कैलालीमा जनप्रतिनिधिकै सिफारिसमा अधुरा योजनामा पूर्ण भुक्तानी
कैलालीको गौरीगंगा नगरपालिकामा सामुदायिक वनको लगानीमा ग्रावेल गरेको सडक देखाएर वडा नम्बर ८ को कार्यालयको सिफारिसमा नगरपालिकाले भुक्तानी तथ्य सार्वजनिक भएको छ। वडा कार्यालयले सुनपाल सामुदायिक वनको ग्रावेललाई उपभोक्ता समिति मार्फत गरिएको भन्दै गरेको सिफारिसकै आधारमा नगरपालिकाले पूर्ण रकम भुक्तानी दिएको छ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा सामुदायिक वनले चार लाख ४३ हजार खर्च गर्दै गरेको थियो तर वडाको सिफारिसका आधारमा नगरपालिकाले पाँच लाख भुक्तानी दिएको छ। उक्त भुक्तानी वडा अध्यक्ष तुलाराम साप्कोटाकै निर्देशनमा गरिएको आरोप लागेको छ।
गौरीगंगा नगरपालिकाका उप–सचिव हरिश पन्तले पनि निर्वाचित जनप्रतिनिधिको दवावका कारण कर्मचारीहरुले बाध्य भएर अधुरा योजनाको पूर्ण भुक्तानी दिने कुरा साँचो भएको प्रतिक्रिया दिएका छन्। गौरीगंगा नगरपालिकाकै वडा नम्बर ५ अण्डैयामा शिशु सुधार आधारभुत विद्यालय पश्चिम, लिक्मा नदीमा तटबन्धनका लागि भन्दै पूर्व मन्त्री समेत रहेका प्रतिनिधिसभाका सांसद लेखराज भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको साढे ६२ लाख विनियोजन भएको थियो।
तर आर्थिक वर्ष २०७४÷०७५ को तटबन्धनलाई देखाएर सो योजनामा पनि भुक्तानी दिईएको दावी गरिएको छ। जसमा वडा अध्यक्ष जंगबहादुर विक र नेकपाकै सांसद भट्टको संरक्षणमा उपभोक्ता समितिमा राखिएका व्यक्तिले त्यो योजनामा अनियमितता गरेको आरोप लागेको छ। तर गौरीगंगा नगरपालिकाको अनुगमन समिति संयोजक तथा उप–मेयर अञ्चला चौधरीले वडा अध्यक्ष र प्राविधिकको सिफारिसका आधारमा भुक्तानी दिदै आएको बताईन्।
उनले सिफारिसको क्रस चेक भने नगर्ने गरेको स्वीकार गरिन्। पूर्व मन्त्री तथा प्रतिनिधिसभा सांसद गौरीशंकर चौधरीको स्थानीय विकास साझेदारी कार्यक्रम अन्तरगत जिल्लाको घोडाघोडी नगरपालिकाको वडा नम्बर ५ को डोकेबजार देखि सितलपुरसम्मको सडक ग्रावेलका लागि ३८ लाख रकम विनियोजन भएको थियो। उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको देखाईएपनि २३ लाखमा प्रेम चौधरीले ठेक्का लिएर ग्रावेल गरेका छन्।
तर पूर्ण बजेट भुक्तानी गरिएको आरोप लागेको छ। प्रमुख प्रतिपिक्षी दल नेपाली कांग्रेसका नेता लक्ष्मण शाहीले पूर्वाधारका योजनामा जनप्रतिनिधिकै संरक्षणमा आर्थिक अनियमितता र मनोमानी भईरहेको आरोप लगाए। नगरपालिकाका दर्जनौ कार्यक्रममा आर्थिक हिनामिना भएको आरोप लागेको छ। निर्वाचित जनप्रतिनिधिको प्रत्यक्ष सहभागितामा गौरग्ंिगा नगरपालिका वडा नम्बर २ मा लाखौँ बजेट अनियमितता गरिएको आरोप लागेको हो।