनीकरणका विशेष निर्देशन तथा रातो नम्बर प्लेटका सवारी साधनमाथि निगरानी बढाउने कार्य पनि गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले जरिवाना असुली मात्र नभई सडक सुरक्षा, चालक अनुशासन, यात्रुको सुरक्षा र प्रविधिमार्फत प्रभावकारी ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस