औषधी खरिदको टेण्डरमा गेटा आँखा अस्पतालका कर्मचारीको पनि मिलोमतो
औषधी खरिदको टेण्डरमा कैलालीको गेटा आँखा अस्पतालका कर्मचारीको पनि मिलोमतो रहेको आशंका गरिएको छ। टेण्डर हत्याउन धनगढीको अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको भेटिएपछि आँखा अस्पतालका कर्मचारीको मिलोमतो समेत रहेको आशंका गरिएको हो।
गेटा आँखा अस्पतालले प्रत्येक बर्ष औषधी खरिदका लागि खोल्ने टेण्डर धनगढीको अमित मेडिसिनले पाउँदै आएको छ। मेडिसिनले आँखा अस्पतालका कर्मचारीसंग मिलोमतो गर्दै प्रत्येक बर्ष टेण्डर आफुलाई पार्न सफल भईरहेको समाचार स्रोतको दावी छ।
अमित मेडिसिनले टेण्डर पार्नकै लागि कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको भएपनि गत आर्थिक बर्षमा समेत औषधी खरिदको टेण्डर अमित मेडिसिनलाई नै दिईएको थियो। अहिल आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन सुरु गरेपछि आखाँ अस्पतालका लेखा र स्टोर शाखाका कर्मचारी पनि अमित मेडिसिनलाई निर्दोष सावित गर्न लागिपरेका छन्।
गत बर्षको टेण्डरका लागि पेश गरिएको किर्ते प्रमाणपत्रको स्थानामा केही दिन अगाडी मात्रै अर्को प्रमणापत्र पेश गरेर अमित मेडिसिनलाई बचाउने प्रयास भएको हो। यता आन्तरिक राजश्व कार्यालय कैलालीका प्रमुख चन्द्रकुमार श्रेष्ठले अर्को प्रमाणपत्र पेश गरे पनि दोषी उम्किन नपाउने बताए। उनले उक्त टेण्डरमाथि छानविन जारी रहेको बताए।
यता गेटा आँखा अस्पतालका निर्देशक डाक्टर सुरेश पन्तले टेण्डरमा अस्पतालको तर्फबाट कुनै पनि किसिमको मिलोमतो नरहेको दावी गरे। ‘आन्तरिक राजश्व कार्यालयले गरिरहेको छानविन अमित मेडिसिनको बारेमा हो,’ डाक्टर पन्तले भने, यस्मा आँखा अस्पतालको कुनै संग्लनता छैन्, ‘कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको भेटिएपनि त्यस्मा छानविन गर्ने जिम्मेवारी हाम्रो होईन्।’
अमित मेडिसिन डिस्ट्रीब्युटर्सका सञ्चालक दुष्यन्त बस्नेतले भने आफ्नो सफलता देख्न नसक्नेले फसाउने चलखेल गरिरहेका दोह¥याए।