विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे
काठमाण्डाैः आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिए।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.६० प्रतिशतले कम हो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ थियो ।
पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ । २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो ।
प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढावलगायत कारण नाफा घटेको प्राधिकरणको भनाइ छ । त्यस्तै घरायसी प्रयोजनका लागि गार्हस्थ सेवाग्राहीलाई २० युनिटसम्म निःशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ ।
यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गार्हस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बिजुलीमा ५ प्रतिशत र १३ प्रतिशत मूल्यअभिवृद्धि कर लगाएका बेला उर्जामन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताएका हुन्। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्ययोजनासमेत अघि बढाइएको उनकाे भनाइ छ ।