सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मृगौला विरामीका लागि डायलासिसकै लागि सास्ती

२०७६ भदौ ११, ०४:३३ नवराज पनेरु

आजिवन निशुल्क डायलासिस गर्ने सरकारी घोषणा सुदूरपश्चिमका मृगौला विरामीका लागि आकासको फल जस्तै भएको छ। सरकारले २०७३ सालको बैशाखमा आजिवन निशुल्क डायलासिस गर्ने निर्णय गरेपनि त्यस्को तीन बर्ष पुगिसक्दा समेत सुदूरपश्चिमका विरामीले डायलासिस सेवा नपाएका हुन्।

प्रदेशका डायलासिस गराउनुपर्ने विरामीले सेती अस्पताल बाहेक अन्य कुनै पनि स्वास्थ्य सस्थामा डायलासिस सेवा नहुँदा हप्तैपिच्छे अन्यत्र जानुपर्ने बाध्यता रहेका छ। सेती अस्पतालमा पनि विरंग हेल्थ केयर प्रालिले डायलासिस सेवा सञ्चालन गरिरहेको छ।

अस्तालसंगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिएपनि विरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसीनहरु थप गर्ने उल्लेख गरिएको थियो। ‘अहिले ५ वटा मेसीनमात्रै सञ्चालनमा रहेका छन्,’ सेती अस्पतालको डायलासिस वार्डकी ईन्चार्ज विना चौधरीले भनिन्, ‘अन्य मेसिन विग्रिएका छन्, केही समयमै मर्मत गरिनेछ।’

यता विरामीहरुले डायलासिसका लागि पालै नपाउने समस्या रहेको छ। डायलासिस गराउँदै गर्दा सेती अस्पतालमा भेटिएका देवेन्द्र जैशीले भने–‘डायलासिसका लागि हप्ताको दुई पट आउनुपर्छ, ५ वटा मेसिन मात्रै सञ्चालनमा रहेकोले कहिले पालो नै नआउने समस्या छ।’ सेती अस्पतालमा लिफ्ट समेत विग्रिएको महिनौ वितिसक्दा समेत मर्मत नहुँदा डायलासिस वार्ड सम्म पुग्न पनि निकै कठिन भईरहेको उनले गुनासो गरे। 

सेती अस्पतालको डायलासिस सेवा समेत प्रभावकारी नहुँदा सुदूरपश्चिम प्रदेशका अधिकासं मृगौलाका विरामीले डायलासिसका लागि नेपालका अन्य प्रदेशका अस्पताल र भारतका विभिन्न अस्पतालमा धाउनुपर्ने बाध्यता छ। ‘सरकारले निशुल्क भनेको डायलासिस प्रदेशमा शुल्क तिरेर पनि पाउने अवस्था नभएपछि भारतमा हजारौ खर्च गरेर हप्तैपिच्छे डायलासिस गराईरहेकी छु,’ कञ्चनपुरकी सोनु सिनालले भनिन्, ‘हप्ताको दुई पटक भारतको खटिमा गएर डायलासिस गराउँदै आएकी छु, सेतीमा धेरै समय पालो कुरे, पालो आएपछि विशेषज्ञ डाक्टर नहुँदा समस्या भयो।’

सेती अस्पतालमा डायलासिसका लागि डेढ बर्ष पहिले मात्रै दुई सय ५० जना विरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रुपमा ४७ जनाले मात्रै सेवा पाईरहेका छन्। डायलासिसका लागि नाम दर्ता गराएका ३० जना भन्दा बढिले पालो नपाउँदै ज्यान गुमाएका थिए।

अहिले झण्डै एक सय ७० जना विरामी भने सुदूरपश्चिम बाहिर गएर डायलासिस गराईरहेका छन्। सेती अस्पतालमा डायलासिस सेवा सञ्चालनमा रहेपनि विशेषज्ञ डाक्टर नहुँदा धेरै विरामी सेतीमै डायलासिस गराउन डराउने गरेका छन्। 

सुदूरपश्चिममा सहरीकरण र जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले दीर्घकालीन रूपमा मृगौला फेल हुने समस्या बढ्दो छ। समयमै सतर्कता अपनाए डायलासिस वा मृगौला प्रत्यारोपण सम्मको स्थितिबाट बिरामीलाई जोगाउन सकिन्छ।

तर मृगौलाको स्थिति जान्नका लागि विशेषज्ञ डाक्टर नै नहुँदा समस्या भने भईरहेको छ। डायलासिस गराउन अगाडीका सबै उपचारहरु सुदूरपश्चिमभरी कुनै पनि अस्पतालमा सम्भव नभएकाले पनि विरामीहरु डायलासिसका लागि परनिर्भर हुनुपर्ने अवस्था आएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस