धनगढीमा हुने विकास सम्मेलनको तयारी पूरा
धनगढी: धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने विकास सम्मेलनको तयारी पूरा भएको छ। उप–महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन मार्फत १८ गते हुने विकास सम्मेलनको तयारी पूरा भएको जनाएको हो। धनगढी उप–महानगरपालिकाका प्रमुख नृबहादुर वडले विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गर्ने बताए।
सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट प्रस्तुत हुने नगर प्रमुख वडले जानकारी दिए। यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य बनाउन एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टका अनुसार नगरको विकासका लागि नागरीक संग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने छ।
नगरको विकासका लागि ज्ञान र स्रोत बढाउनलाई विकासको साझेदारहरुको दायरा फराकिलो बनाईने लगायतका विषयवस्तुहरु समावेश गरिने उप–प्रमुख भट्टले बताईन्। प्रस्तुत गरिने परियोजनाहरु सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुलाई समुन्वय गरी दु्रत प्रभाब छोटो अबधि र लामो अबधि गरि तिन भागमा पहिचान गरीने बताईएको छ।