सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले तोकेको मूल्य नपाउँदा कञ्चनपुरका उखु किसानलाई २० करोड घाटा लाग्ने

२०७६ पुष २०, १०:५० नवराज पनेरु

सरकारले निर्धारण गरेको उखुको मूल्य नपाउँदा कञ्चनपुरका किसानलाई यस बर्ष मात्रै झण्डै साढे २० करोड घाटा लाग्ने देखिएको छ। सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेपनि चिनी मिलहरुले सस्तोमा खरिद गर्दा २० करोड ५१ लाख किसानहरुलाई घाटा लाग्ने देखिएको हो।

सरकारले उखुको समर्थन मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैया ५६ पैसा निर्धारण गरेपनि कञ्चनपुरका किसानहरु भने निकै सस्तोमा उखु विक्री गर्न बाध्य छन्। प्रति क्वीन्टल ६५ रुपैँया २८ पैशा सरकारले नै अनुदान रकम उखु किसानहरुलाई उपलव्ध गराउने भएकोले चिनी मिलहरुले किसानलाई प्रति क्विन्टल ४ सय ७१ रुपैँया २८ पैशा दिनु पर्ने हो।

तर उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरका अनुसार जिल्लामा रहेका महाकाली र भागेश्वर चिनी मिलहरुले भने अर्ली उखुको ४ सय ४१ र जनरल उखुको ४ सयदेखि ४ सय १६ रुपैँया मात्रै दिईरहेका छन्। 

कञ्चनपुरका दुई चिनी मिलहरुलाई गत बर्ष मात्रै किसानहरुले ३६ लाख ४४ हजार क्विन्टल उखु बिक्री गरेकोमा यो बर्ष क्षेत्र विस्तार र उत्पादन राम्रो भएकोले ४० लाख क्विन्टल उखु विक्री गर्ने लक्ष्य राखेको समितिका सचिव रामकिसन रानाले बताए। सरकारले निर्धारण गरेको मूल्य पाए चिनी मिलहरुबाट एक अर्व ८८ करोड ५० लाख पाउनुपर्ने हो तर चिनी मिलहरुले सस्तोमा उखु खरिद गर्दा उनीहरुले एक अर्व ६८ करोड मात्रै पाउने देखिएको छ।

‘सरकारले ढिलो गरी मूल्य निर्धारण गरेको कारण सस्तोमा उखु विक्री गर्न बाध्य भएका थियौँ,’ उखु उत्पादक किसान हकहित संरक्षण समिति कञ्चनपुरका सचिव रानाले भने, ‘अहिले सरकारले समर्थन मूल्य निर्धारण गरेपनि सो कार्यान्वयन नहुँदा करोडौ घाटा लाग्ने देखिएको छ।’

विगतका बर्षमा सरकारले न्यूनतम खरिद मूल्य भनेपनि यस बर्ष समर्थन मूल्य भनेका कारण चिनी मिलहरुलाई आफुखुसी मूल्य तोक्न सजिलो भएको तर्क उनको छ। उनका अनुसार समर्थन मूल्य निर्धारण भएकोले चिनी मिलहरुलाई लागु गर्न बाध्यकारी छैन्।

यता चिनी मिलहरुले भने समर्थन मूल्य निर्धारण गर्दा कुनै अध्ययन र छलफल नभएको गुनासो गरेका छन्। भागेश्वर चिनी मिलका सञ्चालक शंकर बोगटीले सुदूरपश्चिममा उत्पादन हुने उखु र पूर्वी नेपालमा उत्पादन हुने उखुमा धेरै फरक भएकोले ठाउँ अनुसार मूल्य निर्धारण हुनुपर्ने बताए। 

‘सुदूरपश्चिममा अर्ली उखुको खेती निकै न्यून हुने भएकाले सरकारले निर्धारण गरेको मूल्य कार्यान्वयनमा समस्या छ,’ उनले भने, ‘अर्ली उखुले क्विन्टलमा ११ किलो चिनी उत्पादन हुने र जनरल उखुबाट ८ किलो मात्रै उत्पादन हुने गरेको छ।’ यस्तै कञ्चनपुरकै महाकाली चिनी मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भने सरकारले निर्धारण गरेको दिनदेखि सरकारी मूल्यमै उखु खरिद भएको दावी गरे।

उनले सरकारले मूल्य निर्धारण गर्नुपूर्व अर्ली उखुको प्रति क्विन्टल ४ सय ४१ र जनरलको ४ सय १६ रुपैँया दिएको बताउँदै मूल्य निर्धारणपछि भने ४ सय ७१ अनुसार नै खरिद गर्दै आएको दावी गरे।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस