सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा बाह्र राशी मकर मेलामा पाँच लाख तीर्थालु आउने अनुमान

मकर संक्रान्तिको दिन निःशुल्क बसको व्यवस्था

२०८१ पुष २९, ०६:५२ नारायण अवस्थी

धनगढीः कैलालीको पवित्र धार्मिक स्थल गोदावरी धाममा लाग्ने बाह्र राशी मकर मेलामा यो वर्ष पाँच लाख तीर्थालु आउने अनुमान गरिएको छ।

माघ १ गतेदेखि १२ गतेसम्म लाग्ने मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन मकर स्नान गर्न आउने गर्छन्। मकर मेलामा स्नान गर्न जाने भक्तजनको सुविधाका लागि गोदावरी नगरपालिकाले निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ। यो वर्ष मेलाको उद्घाटन सोमबार दिउँसो १ बजे विधिवत रुपमा शास्त्रीय पूजा गरी सुरू भएको छ।

यो वर्ष मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट करिब पाँच लाख श्रद्धालु गोदावरी धाममा स्नान तथा पूजापाठ गर्न पुग्ने गोदावरी विकास धाम व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए। उनले हरेक वर्ष १२ दिनसम्म लाग्ने मकर स्नान मेलामा पाँच लाख भक्तजन पुग्ने भएकाले यो वर्ष पनि सोही संख्यामा भक्तजन आउने बताए। ‘हरेक वर्ष पाँच लाख भक्तजन मेलामा आउने गरेका छन्। १२ दिनसम्म चल्ने मेलामा यो वर्ष पनि पाँच लाख भक्तजन आउने अनुमान गरेका छौँ’, जोशीले भने।
निःशुल्क बस सेवा प्रदान गर्ने
सोमबार नै २०८४ मा गोदावरी धाममा लाग्ने महाकुम्भ मेलाको लागि समेत क्षमा पूजा गरिएको छ। गोदवरी नगरपालिका र नेपाली सेनाले गोदावरी धाममा सरसफाइ, बाटो तथा स्नान कुण्ड निर्माण गरेका छन्। गोदावरी नगरपालिकाले यो वर्ष मकर संक्रान्तिको दिन स्नान गर्न जाने सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

अत्तरिया चोकबाट दुई बसले निःशुल्क यातायात सेवा दिने छन् भने लालपुर, गेटा र मालाखेतीबाट थप एक/एक बसले निःशुल्क यातायात सेवा दिने व्यवस्था मिलाइएको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताए। उनले मेलास्थलमा समेत नेपाली सेनाको सहयोगमा आवश्यक प्रबन्ध मिलाइएको बताए।

‘सधै झै यो वर्ष पनि मकर संक्रान्तिको दिन गोदावरी धाममा स्नान गर्न जाने भक्तजनको लागि निःशुल्क बस सेवा प्रदान गरिने छ’, उनले भने, ‘लालपुर, गेटा र मालाखेतीबाट एक÷एक बसले निःशुल्क यातायात सेवा प्रदान गर्ने छन्। यात्रुलाई उत्रिन र बस्न सहयोग पुगाउन बसमा नगर प्रहरी समेत खटाउने छौँ।’
निःशुल्क स्वास्थ्य शिविर पनि राखिने
गोदावरी नगरपालिकाले गोदावरी धाममा बाह्र राशी मकर मेलाको अवधिसम्म निःशुल्क स्वास्थ्य शिविर राख्ने भएको छ। धाममा स्नान गर्न आउने सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य शिविर राखिन लागेको हो। भक्तजनलाई  स्नान गर्न सहज होस् भनेर चार स्थानमा स्नान कुण्ड निर्माण गरिएको नगरप्रमुख भट्टले बताए। ‘मेलामा आउने भक्तजनको लागि गोदावरी धाममा स्वास्थ्य शिविर राखिने छ भने आवतजावत गर्न सहज होस् भनेर नेपाली सेनाको सहयोगमा धाम क्षेत्र सम्याउने, बाटो व्यवस्थित बनाउने र कुण्ड निर्माणको काम गरिएको छ’, उनले भने।

‘माघ १ गते सबैभन्दा बढी भक्तजन आउने भएकाले निःशुल्क बस सेवा चलाइएको हो। यात्रुलाई पाँच बसबाट आउने/जाने बन्दोबस्त मिलाइएको छ। चुरे फेदमा अवस्थित गोदावरी धामको धार्मिक तथा पौराणिक महत्त्व रहेको छ। त्रेता युगमा भगवान् श्रीरामचन्द्र सीता र लक्ष्मण गोदावरी धाममा ओइगेको, द्वापर युगमा भगवान् श्रीकृष्ण पुगेको, पाँच पाण्डवले यज्ञ गरेको प्रसङ्ग स्कन्ध पुराणको मानसखण्डमा उल्लेख छ। यस्तै शिवमहापुराणमा पनि गोदावरी धामको वर्णन रहेको गोदावरी विकास धाम व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस