केही डेट एक्सपायर्ड उखानहरु
खेम बतास
झट्ट हेर्दा वातावरणमा रहेका यावत चिजबिजलाई समाज भनिन्छ तर त्यो मात्र समाज बन्नलाई यथेष्ट आधार हुन सक्दैन । ढुङ्गे युगमा मान्छे फिरन्ते अवस्थामा थियो । उसले आफ्ना सिमित आवश्यकता जेनतेन गरी पूरा गर्ने गथ्र्यो । समयको उद्विकाससंगै मान्छेले एक ठाँउमा बसेर व्यवस्थित जीवन विताउन थाल्यो । त्योसँगै उसका आवश्यकता पनि दिनानुदिन वृद्धि हँुदै गए । मान्छेले निजी सम्पत्तिको जोह गर्न थाल्यो, जसको परिणाम स्वरुप उसले परिवार निर्माण गर्न थाल्यो । सम्पत्तिमा आफ्ना उत्तराधिकारीको हक दिलाउन मान्छेलाई निजी श्रीमति चाहिने भयो । उसले घरघरमा निजी श्रीमति राख्न थाले । व्यक्ति व्यक्ति मिलेर परिवार बन्यो । परिवार परिवार मिलेर समाज । मूर्त रुपमा देखिने समाज भनेको मान्छेको समूह भएपनि अमूर्त रुपमा समाज बन्न धेरै सामाजिक संस्था, संस्कार, संस्कृति, परम्परा र नीति नियमको आवश्यकता पर्दछ ।
समाज बृहत अवधारण हो । समाजमा मान्छेका मूल्य, मान्यता, विचार र भावना मिसिएका हुन्छन् । जीवनलाई सरल, सहज र सुविधायुक्त तरिकाले सञ्चालन गर्न तयार गरिएको अवधारण हो, समाज । समाजको विकाससंगै भाषाको विकास भयो । भाषाले मान्छेका विचारको आदानप्रदान गर्ने काम गर्छ । समाजको दुःख, सुख, हाँसो, रोदन, मायाप्रेम, रिस आदि मानवीय गुणलाई जिवन्त र पुस्तान्तरण गर्ने काम पनि भाषाले नै गर्छ । मान्छे कस्तो बन्ने ? कस्तो शिक्षा आर्जन गर्ने ? के के गर्न हुने काम हो ? के गर्न नहुने काम हो ? मान्छेको मनोविज्ञान निर्माण गर्ने, सौन्दर्यशास्त्रीय चिन्तन परम्पराको विकास पनि व्यक्तिले समाजबाटै सिक्यो । अहिले विश्वव्यापीकरणले सापेक्षिक रुपमा समाजको परिभाषामा परिवर्तन भए पनि निरपेक्ष रुपमा समाज भनेको मान्छेको पहिलो पाठशाला हो । मान्छेका जन्मदेखि मृत्यृसम्मका प्रत्येक क्रियाकलापको साक्षी हो, समाज ।
व्यक्तिले आपसी सहयोग,अन्तरक्रिया, प्रतिस्पर्धा गर्न उसले समाजबाट सिक्छ । संस्कृति, चालचलन, सामाजिक मूल्यमान्यता, समाज विभाजनका आधार, सचेतना, विचारको विस्तार र नियन्त्रण पनि व्यक्तिले समाजबाटै सिक्छ । समाज भनेको व्यक्तिलाई निर्माण गर्ने खुल्ला र प्रयोगात्मक विश्वविद्यालय हो । कला साहित्य पनि समाजको निर्माणमा महत्त्व राख्ने तत्त्व हो । साहित्यको जग बसाउन सहयोग गर्ने माध्यम भनेको भाषा र लोक साहित्य नै हो । लोक भनेको जनता हो भने साहित्य भनेको विचार र कलाको समिश्रणबाट बनेको सुन्दर र मिठो भोजन जस्तै हो । जसलाई जो कोहीलाई पनि ग्रहण गर्न मन पराउँछन् । त्यसैले लोक साहित्य भनेको जनताको हितकालागि तयार गरिएको अलिखित साहित्य नै भन्ने बुझिन्छ । विभिन्न विद्वानले असभ्य, अशिष्ट, बोलिचालीको परम्परित मौखिक साहित्यलाई लोक साहित्य मानेका छन् । बोलिचालिको र मौखिक साहित्यलाई लोक साहित्य भन्नु स्वभाविक भए पनि सभ्य र असभ्य, शिष्ट र अशिष्टको ट्याग लगाउने आधार कसैको छैन । कुन कुन चिजलाई शिष्ट, कस्तालाई अशिष्ट, को सभ्य को असभ्य यसको मुल्याङ्कन गर्ने भाष्य राख्ने कस्ले ? त्यसैले लोकसाहित्य पनि समाजको उद्विकासमा सहयोग गर्ने आधार चाँहि हो ।
लोक साहित्यमा उखानको स्थान महत्त्वपूर्ण रहेको छ । लोक साहित्यका विधा मध्ये उखान पनि रसिलो र चोटिलो विधाका रुपमा लिइन्छ । आकारगत हिसाबमा एउटा ठूलो कृतिले भन्न नसकेको अर्थ एउटै उखानले सरल, सहज र सम्प्रेष्य शैलीमा भन्न सक्ने भएकाले यसको महत्ता वर्तमान समयमा अझ ओजपूर्ण भएको हो । मान्छेको दैनिक जीवनका यावत क्रिया, प्रतिक्रिया र विचारको प्रवाह उखानमा मिठो र श्रृतिमधुर भाषामा रहेको हुन्छ । उखानले भाषालाई सुगठित र लचिलो बनाउनमा पनि महत्त्व राख्दछ । उखान पूर्खाले अनुजलाई दिएको सुन्दर र अनुपम गुल्दस्ता हो, जसको प्रयोग ग्रामीण समुदायमा दैनन्दिन प्रयोग गरिदै आइएको छ । तर समाज परिवर्तनशील छ, परिवर्तनशील समयमा सबै पूर्खाका अवशेषलाई आँखा चिम्म गरेर शिरोर्धाय गर्नु अनुपयुक्त हुन्छ ।
साहित्यले प्रमूखतः तीन प्रकारको शाब्दिक अर्थ प्रदान गरेको हुन्छ । अबिधा, व्यञ्जना र लक्षणा, यि तिन प्रकारको अर्थ समाहित भएर साहित्यका सबै विधा जिवन्त र कालझैँ भएका छन् । उखानले पनि लक्षणा र व्यञ्जना अर्थ जाहेर गरेको हुन्छ । अर्थतात्त्कि रुपमा नभएर समाजपरक अध्ययन गर्नु यस लघु लेखको प्रमूख उद्येश्य रहेको छ ।
सामान्यतयाः विश्वका सबै भाषामा उखानको प्रयोग भएको पाइन्छ । विश्वमा धेरै भाषा बोल्ने गरिन्छ । नेपाल त झन् भाषा र लोक साहित्यको भण्डार नै रहेको छ । यहाँ १२५ भाषा बोल्ने मानिसको बसोबास रहेको छ । पृथ्वीनारायणको राज्य विस्तारले खस भाषा र आर्य संस्कृतिसँग जोडिएको सौन्र्दयशास्त्री चिन्तनलाई मूल मान्यता प्रदान गर्यो । पृथ्वीनारायणको सपनालाई राजा महेन्द्रले अझ मलजल गर्ने काम गरे । जसको फलस्वरुप नेपाली भाषाले सरकारी कामकाज भाषाका रुपमा मान्यता पायो । त्यही नेपाली भाषा र तिनै शासक वर्गले निर्माण गरिदिएको भाष्य अहिलेको नेपाली विचारको रुपमा बिकास भयो ।
दैनिक जीवनमा मान्छेले प्रायः आफ्नो भनाईलाई छोटो, छरितो र प्रभावकारी बनाउन उखानको प्रयोग गर्ने गर्छन । उखानको प्रयोग मार्फत बोलीलाई मिठो र सरल बनाउनु आफैमा गलत कुरो हुदै होइन । तर उखानको प्रयोगले कसैको वर्ण, जात, पेशा र लिङ्गमाथि विभेद सिर्जना हुनु हुदैन । अर्थतात्त्विक हिसावले उखानले भन्न खोजेको अर्थ गलत नभए पनि त्यसको तहगत अर्थमा विभेद आउन सक्छ । समयको प्रभावसंगै कतिपय उखानको महत्ता पनि समाप्त भैसकेको हुन्छ । तर मान्छेले त्यसको प्रयोग निरन्तर रुपमा गरिरहेको हुन्छ । उखान त हो नि,उखानको प्रयोगले के नै फरक पर्ला र ? भनेर कसैको पेशा, लिङ्ग, जात र वर्णलाई होच्याउने उखानको प्रयोग गर्नु सान्दर्भिकताहीन हुन जान्छ ।
बुरी नजरवाला तेरा मुख काला : यो उखान यत्रतत्र, सर्वत्र, निशुल्क रुपमा सुन्न सकिन्छ । बस,ट्रक जस्ता यातायातका साधनको पछाडि, दाँया, वायाँ होस कि सिटको वरपर जतापनि लेखिएको उखान हो, बरी नजरवाला तेरा मुख काला । प्रत्येक दोकान र शैलुनहरुमा त झन् बढी प्रयोग गरिएको उखान हो, यो । हुन त उखानले नराम्रो नजर भएकादेखि सावधान भनेको होला । तर उखानले सिर्जना गरेको शब्दिक अर्थ हेर्दा चाँही एउटा निश्चित वर्ण भएकाहरु बुरी नजर भएका हुन्छन् भनेको छ । प्रस्तुत उखानका अनुसार, जसको नजर नराम्रो छ, त्यसको मुख कालो हुन्छ भनेको छ । त्यसो भए दुनियाँका जति कालो वर्णका मान्छे छन्, ती सबै नराम्रो नजर भएका नै हुन त ? कालो नजर भएको कुनै सरिफ आदमीले यो उखान पढ्यो (सुन्यो ) भने उसको मनमा कस्तो भाव उब्जिएला कहिल्यै हामीले कल्पना गरेका छौँ ? उसको कालो अनुहारले कसैको केही विगार गरेको छैन तर समाजले किन उसको कालो वर्णको सम्मान गरेन ? किनकि तथाकथित गोरो वर्ण भनिएको जुन वर्ण छ, त्यसैले निर्माण गरेको भाष्य हो, बुरी नजर वाला तेरा मुह काला । दक्षिण अफ्रिकाका भूपू राष्ट्रिपति नेन्सन मण्डेला पनि कालो वर्णका मान्छे थिए । तर उनले वर्णमा आधारित रहेको विभेदको अन्त्य गरी समानता र न्यायमा आधारित व्यवस्थाको स्थापना गराएका थिए । अवसर पाए त कालाले पनि गर्न त सक्दा रहेछन् । त्यसको ज्वलन्त उदाहरण हुन मण्डेला । तर स्थापित भाष्यले आफ्नो गोरो छालालाई मानक सौन्दर्यशास्त्र बनायो । आफ्नो भन्दा फरक विचार भाषा, धर्म र संस्कृतिमाथि उपनिवेश सिर्जना गर्न तमाम प्रपोगाण्डाको निर्माण गर्यो ।
के खोज्छस काना आँखो : यो उखानले शारिरीक दुर्वल भएका व्यक्तिका मनमा हीनताबोध गराउने काम गरेको छ । जीवनको लामो यात्रामा विभिन्न दैवीय र मानवीय कमजोरीले व्यक्तिको अङ्गभङ्ग हुन सक्छ । कोही जन्मदै अङगभङ्ग भएर जन्मिन सक्छ, यसरी दुर्वल भएर जन्मिनुमा उसको के दोष ? तर त्यस्ता मान्छेको सम्मान र अवसर दिनुको सट्टा मान्छेले उनको शारिरीक कमजोरीको नाममा उखान निर्माण गरेर प्रयोग गर्नु कत्तिको सान्र्दभिकता होला ? के खोज्दछ काना आँखो, उखानका अनुसार आँखो नभएको मान्छेले आँखो खोज्छ भनेको छ । तथापि त्यसले भन्न खोजेको अर्थ चिताएको वस्तु एक्कासी पाउनु हो । तर कसैसंग नभएको शारिरीक अङ्गलाई उखानको विषयवस्तु बनाउनु के राम्रो हो त ? पाश्चात्य साहित्यका महान कवि होमर, जसले इलियड र ओडिसी नामका आर्षमहाकाव्य लेखेका थिए । तिनी पनि अन्धा नै थिए । स्टेफन हकिङ, पारिजात र झमक घिमिरे आदि सबै सबै शारिरीक दुर्वल भएका महान व्यक्तित्व हुन । तिनले अवसर पायो, महान काम गरे, र इतिहासका पानामा सुनौला अक्षरमा नाम लेखाउन सफल भए । तर हामी उखानका सहयोगले कसैको जात, कसैको भाषा र कसैको वर्ण माथि व्यङ्ग्य गरी आफ्नो भाष्यलाई मात्र स्थापित गर्ने सुरमा लाग्र्यौ । के खोज्छस् काना आँखोको उखान प्रयोग गरी गरी हामी उसको आँखो नहुनु उसको कमजोरी हो भनिरहेका छौँ । हामी उसको आँखा नहुनुको मनको हीनताबोधलाई बेला बेला याद दिलाइरहेका छौँ । हामी उसलाई त आँखो खोज्दैछस् काना भनेर ऊ भन्दा आफू सभ्य र विशिष्ट सावित हुन खोजिरहेका छौँ । तर व्यवहारमा कसैलाई अपमानीत सावित गरी ।
नहुनुभन्दा कानो मामा जाती : यो उखानले पनि शारीरिक कमजोरी भएको मान्छेलाई मनोवैज्ञानिक रुपमा कमजोर बनाएको छ । भए त राम्रै होस तर नहुनु भन्दा चाही कानो भए पनि हुन्छ । यसले अपाङ्ग भएका मान्छेलाई सपाङ्ग मान्छेको विकल्पका रुपमा लिएको छ । पहिलो प्राथमिकता चाँहि सपाङ्ग तर सपाङ्ग नभए चाँहि अपाङ्ग भए पनि हुन्छ भनेको छ । सबै मान्छे सबैलाई समान अवसर दिनुपर्छ भन्नुको साँटो कसैलाई प्रथम श्रेणी र कसैलाई तृतीय, त्यो पनि क्षमता र योग्यतालाई ख्यालै नगरी । केवल हेराइको आधारमा । कसको आँखा छ ? कसको छैन ? कस्को नाक लामो छ ? कस्को थेप्चो ? को हेर्दा गोरो छ ? को कालो छ ? आदि इत्यादिलाई उखानको भाष्य बनाउनु कतिको न्यायपूर्ण होला ।
आज लाटी घट्टै भोल लाटी घट्टै ( मुर्ख र बुद्धिहीन स्त्रीले सधैँ एकैकाम गर्छ )
लाटी भनेको बोल्न नजान्ने स्वास्नीमान्छेलाई जनाउँछ । उखानले लाटो मान्छेको बुद्धि हुदैन, तिनीहरु मुर्ख हुन्छन् भनेको छ । विशेष गरी स्त्री जाति बुद्धिहीन र मूर्ख हुन्छन् जसले सधैँ जसो एकै काम गरेर जीवन गुजारा गर्छन भन्ने भावार्थ व्यक्त गर्छ, उखानले । जिब्रोको काम शब्द उच्चारण गर्नु हो । तर समाजमा वर्षैदेखि छाउपडिको छाउगोठमा मृत्यु भैरहेको छ । गरिब स्वास्नीमान्छेलाई बोक्सी र डाइनाको आरोपमा आँखै अगाडि गुहु मुत खुवाइरहेको छन् तर जिब्रो हुनेहरु एक शब्द बोल्दैनन् भने अब त्यो जिब्रोको के काम ? भएको जिब्रोको सहि ठाँउमा इस्तमाल नगरी मान्छे जिब्रो नभएकालाई हीनताबोध र अपमानित गरिरहेका छन् । लाटोगाणो भनि तिनको शारीरिक दुर्बलताको खिल्ली उडाइरहेका छन् । यो कतिको असल काम हो ?
चेली दिने र छाँच(मोही) दिनेको जस हुदैन : यो डोटेली भाषाको चर्चित उखान हो । महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन् यो उखान पनि समाजमा सुन्न सकिन्छ । तर व्यवहारमा यसको भावार्थ कार्यान्वयन गरिएको पाइदैन । यदि पाइन्थ्यो भने, चेली दिने र छाँच दिनेको जस हुदैन जस्ता उखानको जन्म नै हुने थिएन कि ? प्रस्तुत उखानका अनुसार, छोरी दिने र मोही दिनेको कुनै जस हुदैन । किनकि ति चिज अरुलाई दिनैका लागि बनेका हुन्छन् भनेको छ । दुधबाट दहि बन्छ, दहिबाट घिऊ, घिऊ निकालेर बाँकी रहेको चिज हो मोही । मोहीलाई बाँकी काममा लगाउन सकिदैन । त्यो अन्ततः फाल्ने नै हो । त्यस्तै, चेली पनि अर्काको घरमा जाने जात हो । त्यो दिने मान्छेको खासै केही जस हुदैन उखानले यही भन्छ । कसैले छोरी दिएरै मेरो घर बनेको छ । म पनि कुनै स्त्री जातिबाटै जन्मिेको हुँ । रथको एक पाङ्ग्रा पेन्चर भए गन्तव्यसम्म पुग्न सकिदैन भन्ने कुरा बुझेर पनि मान्छे किन बुझ पचाइरहेको होला ? किनकि मान्छे जतिको दम्भ भएको प्राणी दुनियाँमा अरु कोही छैन । त्यसकारण मान्छेले स्वास्नीमान्छेलाई मूल्यहीन बस्तुमा रुपमा व्यवहार गर्छ ।
स्वास्नीको भर नै स्वास्नी विजाँइ घर नै : यो उखानले पनि नारी अस्मिताको खिल्ली उडाएको छ । उखानले भन्छ, “स्वास्नीहरु अविश्वासी हुन्छन्, यिनको विस्वास गर्नु हुदैन । यिनी त केवल घर चलाउन, आफ्नो सम्पत्तिको उत्तराधिकारी उत्पादन गर्न बनाइएका साधन मात्र हुन ।” पितृसत्ताले आफ्नो सत्तालाई टिकाइराख्न यो भाष्यको निर्माण गरेको हो । पुरुषले आफ्नो मुक्ति चाहान्छ भने यो भाष्यको अन्त्य गर्न जरुरी छ । नत्र भने भर नै नगरेको स्वास्नीमान्छेसंग दैनिक एकै ओछ्यानमा सुत्छ, पुरुषसत्ता । कति खेर पुरुषकोसत्ता ढल्छ के बेर ?
खुट्टा भए जुत्ता कति कति : हो, गोजीमा दाम भए गोडामा किसिम किसिमका जुत्ता लगाउनु व्यक्ति स्वतन्त्रताको कुरा हो । तर उखानले भनेको भावार्थ यसो होइन । उखानले भन्छ, पुरुष भए, उसले धेरै श्रीमति भित्र्याउन सक्छ । यो उखानले बहुपत्ति प्रथालाई मान्यता दिएको छ । भने अर्कोतिर नारी अस्मितालाई एउटा जुत्ताको दर्जा दिएको छ । बजारबाट किसिम किसिमका जुत्ता किने जस्तै श्रीमति पनि मनलागि किन्न सकिन्छ, उखानले यहि भन्छ । यो उखानले पनि महिलाको अस्तित्वलाई बजारका सस्ता बस्तुसंग तुलना गरेको हुनाले यसको महत्तापनि समाप्त भएको छ, वर्तमान समयमा ।
पैसा भए माइजु तुइ माउकी ( श्रीमति)
यो उखानले स्वास्नीमान्छेको चरित्रलाई शंकाको नजरले हेरेको छ । उखानले भन्छ, धन सम्पत्ति छ भने स्वास्नीमान्छे जति र जुन पनि भोग गर्न सकिन्छ । बजारमुखि मान्छेको चरित्रलाई उखानले अझ मजबुत बनाएको छ भने अर्कोतिर महिलाले पैसा हुनेसंग सजिलै नाता जोड्न र तोड्न सक्ने प्राणीका रुपमा अथ्र्याएको छ । महिलाले सामाजिक मूल्यको पनि ख्याल गदैनन् उनीहरु सम्पत्तिको पछि मात्र दौडिन्छन् भन्ने अर्थ जाहेर गरेको हुनाले यो उखान पनि डेट एक्स्पायर औषधि जस्तै भएको छ ।
जात प्रथाको विकास कसरी भयो ? यो प्रश्नको उत्तर दिनु यो लेखको उद्ेयश्य होइन । तर पनि मनुस्मृति, अम्बेड्करको जातको पिनास र जङ्ग बहादुरको मुलुकी ऐन ( १९१०) सबैले पढेकै होला । आहुतिको नेपालमा वर्णव्यवस्था र वर्ग सङ्घर्ष झन् कसैले छुटाएकै छैन होला भन्ने मेरो विश्वास रहेको छ । जातिका आधारमा रहेका केही विभेदकारी उखानहरु यस्ता छन्
भैसो हते डुम सते
यो उखान पनि डोटेली भाषाको उखान हो । उखानले दलित जातिलाई अपमानित सावित गरेको छ । उखानका अनुसार “पाडो मरेको दुध दिने भैसी कतिखेर लात हान्छ थाहा हुदैन । त्यसै दलित जातिको साथी पनि कतिखेर धोका दिन्छ थाहा नहुने भएकाले ति दुबैसँग सजग रहनु । ” नेपालको समाज व्यवस्थामा दलित जाति सबैभन्दा अपमानित भएको जाति हो । उत्पादनका साधनमा उनीहरुको हक खोसेदेखि तिनले सदैव गरिबीको रेखामूनि परेका छन् । विकासका पूर्वाधारमा पहुच पुग्नु त परको कुरा हो, आधारभूत आवश्यकता समेत प्राप्तमात्रामा उपभोग गर्न पाएका छैनन् । सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा दलनमा पारिएका दलित जातिलाई नै अपमान गर्न खालका उखान निर्माण गरी नेपाल सामन्तवादी राज्यव्यवस्थाले आफ्नो भाष्यलाई सहि सावित गर्न खोजेका छन् । भारतको संविधान भीमराव अम्बेडकरले लेखेका हुन्, जो जातका आधारमा दलित नै थिए । अहिलेका भारतका चर्चित कम्युनिष्ट नेता कन्हैया कुमार पनि दलित परिवारकै हुन् । त्यसैले कसैलाई जातका आधारमा सानो ठूलो भनेर भेदभाव गर्नु, कसैका जातलाई होच्याउने किसिमले उखानको प्रयोग गर्नु अमानवीय काम हो । महाकवि देवकोटाको मुनामदनको श्लोक छ, क्षेत्रीको छोरो यो पाउँ छुन्छ, घिनले छुदैन । मानिस ठूलो दिलले हुन्छ जातले हुदैन्
उनको यो पङक्तिको भावार्थलाई ख्याल गरेर अगाडि बढे सबैको कल्याण हुन्छ । पृथ्वी सबैको साझा घर भएकोले सबैले सम्मानपूर्वक बाँच्न पाउनु उसको नैसर्गिक अधिकार हो ।
डुम माग्द जान्नाइन् पिला हुन जान्नाइन : मान्छेको शरिरमा निस्किने खटिरोलाई सामान्यतः पिलो भनिन्छ । पिलो जतापनि हुनसक्छ । विशेषगरी गुप्ताङ्गतिर हुने भएकाले पिलोलाई सबैलाई सजिलै देखाउन पनि नसकिने भएकाले डोटेली समाजमा पिलो हुन जान्दैनन् भनिएको होला । त्यसै दलित जाति पनि जति खेर जे पनि माग्न सक्छन्, तिनीहरु माग्ने जात हो भनि सामान्तवादीले दलितलाई माग्ने जातिको रुपमा परिचय दिन यो उखानको प्रयोग गर्ने गर्छन । नेपाली समाज प्रमूखतयाः जात व्यवस्थामा आधारित छ । जात व्यवस्थाकै आधारमा सौन्दर्यशास्त्रका नियमहरुको पनि विकास, विस्तार र प्रयोग गर्न थालिएको भेटिन्छ । माग्ने काम दलितले मात्र गर्दैनन् तथाकथित उच्च जातकाले पनि गर्छन तर दलितले माग्दा त्यो माग्नेलाई दिने वस्तुलाई खलोका रुपमा लिइन्छ तर अन्य जातिले माग्दा चाँहि यसलाई सम्मान जनक रुपमा निश्रा भन्ने गरिन्छ । मागेको समानवस्तु भए पनि अन्यले माग्दा त्यो निश्राका रुपमा लिइन्छ । दलितले माग्दा चाँहि खलो भन्ने चलनको विकास गरी दलितलाई माग्ने जातिका रुपमा प्रचार गरिएको भेटिन्छ । त्यसैले कुनै पनि जातलाई अपमानित सावित गरी उखान टुक्का बनाइ आफ्नो भाष्यलाई मजबुत बनाउनु गलत हो ।
आफू मरे डुमै राजा : नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । तर विगतमा नेपालमा लामो कालखण्ड राजाले शासन सत्ता सञ्चालन गरेका थिए । उखानले भन्छ, जबसम्म आफू छु तबसम्म आफै सर्बेसर्वा बन । यदि आफू मेरे चाँहि डुमै राजा भए पनि बाल मतलब । अथवा बाँचुन्जेल आफै राज गर दलितलाई माथि उठ्न नदेउ । तिनीमाथि कुशासन गरिराख, तर आफू नभए जेसुकै होस् । त्यसैले वर्तमान सन्दर्भमा नेपाली समाजमा आफू मरे डुमै राजा भन्ने उखानको प्रयोग समाप्त भएको छ । अहिले नेपालको कार्यकारी पदमा जुनसुकै जात, धर्म, भाषाभाषी र क्षेत्र समुदायको मान्छे राष्ट्रप्रमूख बन्न सक्छ । त्यसैले कसैको जातमाथि अपमान सावित गरि उखानको प्रयोग गर्नु निन्दनिय रहेको छ।
सुदूरपश्चिममा रहेका विभिन्न जिल्लाको आफ्नै सामाजिक चालचलन र संस्कृति रहेको छ । प्रत्येक क्षेत्रका मान्छेको भाषिक र सांस्कृतिक विविधताले सिङ्गो सुदूरपश्चिम प्रदेशको संरचना निर्माण भएको छ । क्षेत्रगत आधारमा पनि केही गलत उखानको प्रयोग गर्ने गरिन्छ जस्तै : आगलागौँ बाग लागौ बैतड्या जन्लागौ, अछामी हरामी, जाउला डोटी आउला रोटी फर्कि आउदा धोति न टोपी, गर्सीडी मित्त्तुर झङ्कर्या साग, अघि लाउना गिदिमिदी पछिलाउन झाल आदि ।
अन्त्यमा, नेपाल सबै प्रकारका जातजाति,भाषाभाषी भएका मान्छेको साझा कर्म र जन्मथलो हो । यसको विकास, विस्तार गर्नु प्रत्येक नेपालीको दायित्व हो । आपसमा मिलेर बस्नु नेपालीको पहिलो विशेषता हो । विविधतामा एकता नेपालीको पहिचान भएकोले सबैको पहिचानलाई सम्मान गरि नेपालको भलाई सोच्नु नेपाल आमाको सच्चा सपूतको काम हो । कुनै जात, भाषा, धर्म, र लिङ्गलाई अपमान सावित हुने उखानको प्रयोग गर्नु अशोभनिय हुने भएकोले यस्ता उखानको प्रयोग छोड्नु जरुरी छ।