सुदूरपश्चिमको भौतिक मन्त्रालयले झण्डै एक करोडमा खरिद गरेको गाडी चार महिनादेखि थन्कायो
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले झण्डै एक करोड खर्च गर्दै खरिद गरेको गाडी चार महिनादेखि थन्काएर राखेको पाईएको छ। गत असारमा दुई करोड ९० लाखमा सिप्रदी टाटा स्टोमका तीन वटा गाडी खरिद गरेको मन्त्रालयले एउटा गाडी भने स्वरुममै थन्काएको पाईएको हो।
स्वरुममा थन्काएको उक्त गाडीको भुक्तानी दिदै नामसारी गरी नम्बर प्लेट पनि लिएको छ तैपनी चार महिनादेखि गाडी मन्त्रालयले कार्यालयमा लिएको छैन्। मन्त्रालयले सोही गाडीसंगै खरिद गरेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ३१३ र ३१४ नम्बरको गाडी भने यसअघि नै प्रयोगमा ल्याएको छ।
सुदूरपश्चिम प्रदेश ०१००१ झ ३१५ नम्बरको गाडीको भुक्तानी गरेर पनि मन्त्रालयले स्वरुममै थन्काएको हो। नयाँ खरिद भएको सुदूरपश्चिम प्रदेश ०१००१ झ ३१३ नम्बरको गाडी सचिव इन्द्रदेव भट्टले प्रयोग गर्छन भने ३१४ नम्बरको गाडी अन्य कर्मचारीले प्रयोग गर्ने गरेका छन्।
चार महिनादेखि नयाँ खरिद गरेको गाडी स्वरुममै थन्काएपछि करारमा राखिएका चार मध्ये एकजना चालक काम वीहिन भएको मन्त्रायल स्रोत बताउँछ। स्रोतका अनुसार सचिव इन्द्रदेव भट्टको स्वार्थका कारण भुक्तानी दिएर पनि गाडी स्वरुमबाट नल्याईएको हो।
तर सचिव भट्ट भने प्रतिक्रिया माग्न खोज्दा सम्पर्कमै आउँदैनन्। उनले मन्त्रालयले करारमा भर्ना गरेका चारजना सवारी चालक मध्ये काम वीहिन भएकालाई हटाएर आफू निकटका व्यक्तिलाई भर्ना गर्न खोजेको आरोप लागेको छ।
यद्यपी अहिले काम विहिन भएका चालकले पाउने सेवा सुविधा भने दिईरहेको छ। मन्त्रालयले चार महिना सम्म गाडी स्वरुमबाट नल्याएपछि आवश्यकता नहुँदा नहुँदै बजेट खर्च गर्न मात्र खरिद गरेको आशंका पनि गर्न थालिएको छ।
तर मन्त्रालयको स्टोर शाखाका नायब सुब्बा रामचन्द्र भट्टले महाशाखा प्रमुखका लागि उक्त गाडी खरिद गरिएको बताए। ‘अहिले महाशाखा प्रमुख नभएकाले गाडी स्वरुममै राखिएको हो,’ भट्टले भने। भट्टले कुन महाशाखा प्रमुखका लागि गाडी खरिद गरिएको हो भन्ने कुरा खुलाएनन्।