यसवर्ष कस्तो भयो फूलको व्यापार ?
धनगढीः यसवर्ष धनगढीमा तिहारका लागि सयपत्री फूलको अभाव भएन। स्थानीय उत्पादन बढेसँगै बजारमा फूलको पर्याप्त आपूर्ति भयो। तर, पुष्प व्यवसायीले भने अपेक्षाअनुसार आम्दानी गर्न नसकेको बताउका छन्। तिहारको तिथि ढिला हुनु र बीचमा परेको वर्षाका कारण सयपत्री फूल खेतमै ओइलाएको र कुहिएर खेर गएको व्यवसायीको गुनासो छ।
वर्षाका कारण फूलको गुणस्तरमा समेत असर परेपछि व्यवसायीले लगानीअनुसारको आम्दानी गर्न नसकेको बताएका छन्। पुष्प व्यवसायी गीता बिष्टले यसवर्ष आफूले उत्पादन गरेको सबै फूल बिक्री गर्न नसकेको बताइन्। खेतमै फूल कुहिएर खेर जाँदा अपेक्षाअनुसार आम्दानी गर्न कठिन भएको उनको भनाइ छ।
पुष्प व्यवसायी शंकर बिष्टका अनुसार यसवर्ष फूलको उत्पादन र बजारमा आपूर्ति पर्याप्त भए पनि वर्षा र तिहार ढिला हुँदा बिक्रीमा असर परेको हो। पानीका कारण फूल छिट्टै फक्रिने, ओइलाउने र लामो समयसम्म टिक्न नसक्ने समस्या देखिएको उनले बताए।
प्लास्टिकका मालामा बन्देज लगाइएकाले स्थानीय पुष्प व्यवसायीले बजार भने पाएका छन्। व्यावसायिक रूपमा फूल खेती गर्नेहरूले उत्पादन गरेका फूलसँगै घरघरमा आफैँले लगाएका फूलसमेत बिक्री भएका छन्। तर, बजारमा फूलको माग हुँदाहुँदै पनि मौसम प्रतिकूल हुँदा अपेक्षित नाफा कमाउन नसकिएको व्यवसायीको भनाइ छ।
विगतमा तिहारमा धनगढीमा फूलको अभाव हुँदै आएको थियो। तर, प्लास्टिकका मालामा रोक लगाइएपछि पुष्प व्यवसायमा किसानहरुको आकर्षण बढ्दै गएको छ। जसका कारण फूल अभावको समस्या हट्दै गएको छ।