धनगढीमा दुई स्टाफ नर्सको मृत्यु, अझै खुलेन रहस्य
धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक महिनाको अवधीमा दुइृ जना स्टाफ नर्सको मृत्यु भएकोमा अहिले सम्म मृत्युको रहस्य खुलेको छैन्। पुस १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १० घर भई हाल धनगढीमा बस्दै आएकी स्टाफ नर्स सोनम ऐर र माघ १३ गते २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठको मृत्यु भएकोमा अहिले सम्म रहस्य नखुलेको हो।
सोनमको शवको पोष्टमार्टपछि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा भिसेरा परिक्षणका लागि पठाईएको थियो। पोष्टमार्टले मात्रै घटनाको अनुसन्धान गर्न असहज भएपछि भिसेरा परिक्षणका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाउँदै आएको छ।
‘पोष्टमार्टम रिर्पोटमा हत्या भएको हुन सक्ने देखाईएको छैन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले दिनेश खवरलाई भने, ‘रिर्पोटमा शरिरमा चोटपटक लागेको देखिएको छैन्। उनीमाथि जवरजस्ती भएको पनि देखाएको छैन्। तर अहिले नै हत्या वा आत्महत्या के हो ? भन्न सकिदैन्।’ भिसेरा परिक्षणको रिर्पोट आएपछि मात्रै अनुसन्धानमा सहजता हुने उनले बताए।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठ भने धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित डेरामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्। उनका श्रीमान भारतीय नागरिक बिक्की अग्रवालविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा परेपछि अहिले उनी पुर्पक्षका लागि थुनामा छन्।
के हो सोनमको घटना ?
पुस १२ गते साँझ मात्रै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १० की सोनम ऐरले आमा (हिरा) लाई फोन गरिन्। सन्चो बिसन्चोका कुरा सकिएपछि उनले आमालाई १७ गते लोकसेवाको आवेदन भर्न महेन्द्रनगर आईरहेको जानकारी गराईन्। दोश्रो दिन विहानै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरमा आफ्नै डेरामा सोनम मृत फेला परेको खबर आयो तर हिरालाई विश्वास लागेन्।
त्यसैमा सोनमले आत्महत्या गरेको आशंका, पत्याउनै मुस्किल थियो। लगत्तै धनगढी आईन् तर मृत छोरीलाई हेर्न सक्ने हिरामा आँट भने थिएन्। १२ वर्ष अगाडी श्रीमानको मृत्युपछि एक छोरा र एक छोरीको लालनपालनका लागि कम समस्या थिएन् हिरालाई। आफन्तको सहयोगसंगै ऋण खोजेर छोरीलाई स्टाफ नर्स बनाएकी हिराले जिवनमा कहिल्यै पनि छोरीको मृत्युको खबर सुन्नु पर्ला भन्ने कल्पना समेत गरेकी थिईनन्। तर २० वर्षको कलिलो उमेरमै छोरी गुमाएपछि हिरालाई अहिले असह्य पीडा छ।
थुप्रै समस्यासंग जुध्दै आमाले स्टाफ नर्स बनाएपछि सोनमले पनि धनगढीको निसर्ग र नवजिवन अस्पतालमा काम गर्दै आएकी थिईन्। उनको नीजि अस्पतालकै जागिरमा पनि ऐर परिवार निकै खुसी थियो। त्यसैमा सोनम सरकारी जागिरका लागि पनि तयारी गर्दै आएकी थिईन्। तर एक दिन अगाडी सम्म हासीखुसी कुरा गर्ने सोनम सधैका लागि अस्ताएको खवरले ऐर परिवार मात्रै होईन छिमेकी र आफन्तलाई पनि मर्माहत बनाएको थियो।
दिनेश खवरसंग कुरा गर्दै सोनमकी आमा हिराले भनेकी थिईन्, ’मृत्युको खवर आएको एक दिन अगाडी मात्रै मसंग कुरा भएको थियो। कुराकानीको क्रममा एक पटक पनि सोनमलाई तनाव छ जस्तो लागेन मलाई। अहिले आत्महत्याको आशंका समेत भईरहेको छ। तर म उस्की आमा हुँ, मेरी छोरीले आत्महत्या गर्दै सक्दिन।’
देविकाको घटना के हो ?
पुस १३ गते स्टाफ नर्स सोनम मृत फेला परेकी थिईन भने ठिक एक महिना पछाडी माघ १३ गते नै धनगढीमै अर्की स्टाफ नर्स मृत फेला परिन्। धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २३ बर्षीय स्टाफ नर्स देविका श्रेष्ठ धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित डेरामा झुण्डिएको अवस्थामा मृत फेला परिन्।
१६ महिना अगाडी दाङको घोराहीमा रहेको एक अस्पतालमा कार्यरत रहँदा भारतीय नागरिक बिक्की अग्रवालको पनि सोही अस्पतालमा उपचार भईरहेको थियो। अस्पतालमै उपचार गराईरहेको समयमा बिक्की र देविका नजिकिए। दुवै जना सामाजिक सञ्जाल फेसवुकमा पनि जोडिए।
कुरा गर्दागर्दै दुवै एकअर्काको प्रेममा परे र १५ महिना अगाडी कसैलाई पनि जानकारी नदिएर भागी विवाह गर्दै धनगढी आए। पहिले नै विवाहित बिक्कीले पनि आफ्नो घरबाट सम्पर्क टुटाए भने देविका पनि आफन्त र साथीहरुसंग पूर्णरुपमा सम्पर्क्विहिन भईन्। योबिचमा दुवै जनाले पुरानो फेसवुक समेत डिएक्टिभ गरिसकेका थिए।
देविकाका आफन्तले जिल्ला प्रहरी कार्यालय दाङमा खोजतलासका लागि निवेदन दिएका थिए र उनको खोजी समेत भईरहेको थियो। भागी विवाह गरेर धनगढी बस्दै आएका बिक्की र देविकाबिच १५ महिनाको अवधीमा विवाद भने बढ्दै गएको थियो। माघ १३ गतेपनि माया मेट्रो अस्पतालमा ड्युटी सकिएपछि बिक्कीले नै देविकालाई कोठा सम्म पुगाएका थिए।
सो क्रममा पनि उनीहरुबिच सामान्य विवाद भएको थियो। स्थानीयका अनुसार अस्पतालबाट ल्याएर देविकालाई कोठामा छोडेर बिक्की बाहिर निस्किएका थिए। सोही समयमा उनले झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको छ।