धनगढीमा एकै रात आधा दर्जन ठाउँमा चोरी, प्रशासनकै अगाडि लाखौँको सुनचाँदी लुटियो
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा एकै रात आधा दर्जन बढि स्थानमा चोरी भएको छ। धनगढी उप–महानगरपालिकाको फुलवारीमा पाँच जनाको मोटर चोरी भएको छ भने जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि रहेको प्रिया सुनचाँदी पसलमा पनि चोरी भएको छ।
प्रिया सुनचाँदी पसलका सञ्चालक बिनोद कुमार बर्माका अनुसार झण्डै १२ लाख बढिको चोरी भएको बताए। ‘घरको छतबाट प्रवेश गर्दै पसलको भित्ता फोडेर चोरी गरिएको छ। सुन र चाँदीका तयारी गहना सबै चोरीएको छ।’ दिनेश खवरसंग बर्माले भने। प्रिया सुनचाँदी पसल जिल्ला प्रशासन कार्यालय अगाडि छ भने नजिकै जिल्ला प्रहरी कार्यालय पनि रहेको छ। प्रशासन कार्यालयको गेटमा २४ घण्टा नै सुरक्षाकर्मी खटिएका हुन्छन्।
उता उप–महानगरकै फुलवारीका पाँच जनाको घरबाट एकै रात पानी तान्ने मोटर चोरी भएको छ। स्थानीय सीमा बोहरा, लक्ष्मण फुलारा, पार्वती पडाल र देवराज भण्डारी लगायतका पाँच जनाको गएराती पानी तान्ने मोटर चोरी भएको हो। अहिले चोरीमा संग्लनहरुको खोजीका लागि बहुलिया प्रहरी चौकीबाट प्रहरी खटिएको छ। देशभरी लकडाउन घोषणा गरिए पनि धनगढीमा चोरी नरोकिएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर २ को शिक्षा कार्यालय नजिक पनि एक स्थानीयको घरमा चोरी भएको छ। डेरामा बस्दै आएका भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत हरकसिंह धामीको कोठाबाट ल्याप्टप, मोवाईल, घडी लगायतका सामान चोरी भएका हुन्। अर्को कोठामा सुतेको बेला चोरी भएको धामीले बताए।
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले प्रिया सुनचाँदी पसलमा चोरीको खवर पाएपछि प्रहरी नायव निरिक्षकको कमाण्डमा टोली खटाएको बताए। उनका अनुसार अहिले अधिकासं लागु पदार्थ सेवनकर्ता छुटेका छन्। उनीहरु नै चोरीमा संग्लन भएको आशंका गरिएको छ।