धनगढीका क्वारेन्टिनमा आरडिटी पोजेटिभ देखिएकासँगै अरुलाई पनि राख्दा जोखिम
धनगढी: धनगढी उप–महानगरपालिका वडा नम्बर १९ मा पनि मापदण्ड विपरीत निर्माण गरिएका क्वारेन्टिनले जोखिम बढेको छ। वडा भित्र रहेका विभिन्न विद्यालय तथा सामुदायिक भवनहरुमा स्थापना गरिएका क्वारेन्टिन व्यवस्थित नहुँदा जोखिम बढेको हो भने क्वारेन्टिनमा बसेकाहरुलाई कुनै खालको सुविधा नपाएको गुनासो गरेका छन्।
उप–महानगरपालिकाले किटनाशक झुल दिएको भएपनि अन्य कुनै खालको सामाग्री उपलब्ध नगराएको हो। आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षण समेत आनाकानी गरिएको छ। वडा नम्बर १९ को जनप्रिय आधारभुत विद्यालयमा व्यवस्थापन गरिएको क्वारेन्टिमा बसेका सुमित वि.कले तीन जनालाई एन्टिबडि देखिएकोमा क्वारेन्टिनबाट बाहिर नलिएको बताए। प्रयोगशाला परिक्षणका लागि थ्रोड स्वाबको नमूना समेन नलिएको भन्दै उनले आक्रोस व्यक्त गरेका छन्। ‘क्वारेन्टिनमा रहेका तीन जनाको तीन जना कोरोना देखिएको छ। तर उनीहरु पनि हामीसंगै छन्। पानी र शौचालय एउटै प्रयोग गर्नुपर्ने बाध्यता छ। धनगढी लगिएको छैन्। एम्बुलेन्स छैन् भन्छन्। परीक्षण नगर्ने भए र्यापिड पनि नगरेको भए हुन्।’ उनले भने।
भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किनेहरुलाई व्यवस्थापन गर्न धनगढी उप–महानगरपालिका १९ का विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टिन मापदण्ड अनुसार नभएको पाईएको हो। वडामा पर्ने जनप्रिय, शंकर सरस्वती अन्नपूर्ण र फुलबारी आधारभुत विद्यालयमा स्थापना गरिएका क्वारेन्टिनमा मापदण्ड अनुसार आवश्यक पर्ने भौतिक पूर्वाधारको कुनै व्यवस्था गरिएको छैन्। क्वारेन्टिनमा भौतिक पूर्वाधारको व्यवस्था नहुँदा घरबाट आवश्यक सामाग्री ल्याएर बाध्यता छ भने अन्य वडामै झै घरबाटै खानेकुरा ल्याउँदा संक्रमणको जोखिम झनै बढेको छ। उप–महानगरपालिकाले सुविधाको नाममा किटनाशक झुल मात्र उपलब्ध गराएको गुनासो गरिएको छ। ‘महिला–पुरुष एउटै क्वारेन्टिनमा छौँ। दैनिक सरसफाईका लागि समस्या छ। पानीको धारा एउटै छ। कसरी नुहाउने।’ जनप्रिय आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेकी एक महिलाले दिनेश खबरलाई भनिन्।
क्वारेन्टिनमा बस्नेहरुका लागि कुनै खालको सेवा सुविधा र मापदण्ड अनुसारका व्यवस्था नहुँदा भुईमै रात कटाउनुपर्ने बाध्यता छ। दाताहरुले उपलब्ध गराएकै सामाग्रीकै भर पर्नुपर्ने अवस्था छ। नेपाल रेडक्रस सोसाईटीले वितरण गरेको एक साबुन पनि चार जनाले काटेर भाग लगाएको उनीहरुले बताएका छन्। ‘सुविधाको नामा एक झुल दिएको छ। रेडक्रसले साबुन वितरण गरेको थियो। एक साबुन चार जनाले काटेर भाग लगाएका छाैँ। घरबाट खाना खादैछौँ। कुनै पनि सुविधा छैन्। लुगा पनि घरबाट ल्याएका हौँ। बालबच्चाका लागि सबै भन्दा समस्या छ।’ वडा नम्बर १९ कै शंकर सरस्वती अन्नपूर्ण आधारभुत विद्यालयको क्वारेन्टिमा रहेका विरबहादुर विश्वकर्माले भने।
सबैसँग मास्क समेत छैन्। भारतबाट सुरक्षीत आएको भएपनि त्रिनगर नाकामा भएको भीडभाडले संक्रमण फैलिने चिन्ता गरिएको छ। स्वास्थ्य कर्मी पनि आउँदैनन्, उनले भने। धनगढी उप–महानगरपालिका वडा नम्बर १९ को जनप्रिय आधारभुत विद्यालयका तीन जनामा र्यापिड टेस्ट गर्दा कोरोना भाइरस (कोभिड–१९)को एन्टिबडि देखिएको छ। तर उनीहरुको पीसीआर परीक्षणमा उदासिनता देखाईएको छ। आरडिटी पोजेटिभ देखिएकाहरुसँगै अन्यलाई समेत राख्दा झनै जोखिमको चिन्ता गरिएको छ।
तर वडा नम्बर १९ का अध्यक्ष तिलुराम चौधरीले व्यवस्थपनमा समस्या रहेको बताए। ‘उप–महानगरपालिकाले दिएपनि हामीले दिने हो। हामीसँग पैसा पनि छैन्। १५ लिटर तेल दिएको छ। कुद मात्र भन्छ। ६५ जना फेरी आएका छन्। उनीहरुलाई कहाँ राखौ। चेक गर्ने टोली समयमा आएको भए परीक्षण गरेर पठाउनु हुन्थ्यौँ। तर आउदैनन्। कसरी व्यवस्थापन गरौ। हुदै छैन्।’ उनले भने।
क्वारेन्टिनमा रहेका एक व्यक्तिका लागि ७५ वर्ग फिट अर्थात एक बेडदेखि अर्को वेडको दुरी तीन दशमलव ५ फिट हुनुपर्ने मापदण्डमा उल्लेख छ। क्वारेन्टिनको दैनिक सरसफाई गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। तर वडा नम्बर १९ मा स्थापना गरिएका क्वारेन्टिनमा कुनै मापदण्ड पालन गरिएको छैन्।