देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ
काठमाडौंः रुपन्देहीमा परम्परागत देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवनकी २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।